काठमाण्डौ, २७ भदौ । युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका–चीन तनावका बीच १८ औं ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरु हुँदैछ । भारत, चीन, रुस, ब्राजील, दक्षिण अफ्रिका , ईरान, यूएई लगायत ११ वटा देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नुभएको छ । चीनका राष्ट्रपति सि जिनपिङ पनि दिल्ली पुग्नुहुनेछ । विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ ।
आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने अवस्था छ । सम्मेलनमा छलफल हुने सबैजसो मुद्दमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ । विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत–चीन, इरान–साउदी अरेबिया तथा इजिप्ट–इथियोपियाजस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रसमेत छन् । त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ ।
भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरसमेत हो । सन् २०२० को सीमा तनावपछि चिसिएको सम्बन्धमा पछिल्लो समय सुधार देखिएको छ । ७ वर्षपछि राष्ट्रपति सीको नयाँदिल्ली भ्रमणले त्यसलाई थप बल दिन सक्ने अपेक्षा छ । यसैबीच अमेरिकी डलरमा निर्भरता घटाउने विषय पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डा बन्नेछ । सदस्य राष्ट्रले आफ्नै मुद्रामा व्यापार बढाउने तथा वैकल्पिक भुक्तानी प्रणाली विकास गर्नेबारे छलफल गर्दै आएका छन् । तर विश्व व्यापार र वित्तमा डलरको गहिरो प्रभाव तथा सदस्य राष्ट्रका फरक मुद्रा र वित्तीय प्रणालीका कारण त्यसलाई तत्काल विस्थापित गर्न कठिन छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।