काठमाडौँ– मानिस जन्मेपछि, विवाह, सन्तान जन्माउने आदि प्रक्रिया नियमित कुरा नै हो । स्वास्थ्य सेवा र प्रविधि विकासका कारणले पछिल्ला दिनमा सन्तान जन्माउने तरिका र विधिमा पनि व्यापक परिवर्तन आएको छ ।
काठमाडौँ जिल्लाका स्वास्थ्य संस्थाहरूमा गतवर्ष भएको प्रसूतिको तथ्याङ्क हेर्ने हो भने यो ज्यादै डरलाग्दो बन्दै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् १९८५ देखि नै सिजेरियन सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माउने दरलाई १० देखि १५ प्रतिशतलाई सामान्य भनेको छ ।
अर्थात् १० देखि १५ प्रतिशत दरलाई ‘आइडल’ मानेर विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी काम गरिरहेको छ ।
नेपालमा पनि देशैभर हुने कुल सुत्ेकरीको ७ प्रतिशतको हाराहारीमा सी सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माउने गरिएको छ । यो तथ्याङ्क ग्रामीण भूभागमा घरमै बच्चा जन्माउने समेतलाई आधार मानिएको हो । स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनेमध्ये पनि करिब २६ प्रतिशतको अप्रेसन हुने गरेको छ ।
तर राजधानी काठमाडौँको तथ्याङ्क हेर्ने हो भने, यो ज्यादै डरलाग्दो बन्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा उपलब्ध तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा कुल ३३ हजार ८ सय ३ जना महिला सुत्केरी भएका छन् ।
३३ हजार ८ सय ३ जना महिला सुत्केरी हुँदा १२ हजार १ सय ५९ जनाको भने अप्रेसन गरी बच्चा जन्माइएको छ । सुत्केरी भएका कुल महिलामध्ये ३६ प्रतिशत महिलाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।
यो तथ्याङ्कलाई अझै गहन विश्लेषण गर्ने हो भने काठमाडौँमा सुत्केरी भएका महिलामध्ये सरकारी स्वास्थ्य संस्थामा गएर अप्रेसन गर्ने महिलाको प्रतिशत ज्यादै कम छ । तर सुविधासम्पन्न भनिएका महँगा अस्पतालमा सुत्केरी हुन जाने अधिकांश महिलाहरूको पेट चिरिएको छ, अर्थात् अप्रेसन गरी बच्चा जन्माइएको छ ।
निजी अस्पतालमा अधिकांशको ‘सी सेक्सन’
काठमाडौँका अस्पतालहरूमा भएको सिजेरियन सेक्सन अर्थात् अप्रेसन गरी बच्चा जन्माइने दरलाई हेर्ने हो भने अधिकांश निजी अस्पतालको सी सेक्सन दर ६० प्रतिशतभन्दा माथि छ । सामुदायिक अस्पताल र आमा सुरक्षा कार्यक्रम लिएका अस्पतालको दर भने ५० प्रतिशतभन्दा तल देखिएको छ ।
रिफरल अस्पताल भए पनि परोपकार प्रसूतिगृह लगायत केही सरकारी अस्पतालको सी सेक्सन दर भने अन्यको तुलनामा कमै देखिएको छ ।
कुन अस्पतालमा कति प्रतिशत अप्रेसन ?
काठमाडौँमा गत आर्थिक वर्षमा सुत्केरी भएका महिलामध्ये राम्रा भनिएका र अत्यधिक महँगा अस्पतालमा नै बढी अप्रेसन गरी बच्चा जन्माइएको छ ।
वयोधामा ९९ प्रतिशत
आर्थिक वर्ष २०७३/७४ मा वयोधा अस्पतालमा सुत्ेकरी हुन जाने ९९ प्रतिशत महिलाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।
वयोधामा सुत्केरी गराइएको ८७ जना महिलामध्ये ८६ जनाको अप्रेसन गरी बच्चा जन्माइएको छ ।
अर्थात् ८७ जनामध्ये १ जनाको मात्रै सामान्य अवस्थामै बच्चा जन्माइएको छ ।
रातोपाटीबाट