२०८३ बैशाख ११ गते शुक्रवार

सल्यानमा जीप दुर्घटना हुँदा पाँचजना घाइते

सल्यान,  १०  कात्तिक ।  सल्यानको छत्रेश्वरी गाउँपालिका–६ शिवगुफास्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा पाँचजना घाइते भएका छन् । नेपालगन्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०६ नम्बरको फोर्स गाडी शनिबार राति करिब ११:५५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुकुम पश्चिम सानिभेरी गाउँपालिका–११ का ४० वर्षीय डिल्लीराम खत्री, त्यही ठाउँका ५२ वर्षीय भीमबहादुर डाँगी, ४८ वर्षीय विरबहादुर खड्का, उनकी श्रीमती ४८ वर्षीया धनसरी खड्का र सल्यान दार्मा गाउँपालिका–२ का २ वर्षीया जनक देवकोटा घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको हात, अनुहार, घाटी र निधारमा सामान्य चोट लागेको छ ।

सबै घाइतेको उपचार शारदा मेट्रो अस्पताल, श्रीनगरमा गरिएको थियो । प्रहरीका अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको र उपचारपछि  डिस्चार्ज गरिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो ।

दुर्घटनाग्रस्त गाडीका चालक रुकुम पश्चिम सानिभेरी गाउँपालिका–८ का २३ वर्षीय दीपक केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र गाडीका कागजातसहित जाँच भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया