तुलसीपुर, २१ कात्तिक । दाङको तुलसीपुरमा तरकारीको मुल्यमा एकरुपता नभएको पाइएको छ । तुलसीपुरको तरकारी मण्डी भित्रै पनि पसलै पिछे फरक–फरक मुल्यमा व्यवसायीले तरकारी विक्री गरिरहेको पाइएको हो । प्रत्यक दिन मुल्य निर्धारण गरी नगरपालिकाले वेवसाइडमा सार्वजनिक गर्दै आएको भएपनि व्यवसायीलाई भने त्यसको कुनै मतलब छैन । तुलसीपुर उपमहानगरपालिकाको वेवसाइडमा सधै झै आज मंगलबार पनि विभिन्न तरकारी तथा फलफुलको छुट्टाछुट्टै मुल्य निर्धारण गरी सार्वजनिक गरिएको छ । जसमा टमाटरको अधिकतम मुल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै काउलीको अधिकतम मुल्य प्रतिकिलो ३० रुपैयाँ, बन्दाको ३५, बोडीको २५, सिमिको ३५, काक्रा, मुला र भान्टाको समान २५/२५ रुपैयाँ, गाजरको ७०, भेडे खुर्सानीको ६५, पिरो खुर्सानीको ५०, करेलाको ४५ भिण्डीको ६०, अदुवाको ६५, सेतो आलुको ३७ र रातो आलुको ३२ रुपैयाँ प्रकिलोका दरले मुल्य निर्धारण गरिएको छ । तर, तुलसीपुरको तरकारी बजारमा जादा यो मुल्य लागु भएको देखिन्न । तुलसीपुरको तरकारी मण्डी भित्र रहेको चापागाई तरकारी पसलका सञ्चालक मिनराज चापागाइले आफैले मुल्य निर्धारण गरेर तरकारी किनबेच गर्दै आएको बताउनुभयो । उहाले मंगलबार विक्रि गरेको तरकारीको मुल्यमा भेडे खुर्सानी प्रतिकिलो १ सय रुपैयाँ, बोडी, फुलगोपी र सिमी समान ५०/५० रुपैयाँ, बन्दा गोपी ६०, काक्रा ४०, टमाटर ६०, अदुवा १ सय, प्याज १ सय ५०, गाजर १ सय मुला ४०, सेतो आलु ६०, रातो आलु १ सय रुपैयाँ प्रतिकिलो रहेको पाइएको छ । यस्तै उहाकै पसलसँगै सटेको केसी सप्लायर्समा भने मंगलबार नै बोडी प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरेको पाइएको छ भने भेडे खुर्सानी ९० रुपैयाँ किलो विक्री गरेको पाइएको छ । यस्तै टमाटर ५५, बन्दागोपी २ सय रुपैयाँ लम्बर, फुलगोपी ५०, प्याज १ सय ३० र अदुवा ७० रुपैयाँ र पिरो खुर्सानी ८० रुपैयाँ किलो बिक्री गरेको सञ्चालक अम्बिका केसीले बताउनुभयो । तरपनि उहाले तरकारीमा किलोमा ५ रुपैयाँ भन्दा बढि फाइदा नखाएको दाबी गर्नुभयो ।
व्यवसायीले मंगलबार बजारमा विक्री गर्दै आएको तरकारीको मुल्य र नगरपालिकाले मंगलबारनै निर्धारण गरी सार्वजनिक गरेको मुल्यमा किलोमै १५ देखी ३५ रुपैयाँ सम्म उपभोक्ता ठगिदै आएको देखिएको छ । तरकारी मण्डी भित्रै पनि पसल अनुसार तरकारीको मुल्य फरक रहेको छ । व्यवसायीले किसानबाट तरकारी सस्तोमा राख्ने र उपभोक्तालाई महंगोमा बेच्ने गरेको कृषकको भनाई छ । कृषकले आफुले उत्पादन गरेको तरकारीलाई व्यवसायीले भनेको मुल्यमा बेच्नुपर्ने बाध्यता रहेको तुलसीपुरकै तरकारी मण्डीमा तरकारी बेच्न आउनुभएका तुलसीपुर १ का सुजन बिकले बताउनुभयो । टाढाबाट ल्याएको तरकारी फर्काएर लग्न नमिल्ने भन्दै व्यवसायीले जतिमा भन्यो त्यतीमै विक्री गर्नुपरेको उहाले बताउनुभयो । आफुले ३/४ महिनासम्म दुख गरेर उत्पादन गरेको तरकारी सस्तोमा बेच्नुपरेको भन्दै व्यवसायीहरुले पनि किसानको समस्या बुझ्नुपर्ने बताउनुभएको छ । यता तुलसीपुर तरकारी तथा फलफुल कृषी बजारका अध्यक्ष माधव घिमिरेले सबै पक्ष निक्रिय हुदा यस्तो अवस्था आएको बताउनुभएको छ । सबै सरोकारवाला निकायहरु एकजुट भएर यसको नियमनमा लाग्नुपर्ने उहाले बताउनुभयो । आफुले यस विषयमा नगरपालिकामा गएर पटक–पटक ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको बताउनुभयो ।
यता तुलसीपुर उपमहानगरपालिकाका कृषी शाखा प्रमुख धनराज गौतमले प्रत्यक दिन निर्धारण गरेर तरकारीको नया मुल्य सुचि सार्वजनिक गर्दै आएको भन्दै सोे अनुसार बजारमा किनबेच भएनभएको उपभोक्ताहित संरक्षण शाखाको टोलीले अनुगमन गर्नुपर्ने बताउनुभएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले भने यसबारे आफुलाई जानकारी नभएको बताउनुभएको छ । तरकारीको मुल्य कसले निर्धारण गर्छ कति–कति दिनको फरकमा गर्छ भन्ने बारे आफुलाई कसैले जानकारी नगराएको उहाको भनाई छ । कृषी शाखाले मुल्य निर्धारणबारे उपभोक्ता हित संरक्षण शाखालाई पनि जानकारी गराउन आवश्यक रहेको उहाले बताउनुभएको छ । मुल्य मात्रै निर्धारण गरेर कृषी शाखा पन्छिन नपाउने भन्दै उहाले यसमा सबैको समन्वय हुन आवश्यक रहेकाले कृषी शाखा पनि सँगै अनुगमनमा जानुपर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले तरकारीको मुल्य निर्धारण गरेपनि कार्यान्वयनमा भने खासै चासो नदेखाएको आम नागरिकको भनाई छ । यसरी नियमनकारी निकायबिचमै समन्वय नहुदा तरकारी उत्पादन गर्ने कृषकले उचित मुल्य नपाउने र उपभोक्ताले बजारमा महंगो मुल्यमा तरकारी किनेर खानुपर्ने बाध्यता रहेको छ । यसले गर्दा लामो समय सम्म दुख गरेर उत्पादन गर्ने कृषकले मुल्य नपाएर समस्यामा पर्दा बजारका व्यवसायीले भने छोटो समयमै नाफा कमाउने अवस्था बनेको छ । सम्बन्धित निकायले समयमै यसतर्फ गम्भिर भएर सोच्न आवश्यक छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।