२०८३ असार २८ गते आइतवार

तुलसीपुर–११ मा ‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियान सुरु, अरु वडाले पनि सिक्नुपर्छ : नगरप्रमुख खड्का

तुलसीपुर, २७ असार । तुलसीपुर उपमहानगरपालिका–११ ले ‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियान सुरु गरेको छ।वडामा सञ्चालन भएका विकास निर्माणका योजनाको प्रभावकारिता, गुणस्तर र प्रगतिबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले उक्त अभियानको सुरुवात उरहरी नमुना टोलबाट गरिएको हो। अभियान अन्तर्गत उरहरी–पिपलडाँडा–बेलटाकुरा–मोतिपुर हुँदै सुकौरासम्म जोड्ने सडक सहित वडामा सञ्चालित विभिन्न विकास निर्माणका योजनाको स्थलगत अवलोकन तथा अनुगमन गरिएको थियो।

अभियानमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली, वडा अध्यक्ष मानबहादुर रावत, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानपछि आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख टिकाराम खड्काले वडा नम्बर–११ ले सुरु गरेको अभियान उदाहरणीय र प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विकास निर्माणका योजनाको पारदर्शिता, गुणस्तर र जनसहभागिता बढाउन यस्ता अभियान उपयुक्त हुने उल्लेख गर्दै यो अभ्यासलाई तुलसीपुरका सबै वडामा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले अभियानले विकासप्रति नागरिकको विश्वास बढाउने र सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले वडाको समग्र विकास एकता, सहकार्य र हातेमालोबाट मात्रै सम्भव हुने भन्दै यस्तो अभ्यासले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै वडा अध्यक्ष मानबहादुर रावतले आफूले सबै पक्षसँग सहकार्य र मित्रवत् वातावरणमा काम गर्दै आएको बताउनुभयो। उहाँले सबैको साथ, सहयोग र सुझावकै कारण ‘हाम्रो गाउँ विकास हेर्न जाऔँ’ अभियान सुरु गर्न सफल भएको

उल्लेख गर्दै सामूहिक प्रयासबाट वडामा उल्लेखनीय विकासका काम सम्पन्न भएको बताउनुभयो। कार्यक्रममा साविक सुकुम्बासी समस्या समाधान आयोग दाङका पूर्व अध्यक्ष हुकुम बस्नेत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत,राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर–११ का सभापति किरण बस्नेत, नेपाली कांग्रेसका सचिव बालकृष्ण लामिछाने, नेकपा ९एमाले० का अध्यक्ष होताराम बस्नेत, नेकपाका अध्यक्ष गजाधार चौधरीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। वडा सदस्य यज्ञबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव पदम भण्डारीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया