२०८३ मङ्सिर १० गते बिहिवार

तयार नेपालले तुलसीपुरलाई दिएका वाकीट्वाकी प्रयोगमा नआउँदै बिग्रिए

जापानिज रेडियो भनेर चाइनिज रेडियो भिराइदिएको जस्तो छ


तुलसीपुर, २ साउन । तुलसीपुर उपमहानगरपालिकालाई यूएसए आइडी तयार नेपालले दिएका  वाकीट्वाकी सेट प्रयोगमा नआउँदै बिग्राएका छन् । बाढी, पहिरो, हावाहुरी, भुकम्प जस्ता विपद्को समयमा सञ्चार विच्छेद हुँदा वा नेटवर्कले काम नगर्दा १९ वटै वडालाई एकैपटक जोड्ने उद्देश्यले तयार नेपालले वाकीट्वाकी उपलब्ध गराएको थियो ।
२०८० असार ८ गते एक कार्यक्रमका बिच १९ वटै वडालाई प्रतिगोटा एक वटाका दरले वितरण गरिएको थियो । तर अहिलेसम्म एकपटक पनि सेट माफर्त दोहोरो कुरा नभएको तुलसीपुर उपमहानगरपालिका –१३ का वडा अध्यक्ष मोहन पौडेलले बताउनुभयो ।
वाकीट्वाकी लग्दा १९ वटै वडाका वडाध्यक्ष, मेयर उपमेयरसंग सहज रुपमा कुरा हुने भयो भन्दै खुशी भएपनि प्रयोगमा नआउँदा जापानिज रेडियो भनेर चाइनिज रेडियो भिराइदिएको जस्तो अनुभूति भएको अध्यक्ष पौडेलले गुनासो पोख्नु भयो । सेट मार्फत कुरा पनि नहुने र चार्ज पनि २ मिनेट नटिक्ने भएकाले फिर्ता दिने तयारीमा भएको वडाध्यक्षहरुले बताएका छन् । बिग्रिएका कारण सेट प्रयोगमा नआएपछि अन्य ५,६,७,९,११ र १८ नम्बरका वडा अध्यक्षहरूले वाकीट्वाकी लग्न मानेका छैनन् ।
तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीका अनुसार  तयार नेपालले २३ वटा वाकीट्वाकीका लागि ९ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । जसलाई भाग लगाउँदा प्रति सेट ४० हजार ५ सय रुपैयाँ पर्न जान्छ । दिनेले राम्रो दिन खोजेपनि खरिद गर्दा बिक्रेताले कमसल खालको दिदा ब्याट्रीमा समस्या आएको हुन सक्ने शाखा प्रमुख डाँगीले बताउनुभयो ।

यता यूएसए आइडी अन्तर्गत तयार नेपालका तुलसीपुर फिल्ड कोर्डिनेटर श्रमलाल चौधरीले प्रत्येक वडामा संचार सेटहरु पुगेको र राम्रोसँग सञ्चालनमा आइरहेको दाबी गर्नुभयो । सञ्चार सेटहरु प्रयोगमा नआएको भन्न नमिल्ने भन्दै चौधरीले बीचमा चार्ज नगर्दा कहिले काँही समस्या देखिन सक्ने बताउनुभयो ।

२३ वटा सञ्चार सेटको आपतकालीन सञ्चार कन्ट्रोल तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन शाखालाई मानिएको छ । वाकीट्वाकीबाट तुलसीपुरको दमकलमा कुरा गर्दा दमकलाई डेल्टा, मेयरलाई एम वान र अन्य वडाहरूका लागि संख्या अनुसार वार्ड वान, वार्ड टु भनेर भाषा प्रयोग गर्ने भनिएको छ । ती सबै सांकेतिक कल साइन भाषाहरू वडा अध्यक्षहरुले आफ्नो टेबुलमा  राखेका छन् । अपेक्षा अनुसार सञ्चार सेटले काम नगरेपछि वाकट्वाकी चलाउने अध्यक्षको रहर रहरमै समिति भएको छ । 

सांकेतिक कल साइन भाषाहरू

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।