२०८३ बैशाख १८ गते शुक्रवार

बागचौर नगरपालिकाबाट भूमि सेवा, नागरिकलाई सहजहुने

सल्यान १८, बैशाख । बागचौर नगरपालिकाले अब भूमि प्रशासनका सेवा आफ्नै परिसरबाट उपलब्ध गराउने दिशामा ठोस कदम अघि बढाएको छ। स्थानीय सरकारको पहुँचलाई नागरिकको दैलोसम्म पुर्‍याउने लक्ष्यसहित नगरपालिकाले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन पूरा गरिसकेको जनाएको छ।नगर प्रमुख जनक गौतमका अनुसार अब जग्गासम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्यहुने बताउनु भयो। “घण्टौं समय खर्चेर सेवा लिन जानुपर्ने अवस्था छिट्टै हट्नेछ,” उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकार जनताको सेवक भएकाले जुनसुकै परिस्थितिमा पनि नागरिकको सुविधालाई केन्द्रमा राखेर काम गरिने बताउनुभयो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारको निर्देशनपछि नगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याएपछि बागचौरले त्यसलाई कार्यान्वयनमा लैजान सक्रियता देखाएको छ।यससँगै, आवश्यक समन्वयका लागि सम्बन्धित निकायहरूसँग औपचारिक पहलसमेत सुरु गरिएको छ। नगर प्रमुखको हस्ताक्षरसहित जारी पत्रमा सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने स्पष्ट लक्ष्य उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया