सल्यान ८ जेठ। सल्यानको त्रिवेणी गाउँपालिकाले प्रारम्भिक बालविकास शिक्षालाई थप प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले १३ वटा ईसीडी किट बक्स वितरण गर्दै बालबालिकाको सिकाइ वातावरणलाई अझ सशक्त बनाउने प्रयास गरेको हो। उँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वरिष्ठ शिक्षा अधिकृत गणेश प्रसाद आचार्य, शिक्षा अधिकृत टोप बहादुर नेपाली तथा समाज जागरण केन्द्र (स्याक) नेपाल का शिक्षा अधिकृत सर्वराज बिक. लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।
गाउँपालिकाका अनुसार गत वर्ष पनि स्याक नेपालको समन्वय तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा १६ वटा ईसीडी किट बक्स वितरण गरिएको थियो। यस वर्षको वितरणपछि गाउँपालिकाभित्र सञ्चालित सबै २८ वटा प्रारम्भिक बालविकास केन्द्रमा प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड प्रतिवेदन कार्ड सहित आवश्यक शैक्षिक सामग्रीको पहुँच पुगेको गाउपालिकाले जनाएको छ।
त्यसैगरी, ६ वटा सिकाइ कर्नर व्यवस्थापन गरी प्रारम्भिक बालविकास शिक्षा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको गाउँपालिकाले जानकारी दिएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरूले बालबालिकाको प्रारम्भिक सिकाइ चरणलाई गुणस्तरीय बनाउने उद्देश्यसहित सञ्चालन गरिएको शैक्षिक तथा खेलकुद सामग्री मार्फत सिकाइ, सिर्जनशीलता विकास तथा बालमैत्री शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।