यात्रुलाई सास्ती दिने काम नगर

हिजो आज तपाँइ बिहान तुलसीपुरको वसपार्क स्थित पिपलबोट नजिकै पुग्नु भयो भने । मान्छेको भिड देख्नुहुन्छ । थाहा नभएको मान्छेलाई झ्वाट् हेर्दा कुनै सवारी दुर्घटना भयो कि भन्ने हुन्छ । भिडतर्फ मान्छेको छिटो छिटो पाइला पनि जान्छ । त्यहाँ पुग्दा सोचेको भन्दा फरक अवस्था भेटिन्छ । उक्त ठाउँ एकैछिन शान्त एकै छिन अशान्त हुन्छ ।  याे क्रम जेठ ६ गते बिहानबाट निरन्तर जारी छ । कारण यात्रु राख्ने विषयमा विभिन्न यातायात प्रालिका चालक र सहचालकको बिचको झगडा हो । राप्ती त्रिशिद्देश्वरी यातायात प्रालि, तुलसीपुर यातायात प्रालि र अम्बिकेश्वरी यातायात प्रालिका बिचमा भएको जुँगाको लडाइको कारण त्यसको प्रत्यक्ष मार नेपालगञ्ज जाने यात्रुलाई परेको छ ।

बसपार्कमा यात्रु ढुकेर बसेका चालक र सहचालकले नेपालगञ्ज जाने यात्रुलाई तानातान गर्दा उनिहरुले सास्ती खेप्नु परेको हो । एउटै ग्रुपमा गन्तव्यमा हिडेका यात्रुलाई हुरुरुरु छोप्न जाने चालक र सहचालकले तानेर आ–आफ्नो गाडीमा जबरजस्ती राख्दा यात्रुको बिचल्ली हुने गरेको छ । यो क्रम बिहान ५ बजेदेखि निरन्तर दिउँसो १२ बजेसम्म चलिरहन्छ । सवारी चालकको मनलाग्दी कामका कारण झोला एक ठाउँ, यात्रु अर्को ठाउँ र श्रीमती एउटा गाडीमा र श्रीमान अर्को गाडीमा चढ्ने बाध्यता सृजना हुँदै आइरहेको छ । विगतमा नेपालगञ्जसम्मका लागि प्रति यात्रु पाँचसय रुपैयाँमा बोक्दै आएका विभिन्न यातायात व्यवसायीहरु अहिले दुईसय रुपैयाँमा लग्न तयार छन् तर विवाद मिलाउने तर्फ त्यति चिन्ता र चासो देखिदैन् ।

अर्को समस्या के हो भने कम भाडाको प्रलोभन देखाएर यात्रुलाई गाडीमा राख्ने ४/५ जना भन्दा बढि भएनन् भने बिच बाटोमा गएर अर्को गाडीमा पठाईदिने । यसले गर्दा पनि यात्रुको यात्रा कष्टकर हुने गरेको छ । कोच्चिएर जानुपर्ने र सिट नपाउने समस्याले यात्रा तनावपूर्ण हुन्छ । त्यसमा हाम्रा चालक सहचालकको बानी तपाई हामीलाई थाह छदैछ । गुनाासो गर्ने बित्तीकै खप्की खानुपर्छ । यस्तो समस्या कहिले समस्या भोग्नु पर्ने हो । विवाद मिलाएर समस्या समाधानका लागि न यहाँको राजनीतिक दल, न प्रशासन, कसैलाई कुनै बालमत्लव छैन् । सार्वजनिक सरोकार र चासोको विषयमा सरोकारवाला निकाय किन बोल्दैनन् ? किन मौन छन् ? ड्राइभर र खलासीको झगडा हो भनेर हेलचेक्र्याई गर्न पाइन्छ र ?

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया