२०८३ बैशाख २२ गते मङ्गलवार

नारायणपुरमा खानेपानी सुधारको खोजी: दिगो आपूर्ति र बजेट विस्तारमा जोड

दाङ, २२ वैशाख । दाङको नारायणपुर क्षेत्रमा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाबीच महत्वपूर्ण छलफल  भएको छ। स्थानीय तह, उपभोक्ता समिति, महासङ्घ र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा भएको उक्त छलफलले बढ्दो मागअनुसार सेवा विस्तारको आवश्यकता औंल्याएको छ।

छलफलमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, खानेपानी महासङ्घका केन्द्रीय अध्यक्ष खेमराज ओली,नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुल प्रसाद रजौरे -श्रवण) र नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत सहितको सहभागी रहेको थियो।

छलफलमा  उपभोक्तालाई सफा, स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने विषयलाई प्रमुख प्राथमिकतामा राख्दै हालको आपूर्ति प्रणालीलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउने उपायहरूबारे गहन विचार विमर्श गरिएको थियो।विशेषगरी, तीव्र रूपमा बढिरहेको उपभोक्ता मागलाई सम्बोधन गर्न पूर्वाधार विस्तार, स्रोत व्यवस्थापन र प्रविधिको प्रयोगमा जोड दिइएको छ।

नगर प्रमुख नरुलाल चौधरीले खानेपानी सेवा सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय, स्रोत परिचालन र संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। त्यसैगरी, महासङ्घका केन्द्रीय अध्यक्ष खेमराज ओलीले दीर्घकालीन समाधानका लागि योजनाबद्ध लगानी, प्रविधिमैत्री प्रणाली र प्रभावकारी व्यवस्थापनको खाँचो औंल्याउनु भयको थियो।
समितिका अध्यक्ष कुल प्रसाद रजौरे -श्रवण) ले हाल सबै उपभोक्तासम्म पर्याप्त पानी पुर्‍याउन चुनौती रहेको र  समस्या समाधानका लागि लिफ्टिङ प्रणाली विस्तार अपरिहार्य रहेको बताउनु भयो।

उहाले यसका लागि पर्याप्त बजेट विनियोजन र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नु भयको थियो। छलफलले नारायणपुर क्षेत्रमा खानेपानी व्यवस्थापन सुधारका लागि स्पष्ट योजना, पर्याप्त बजेट र बहुपक्षीय सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया