देउखुरी, १५ पुष । लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशन मंगलबार दिउँसो २ बजे बस्दैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशन पुस १६ गते दिउँसो २ बजेका लागि आह्वान गर्नुभएको छ ।प्रदेश सरकारको पुस ८ गते बसेको बैठकले लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले मंगलबारको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने बताउनुभयो ।
यसअघि प्रदेशसभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइएको प्रदेश निजामती सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनर्विचार गर्न आवश्यक देखिएको भन्दै २०८१ असोज २२ गते प्रदेशसभामा फिर्ता गर्नुभएको थियो ।
फिर्ता भएकामध्ये निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ भदौ २७ गते र प्रदेश निजामती सेवा ऐन–२०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते प्रदेशसभाबाट पारित भएका थिए । दुबै विधेयकप्रति स्वास्थ्य सेवा क्षेत्रका निजामती कर्मचारीहरूले असहमति राख्दै आएका थिए । प्रमाणीकरणका लागि पठाएका प्रदेश सरकारले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका दुबै विधेयक फिर्ता पठाएपछि सरकारले असन्तुष्टि जनाइरहेको छ । दलहरूबीचमा छलफल गरेर प्रदेशसभामा पेश गरी पुनः प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाउने प्रदेशसभाको तयारी छ ।
प्रदेशसभाको पहिलो दिन फिर्ता भएका दुबै विधेयक पेश नगरी पहिलो बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । दोस्रो दिनको बैठकमा फिर्ता भएका दुबै विधेयक पेश गर्ने सम्भावना रहेको जनाइएको छ । सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सरकारले प्रदेश प्रमुखबाट फिर्ता भएका दुबै विधेयक अबको अधिवेशनमा प्राथमिकताका साथ पेश गर्ने र छलफल गरेर पुनः प्रमाणीकरणका लागि पठाउने बताउनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।