२०८३ जेष्ठ ६ गते बुधवार

तुलसीपुर उपमहानगरपालिकामा आगामी कार्यक्रम र बजेट निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

तुलसीपुर, ५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आज(मंगलवार)आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि योजना तर्जुमा सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले योजना तर्जुमाको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।

यस्तै अर्का प्रशिक्षक विश्वमणि खनालले योजना तर्जुमाका सात चरणबारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले पुस मसान्तभित्र बजेटको पूर्वतयारी गर्ने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गर्ने, वैशाख मसान्तसम्म बस्तीस्तरबाट योजना तथा कार्यक्रम छनोट गर्ने र जेठ १५ गतेभित्र ती योजनालाई प्राथमिकताका आधारमा नगरमा पठाउने प्रक्रियाबारे जानकारी दिनुभयो ।

उहाँले बस्तीस्तरबाट आएका योजनामाथि नगर कार्यपालिकामा बृहत् छलफल गरी असार १० गतेभित्र वार्षिक नगरसभामा पेश गरेर स्वीकृत गर्ने प्रक्रिया बारेमा प्रशिक्षण दिनुभएको छ । साथै योजना तथा बजेट निर्माण गर्दा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा लक्षित वर्गका आवश्यकतालाई विशेष प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा नगरप्रमुख खड्काले छिट्टै प्रत्येक वडामा बजेट सिलिङ पठाउने जानकारी दिँदै सोही आधारमा बस्ती स्तरमा छलफल गरी वडाले प्राथमिकीकरण गरेर योजना पठाउन निर्देशन दिनुभयो । उहाँले आवश्यकता पहिचान र प्राथमिकताका आधारमा मात्रै योजना छनोट गर्न आग्रह गर्नुभयो ।प्रमुख प्रशासकीय अधिकृत केशवराज पाँड्ढे को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, वडा नम्बर १५ का अध्यक्ष लक्ष्मण चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया