२०८२ असोज २५ गते शनिवार

शारदा नगरपालिकामा करार कर्मचारी भर्तीका नाममा १ करोड ३५ लाख भन्दा धेरै अनियमितता

तुलसीपुर, २२ असोज ।  सल्यानको शारदा नगरपालिकामा करार कर्मचारी नियुक्तीका नाममा मात्रै करोडौँ रकम अनियमितता भएको पाइएको छ । महालेखा परिक्षकको आर्थीक बर्ष २०८०/०८१ को बार्षीक प्रतिवेदन अनुसार शारदा नगरपालिकामा करार कर्मचारी नियुक्तीका नाममा १ करोड ३५ लाख २३ हजार १ सय ५९ रुपैयाँ अनियमितता भएको पाइएको हो । स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा नगर प्रहरी, सवारी चालक, सयस, बगैँचे, पलम्बरलगाएतका पद तथा सेवामा बाहेक करारमा कर्मचारी नियुक्त गर्न नपाइने व्यवस्था रहेको छ । तर, शारदा नगरपालिकाले कानुनको धज्जी उडाउदै माथी उल्लेखित पदमा बाहेक ५४ जना कर्मचारीलाई करारमा नियुक्त गरेर बार्षीक रुपमा करोडौँ रुपैयाँ दुरुपयोग गर्दै आएको छ ।

जम्मा १७२ जना करार कर्मचारी नियुक्त गरेको शारदा नगरपालिकाले माथी उल्लेखित पदमा बाहेक १ जना इन्जिनियर, २ जना सहायक कम्प्युटर अप्रेटर, ११ जना कृषी चौथो तहमा, ११ जना पशु प्राविधिक चौथो तहमा, २ जना सामाजिक परिचालक वास, ३ जना सामाजिक परिचालक वडा, १ जना कृषक सहजकर्ता, १० जना अहेव र १३ जना अनमीलगाएतका पदमा कानुन विपरित ५४ जना कर्मचारी करारमा नियुक्त गरेर बार्षीक १ करोड ३५ लाख २३ हजार १ सय ५९ रुपैयाँ अनियमितता गर्दै आएको हो ।

करार कर्मचारीहरुको तलबभत्ताको नाममा मात्रै बार्षीक ३ करोड ४६ लाख १३ हजार रुपैयाँ खर्च हुदै आएकोमा १ करोड ३५ लाख २३ हजार १ सय ५९ रुपैयाँ अनियमितता हुदै आएको महालेखा परिक्षकको कार्यालयले औँल्याएको हो । यता शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले भने करार कर्मचारी बिना नगरपालिका चलाउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आवश्यकताकै आधारमा कर्मचारी नियुक्त गरिएको भन्दै उहाँले यी कर्मचारीबाट पनि नगरपालिकाबाट सेवा प्रवाह गर्न कठिन भइरहेको बताउनुभयो ।।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया