दाङ, १६ असोज । भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका दाङको राप्ती गाउँपालिका–६ बगरापुरका २४ वर्षीय अनिल चौधरीको परिवारलाई राहत रकम आउने क्रम जारी रहेको छ । अनिलको परिवारको आर्थिक अवस्था कमजोर रहेको समाचार सार्वजनिक भएपछि देश तथा विदेशबाट राहत रकम आउन थालेको छ । यसै क्रममा वाणगंगा नगरपालिका– ९ कपिलवस्तु रामदतिवन धामका गुरू कृष्णशरण दास महराजले पिडित परिवारलाई ११ हजार १ सय रूपैयाँ सहयोग गरेका छन् । उनी पिडितकै निवासमा पुगि सो रकम सहयोग गरेका हुन् । उक्त रकम शुक्रबार राप्ती गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कुमार चौधरीको रोहवरमा मोबाइल बैंकिङ मार्फत सहयोग गरेका हुन् ।
आर्थिक संकटसँगै छोराको खोजीमा रहेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको महराजले बताएका छन् । भोटेकोशी बाढीमा परेर अनिल बेपत्ता भएको आज ३८ दिन पूरा भएको छ । पिडितका गोत्यार तथा आफन्तहरूको सल्लाह बमोजिम शनिबार ३९ औं दिनमा कुशको शव बनाएर राप्ती नदीमा अन्तेष्टी गरिन लागेको परिवारले बताएको छ । पिडित परिवारको आर्थिक अवस्था निकै कमजोर छ । परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको विषयमा देउखुरी टुडे लगायतका सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समाचार तथा भिडियो सार्वजनिक भएपछि सहयोग आउने क्रम बढेको हो । बेपत्ता अनिलका दाइ रविन चौधरीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई थोरै धेरै सहयोग गरिदिन आग्रह गरेका छन् । पिडितको परिवारलाई सहयोग गर्न चाहानेले अनिलका दाइ रविन चौधरीको नेपाल बैंक सिसहनियाँ शाखाको खाता नम्बर २९३०१००८१६८९३४०००००१ मा सहयोग रकम पठाउन सकिने छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।