२०८३ असार २ गते मङ्गलवार

दाङमा ‘इहिरि’ र ‘द रिचुअल’ प्रदर्शन हुँदै

तुलसीपुर, २ असार । दाङमा पहिलोपटक माइक्रो सिनेमामार्फत नेपाली चलचित्र ‘इहिरि’ र ‘द रिचुअल’ प्रदर्शन गरिने भएको छ । चलचित्र पत्रकार संघ दाङको आयोजनामा तुलसीपुरमा गरिएको पत्रकार सम्मेलनमा ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेको ‘इहिरि’ र ‘द रिचुअल’ असार ५ गतेदेखि १३ गतेसम्म घोराही स्थित डोको होटलमा प्रदर्शन गरिने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा निर्माता तथा कलाकार विशाल रोका मगरले ‘इहिरि’ को छायाङ्कन रोल्पामा र ‘द रिचुअल’ को छायाङ्कन दाङमा गरिएको जानकारी दिँदै दुवै चलचित्रले स्थानीय परिवेश, मौलिक कथा र संस्कृति उजागर गर्ने बताउनुभयो ।

उहाँले नेपाली चलचित्र निर्माणमा रुचि राख्ने नयाँ पुस्तालाई आवश्यक सहयोग गर्न ब्ल्याक सुल्पा प्रोडक्सन सधैं तयार रहेको पनि उल्लेख गर्नुभयो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, कलाकारहरु उज्वल अधिकारी, निशा घर्तीमगर लगायतले बोल्नु भएको थियो ।

संघका प्रमुख सल्लाहकार शरद रेग्मीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संघका सदस्य रुपा थापाले गर्नुभएको थियो । आयोजकका अनुसार दाङमा पहिलोपटक सञ्चालन हुन लागेको माइक्रो सिनेमाले स्वतन्त्र नेपाली चलचित्रलाई नयाँ दर्शकमाझ पु¥याउने र वैकल्पिक चलचित्र संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया