२०८३ भाद्र २० गते शनिवार

शिक्षाबाट वञ्चित प्रौढ महिलाहरु पढ्न पाउँदा खुशी

तुलसीपुर, ६ श्रावन । विगतमा हाम्रो नेपाली समाज, जुन समाजले छोरी मान्छे घरको काममा मात्रै सिमित हुनुपर्छ, पढ्नु हुँदैन भन्ने धारण राख्ने गथ्र्यौ । विस्तारै पछिल्लो समय यस्तो संकुचित मानसिकतालाई फराकिलो सोचले जित्दै गयो । त्यस कारण अहिलेको युगमा छोराछोरी बराबर, महिलापुरुष बराबर भन्ने धारणाको विकास भएको छ । जसले गर्दा न छोरी न त छोरा नै, जस्ले पनि समान शिक्षाको अवसर पाइरहेको अवस्था छ । तर विगत केही दशक अगाडि पनि छोरीहरु पढ्न पाउँदैन थिए । विद्यालयसम्म पुग्ने अवसर उनीहरुलाई हुँदैनथियो । हरेक छोरीहरुको इच्छाचाहना घरपरिवार तथा समाजले निर्धारण गर्ने गथ्र्यो । तर अहिलेको वर्तमान अवस्थामा हुर्किरहेका, जन्मेका र अव जन्मने छोरीहरुलाई यस्तो परिस्थितिको सामना गर्न नपरोस् भन्ने जोसुकैको बुवाआमा, अभिभावक, परिवार, समाज, सबैको चाहना बनिसकेको छ । त्यस कारण त चेतना अनौपचारिक प्रौढ विद्यालयमा अध्ययन गर्ने महिलाहरुको पढ्ने चाहना पुरा हँुदै छ । उनीहरुलाई घरपरिवार समाजसँग जुँधेर दैनिक विद्यालयसम्म गएर पढ्ने कुरा सहज भने पक्कै अझै छैन तर पनि समाजसँग सामना गरेर पढिरहेका छन् ।

दाङमा एक मात्रै यस्तो विद्यालय छ, जहाँ १५ देखि ५९ वर्षसम्मका महिलाहरुले अध्ययन गर्दै आएका छन् । विभिन्न कारणले समयमै पढ्ने चाहना हुँदाहुँदै पनि पढाइबाट वञ्चित भएका महिलाहरुले सो विद्यालयमा पढ्ने गरेका छन् । घोराही उपमहानगरपालिका– १८ रझेनामा रहेको चेतना अनौपचारिक प्रौढ विद्यालयमा पढाईबाट बञ्चित भएका महिलाहरुले सामान्य उमेरका बालबालिका जस्तै दैनिक विद्यालय जाने र पढ्ने गर्दै आएका छन् । पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाईबाट बञ्चित भएकोले अहिले पढ्न पाउँदा ती महिलाहरु खुशी भएका छन् ।

घोराही उपमहानगरपालिका–१७ का ३५ वर्षीय कालिका चौधरी कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ । अन्य विद्यार्थी जस्तै कालिका हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ । घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण र सानै उमेरमा विवाह भएकोले पढ्न नपाउनुभएकी कालिकालाई अहिले भने पढाई पुरा गर्दै आउँदा खुशी लाग्ने गर्छ । ‘घरमा छोराछोरीले पनि पढ्छन् । उनीहरुलाई सिकाइदेऊ भन्दा आफ्नो पढ्ने छ भन्छन् अनि अलिकति फुर्सद भयो भने मोबाइल चलाउन थाल्छन्’ कालिकाले भन्नु भयो– ‘आफै विद्यालयमा भर्ना भएपछि त विद्यालयमै गएर शिक्षकले पढाएको पढ्न पाइने भयो भन्ने सोचेर घरमा श्रीमानसँग सल्लाह गरेर विद्यालय भर्ना भएर अध्ययन गर्दै आएको छु ।’ अर्काको भरमा बसेर सिकाइदेला र मैले जाँनुला भन्ने सोचले आफैँ पछाडि परिने उहाँले बताउनु भयो । त्यसैले अरुको आस मान्नु भन्दा आफैँ विद्यालय गएर आफैले मेहनत गरेर पढेपछि जानिने उहाँको अनुभवले बताउँछ ।

यस्तै ५३ वर्षिय देवा खड्का अहिले कक्षा ५ मा पढ्नुहुन्छ । घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना अनौपचारिक प्रौढ विद्यालयमा पढाईलाई निरन्तरता दिनुभएको छ । कक्षा एक देखी नै सोहि विद्यालयमा पढ्दै आउनु भएको देवालाई स्वास्थयले साथ दिएसम्म पढ्ने चाहना छ । ‘छोराछोरीले नाम लेख्न सकिहाल्नुहुन्छ अव पढ्न नगए पनि हुन्छ, दुःख नगर्नुस् आमा भन्छन् तर मेरो मनले मान्दैन’ उहाँले भन्नुभयो– ‘मेरो आँखा, कानले जवसम्म साथ दिन्छन् तवसम्म पढ्ने मन छ ।’ पढ्ने उमेरमा विभिन्न घरायसी समस्याका कारण पढाईबाट बञ्चित भएकोले अहिले पढ्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । घरमा केही हिसाव गर्नु पर्दा केही पनि नजान्ने र सधैँ अर्काको सहारा माग्नु पर्ने बाध्यता थियो । तर अव भने ती सानातिना समस्या आफैँ समाधान गर्न सकिने भएको उहाँले बताउनु भयो ।

घोराही उपमहानपालिका–१५ निवासी २३ वर्षीय नुरजला खत्री, क्षेत्रीले पनि कक्षा पनि १ मा पढ्दै हुनुहुन्छ । घरको कमजोर आर्थिक अवस्थाका कारण सानोमा पढ्न नपाउनुभएकी नुरजला अहिले श्रीमान र घर परिवारको राम्रो साथ पाएका कारण पढाईलाई निरन्तरता दिन थाल्नुभएको छ । नपढेको मान्छेसँग ज्ञान नहुने र विभिन्न समस्या भोग्नु परेको हुँदा पढ्न थालेको उहाँको भनाई छ । ‘नपढेको मान्छेको काम छैन, पढ्नुपर्छ तिमी पढ्न जाउ भनेपछि म पढ्न आएको हुँ’ उहाँले भन्नुभयो– ‘विवाह अगाडि पढ्न नपाए पनि विवाह पछि पढ्न पाउँदा धेरै खुशी लागेको छ ।’ पढाईलाई कसैले छेक्दैन त्यसैले तपाईहरुलाई पनि पढ्न इच्छा छ भने आउनु होला भन्दै उहाँले आफू जस्तै पढाईबाट वञ्चित महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुहुन्छ । अहिले घर परिवारले पढ्नुपर्छ, पढाईलाई उमेरले छेक्दैन भनेर हौसल्ला दिदा खुशी लाग्ने गरेको उहाँको भनाई छ । विद्यालयमा आफु जस्तै अन्य दिदी वहिनीहरुलाई देख्दा अझ धेरै पढ्न मन लाग्ने गरेको उहाँको अनुभव छ ।

चेताना अनौपचारिक प्रौढ विद्यालयले पढ्न नपाएर बञ्चित महिलाहरुका लागि महत्वपूर्ण भुमीका खेल्दै आएको छ । यस विद्यालयमा १५ वर्षदेखी ५९ वर्षसम्मका महिलाहरुले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थी (सुवेदी) बताउनुहुन्छ । अहिले पनि समाजमा पढ्न, लेख्नसँगै आफ्नो नाम लेख्न नजान्ने महिलालाई शिक्षा दिने काम गर्दै आएको उहाँको भनाई छ । १५ वर्षअघि २०६६ साल भदौ १५ गते दाङको घोराहीमा स्थापना भएको चेताना प्रौढ विद्यालयमा यसवर्ष कक्षा १ देखि ८ सम्म ३५ जना बढी महिलाले अध्ययन गर्दै आउनुभएको छ । विद्यालयमा ६ जना शिक्षक पनि सबै महिला नै हुनुहुन्छ । धेरैजसो गृहणी महिलाहरु पढ्ने विद्यालय भएकाले विहान ११ वजेदेखि दिउँसो ३ वजेसम्म कक्षा संचालन हुने गरेको प्रधानाध्यापक सुवेदीले बताउनु भयो । घर भान्साको सबै काम गर्नु पर्ने भएकाले घरको काम र पढाईलाई निरन्तरता दिन सकिने उपयुक्त समय निर्धारण गरेर यो समयमा विद्यालय खुल्ला रहने गर्दछ । खर्च व्यवस्थापन गर्नका लागि विद्यालयको सरसफाई लगायत कार्यालय सहयोगीले गर्ने काम समेत विद्यार्थी र शिक्षकले नै गर्दै आइरहेको उहाँको भनाई छ । यस्तै विद्यालयले भर्ना समय निर्धारण गरेको छैन , पढ्ने चाहना भएकालाई जहिले पनि भर्ना गर्ने गर्छ । ‘विद्यालयको भर्ना पक्रिया छ सोही अनुसार हामीले भर्ना लिन्छौँ’ उहाँले भन्नुभयो । विद्यालयमा स्थानिय भन्दा जिल्ला बाहिरका विद्यार्थीहरुको संख्या धेरै रहेको विद्यालयले जनाएको छ ।

जिल्ला बाहिर रोल्पा, रुकुम प्यूठान लगायतका जिल्लाबाट बसाइसराई गरेर आएका मगर समुदायका विद्यार्थीहरु सबै भन्दा धेरै छन् । ‘विद्यालय स्थापना कालतिर स्थानिय विद्यार्थी नै धेरै रहे पनि पछिल्लो समय स्थानिय विद्यार्थी बढ्नुको साटो घट्दै गएका छन् । कारण परिवार, समाज को डर । प्रौढ उमेरमा विद्यालय जाँदा मर्ने बेला हरियो काँक्रो भन्ने उखान जस्तै उखानबाट आफूहरुलाई प्रहार गर्ने गरेको विद्यार्थीहरुले बताउँछन्’ उहाँले भन्नुभयो– ‘तर पनि पढ्ने, सिक्ने कुरा आफ्नो लागि हो अर्काले भनेको नसुनेर विद्यालय आउने विद्यार्थीहरु आउने र समाज, साथीभाई, छरछिमेकको डर मान्ने विद्यार्थी पढ्न आउन सक्दैनन् । अझ विद्यालयले औपचारिक पोसाक बनाएका कारण पनि धेरै विद्याथीैहरु विद्यालयसम्म पुगेर अध्ययन गर्न आउँदैनन् । पोसाक लगाएर आउँदा मान्छेहरुले सोध्ने गरेकाले कतिपय विद्यार्थीहरु त विद्यालय जान्छु नभनेर कम्प्युटर तथा अन्य सीप सिक्न जाँदैछु भन्ने बहाना बनाएर विद्यालयसम्म आउने गरेका छन् ।’ विद्यालय स्थापना गर्ने र विद्यालयको स्थापना गर्नु पर्छ भन्ने सोचको परिकल्पना गर्ने व्यक्ति स्वयम् आफू भएकाले यस्तो विद्यालय संचालन गर्न चुनौती नै रहेको प्रधानाध्यापक सुवेदीले बताउनु भयो । ‘विद्यालय स्थापना कालमा यस्तो पनि विद्यालय हुन्छ र ? भन्ने नागरिकहरुले प्रश्न गर्थे’ सुवेदीले भन्नुभयो– ‘तर मैले दाङमा विद्यालय स्थापना गर्नु भन्दा पहिले काठमाडौँमा साथीहरुसँग मिलेर यस्तो विद्यालय स्थापना गरि संचालन गरिसकेकाले शिक्षाबाट वञ्चित रहेका किशोरी तथा गृहणी महिलाहरुलाई शिक्षा प्रदान गर्नु पर्छ, यस्तालाई शिक्षाको आवश्यकता छ भन्ने बुझेर केही साथीहरु मिलेर सुरु गरेका हौँ ।’

अहिले यहाँबाट पढेर गएका गृहणी विद्यार्थी महिलाहरु कक्षा १२, स्नातक तहसम्म पनि पढेर रोजगारमा लागेको देख्दा झन उत्साह थपिने गरेको उहाँको अनुभवले बताउँछ । सुरुमा विद्यालय संचालन गर्दा उहाँले बनाएको योजनामाथि प्रश्न खडा भएता पनि विद्यालयबाट स्नातक तहसम्म पढ्न पाएर रोजगार भएका महिलाहरुले नै उहाँलाई अहिले सफलता मिलाएका छन् । विद्यालयलाई पढाउने मात्रै नभएर आयआर्जनमूलक सीप सिकाउन पाए विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सकिने वातावरण निर्माण गर्न पाए हुन्थ्यो भन्ने उद्देश्य रहेको बताउनु भयो । तर त्यसका लागि व्यवस्थापन गर्न स्थानिय सरकार लगायत सरोकारवाला निकायको ध्यान पुगिदिए सहज हुने अपेक्षा विद्यालयले राखेको छ । ‘अहिले पनि स्थानिय, प्रदेश, बेन्द्रिय सरकारको साथ नरहेको भन्ने छैन, साथ सहयोग सबैको छ।’ उहाँले भन्नुभयो–‘तर अझ पढ्दै कमाउदै लैजान पाए सबै विद्याथीहरुलाई आम्दानीको स्रोतसँग जोड्ने चाहना रहेको छ ।’

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।