२०८३ मङ्सिर १० गते बिहिवार

 आमा सुरक्षा कार्यक्रम निकै प्रभावकारी बन्दै

तुलसीपुर, २४ असार । पछिल्लो समय आमा सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने व्यवस्था सरकारले ल्याएपछि यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सुत्केरी महिलाहरुको लागि सरकारले संचालन गरेको आमा सुरक्षा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । अस्पतालमा यो कार्यक्रम प्रभावकारी देखिएको अस्पतालका सुचना अधिकारी भुषण सुवदीले जानकारी दिनुभयो ।
अस्पतालमा आएर सुत्केरी सेवा लिएमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्च भनेर १ हजार र गर्भवती उत्प्रेरणा भनेर ८ सय रुपैयाँ सरकारले सरकारी अस्पतालमा सुत्केरी हुने हरेक सुत्केरी महिलालाई प्रदान गर्ने गरेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट पनि यसवर्ष यातायात खर्च बापत २१ सय ५७ जनाले पाएका छन् भने गर्भवती उत्प्रेरणा बापतको रकम १८ सय ८३ जनाले पाएका छन् । यस्तै गतवर्ष यातायात खर्च बापत २९ सय २७ जनाले प्राप्त गरेका थिए भने गर्भवती उत्प्रेरणा बापतको रकम २१ सय ३२ जनाले प्राप्त गरेका थिए ।

यसैविच राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २१ सय ८ जना महिलाले सुत्केरी सेवा लिएका छन् भने गत आर्थिक वर्ष २०७९÷०८० मा २८ सय ६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । यस वर्ष सामान्य प्रसुति सेवा मार्फत १६ सय ४८, सल्यक्रियामार्फत ३ सय ९७ र भ्याकुम फोरसेपमार्फत ३४ जनाले सुत्केरी सेवा लिएका छन् । जसमा ९ सय १८ जना छोरी र ११ सय ७२ जना छोरा जन्मेको अस्पतालका सुचना अधिकारी भुषण सुवदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २१ सय २ जना महिलाले एउटा बच्चालाई जन्म दिएका हुन् भने ६ जना महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएका हुन् । जुम्ल्याहामा पनि ३ छोरा ३ छोरी छन् । त्यसैगरी अस्पतालमा पुगेर पहिलो पटक गर्भ जाँच गराउनेको संख्या १२ सय ९५ रहेकोमा २० बर्ष भन्दा माथिका ११ सय ७३ र २० वर्ष भन्दा कम उमेरका महिला १ सय २२ रहेका छन् । यो संख्या घटेर प्रोटोकल अनुसार ८ पटक जाँच गराउने संख्या भने २ सय ७३ मात्रै रहेको छ । पेटमा नै मृत्यु भएका १३ जना बच्चा जन्मिएको र जन्मिएको केही समयमा १ जनाको मृत्यु भएको सुचना अधिकारी भुषालले जानकारी दिनुभएको छ । सुत्केरी महिला तथा घरपरिवारले आमा र बच्चाको स्वास्थ्यमा गरेको लापरवाहीका कारण यस्तो परिणाम देखिएको भुषालले बताउनु भयो । यस्तै गत आर्थिक वर्षमा सामान्य प्रसुति सेवा मार्फत २२ सय ६८, सल्यक्रियामार्फत ४ सय ७४ र भ्याकुम फोरसेपमार्फत ८२ जनालाई अस्पतालले सुत्केरी सेवा दिएको थियो । जसमा १३ सय ३१ जना छोरी र १४ सय ९६ जना छोरा जन्मेका थिए ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।