दाङ ९ जेठ । आदिबासी थारु समुदायको मौलिक पहिचान बोकेको परम्परागत खाना परिकारलाई संरक्षण, प्रवर्द्धन तथा व्यावसायिककरण गर्ने उद्देश्यसहित आयोजना गरिएको विशेष सम्मेलन तथा प्रदर्शनी कार्यक्रम तुलसीपुरमा रहेको सत्कार होटलमा सम्पन्न भएको छ ।
समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा थारु समुदायका मौलिक परिकार, तिनको सांस्कृतिक महत्व र व्यवसायिक सम्भावनाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाकी उपाध्यक्ष कमला गौतमले थारु समुदायका परम्परागत परिकार स्वाद, पोषण र संस्कृतिको दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता खानालाई व्यवहारिक रूपमा बजारसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले स्थानीय उत्पादनमा आधारित थारु परिकारले पर्यटन प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा स्थानीय अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
कार्यक्रममा थारु भाषा तथा संस्कृतिका अभियान्ता रोहित चौधरी, संस्थाकी सदस्य यसोदा न्यौपाने लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले थारु समुदायको मौलिक पहिचान जोगाउन परम्परागत खानाको संरक्षण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले गर्नुभएको थियो ।कार्यक्रममा विभिन्न थारु परिकारको प्रदर्शनीसँगै तिनको व्यवसायिक सम्भावनाबारे समेत चर्चा गरिएको थियो ।





