नेपाली सेनाको सैन्य तालिम सम्पन्न

तुलसीपुर,२६ भदौ । नेपाली सेनाका ४१ स्थानहरुमा सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको छ । सैन्य तालिम २०७९ मंसिर १ गतेदेखि सुरु भइ भदौ २५ गते सम्पन्न भएको थिये । तालिम समापनका अवसरमा सैन्य जवानहरुले बेग्लाबेग्लै तालिम केन्द्रहरुमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । देशभर ३,२८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३,९१६ जना सैन्यहरू दीक्षित भएका छन् ।

श्री नं।१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी श्री सरोज प्रताप राणा र श्री नं।२ सैन्य तालिम केन्द्र, सैनामैनामा श्री सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरुमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीहरुलाई पुरस्कृत गर्नु भएको थियो । तालिमरत शिक्षार्थीहरूको परिवारजनहरूको उपस्थितिमा तालिमको समापन कार्यक्रमहरु सञ्चालन भएको थियो ।

श्री नं।१ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी श्री सरोज प्रताप राणाले नेपाली सेना जस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त हुनुभएको सुखद घडीमा तालिमे सिपाहीहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, ईमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिनुभयो ।

यस अघि भाद्र २४ गते प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैन्यहरुलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया