२०८३ कार्तिक १० गते सोमवार

जाँच बिना पशुपंक्षीको मासु खाँदा मानव स्वास्थ्य जोखिममा

घाेराही,७ असार  । जाँच बिना पशुपक्षीको मासु खाँदा मानव स्वास्थ्य जोखिममा परेको एक कार्यक्रमका सहभागीले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले घोराहीमा आयोजना गरेको एक स्वास्थ्य अवधारणा कार्यान्वयन गोष्ठीका सहभागीले वध गर्नु अघि पशुपक्षी जाँच गर्ने कुरामा स्थानीय सरकारले ध्यान नदिएको गुनासो गरेका थिए । मासु जाँच ऐन २०५५ अनुसार कुनै पनि पशुपक्षी वध गर्नु अघि अनिवार्य रुपमा जाँच गर्नुपर्ने कानुनी व्यवस्था छ । अनिवार्य जाँच नहुँदा मरेका, बिरामी भएका, सङ्क्रामक रोगले ग्रसित भएका पशुपक्षीको मासु  मिसावट हुँदा उपभोक्ताहरूको स्वास्थ्य जोखिममा परेको उनीहरूको भनाइ थियो ।

वधशालामा ल्याइएका राँगा, भैँसी, खसी, बोका, बंगुर लगायतका पशुको वध गर्नु अघि  पशु निरीक्षकले पशुको  शारीरिक अवस्था,  उभिने र हिडाईको चाल, पशुको शारीरिक प्रकृति र प्रतिक्रिया, छाला तथा रौंहरूको अवस्था जाँच गर्नुपर्ने कानुनी व्यवस्था छ । तर जाँच बिनानै दाङका ठूला शहरहरूबाट सयौँ  पशुपन्छी दैनिक वध गर्ने गरिएको छ ।  सो अवसरमा दुग्ध उत्पादक व्यवसायी संघ दाङका अध्यक्ष ईश्वरी प्रसाद घिमिरेले स्थानीय सरकार चलाएर बसेकाहरूले उपभोक्ताको हितमा काम गर्न नसकेको बताउँदै दूधको गुणस्तर, ढुवानी गर्ने भाँडादेखि पशुपंक्षि र वधशाालको नियमित अनुगमन र निरीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा पशु सेवा कार्यालय तुलसीपुरका प्रमुख डा. मनोज वलीले पशुबाट मानवमा सर्ने रोग, यसका लक्षण, नियन्त्रण, यसबाट बच्ने उपायका विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो । त्यसैगरी स्वास्थ्य कार्यालय दाङका प्रतिनिधि गजेन्द्र यादवले हापब्वाइल बनाएर खाँदाको जोखिम, मुसो र बिरालोबाट सर्ने रोग, एन्टिबायोटिक, खाद्यान्न, पानीको शुद्धताका विषयमा जानकारी गराउनु भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदामा भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण  प्रशासन प्रमुख शेरबहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।