२०८२ असोज २६ गते आइतवार

तुलसीपुरमा निःशुल्क सार्वजनिक शौचालय आवश्यक छ !

तुलसीपुर बजारमा दैनिक कति मानिस आउँछन् भन्ने यकिन तथ्याङ्क छैन । तर विभिन्न सरकारी, निजी, व्यापारिक र यातायात सेवाका लागि करिब १५–२० हजारसम्म नागरिक दैनिक रूपमा यहाँ आउँछन् भन्ने अनुमान गर्न सकिन्छ । सरकारी कार्यालयमा काम, बैंकीङ कारोबार, अस्पतालमा उपचार, पसलमा किनमेलदेखि लिएर यात्राका लागि यातायात काउन्टरसम्मका कारण यो बजार सधैं भीडभाडमा रहन्छ । यस भीडसँगै एउटा सामान्य तर अति आवश्यक समस्या भने प्रायः सबैले भोगिरहेका छन । निःशुल्क र उपलब्ध सार्वजनिक शौचालयको अभाव ।

दैनिक कामकाजका क्रममा आउने–जाने मान्छेले, यदि स्वस्थ छन् भने पनि दिनमा ६–८ पटक पिसाब गर्नुपर्ने हुन्छ । तर बजार क्षेत्रमा सहज रूपमा भेटिने सार्वजनिक शौचालयको व्यवस्था छैन । कतिपय होटेलमा ताला लगाइएका शौचालय, वा प्रयोग गर्न शुल्क लिने व्यवस्था मात्र छ ।

दश रुपैयाँ शौचालय शुल्क तिर्नु धनीका लागि सामान्य लाग्न सक्छ, तर गोजीमा सुक्का पैसा नभएका वा छोराछोरीसहित आएका अभावग्रस्तका लागि यो ठूलो समस्या हो ।
यस समस्यालाई “सानो कुरा” भनेर नजरअन्दाज गर्नु गलत हुनेछ । किनभने सरकारले नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु उसको कर्तव्य हो । नागरिकका लागि मात्र होइन, यो स्वास्थ्य, सरसफाइ र सार्वजनिक सुविधा दुवैको विषय हो ।

के गर्न सकिन्छ
तुलसीपुरको मुख्य सडक, बसपार्क, नगरपालिका क्षेत्र, सल्यान रोड, घोराही रोड जस्ता मुख्य स्थानमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्न सकिन्छ । यसको व्यवस्थापनका लागि पालिकाले कर्मचारी तोक्ने र सरसफाइ शाखाले नियमित अनुगमन गर्ने । यो अवसरलाई गरिबी र बेरोजगारीसँग लड्दै अभावमा बाँचिरहेका नागरिकलाई रोजगारी दिने । बजेट त फजुल खर्चबाट कटाएर नै व्यवस्थापन गर्न सकिन्छ ।

यो केवल सुविधा मात्र होइन । यो नागरिकको सम्मान, स्वास्थ्य र स्वाभिमानसँग सम्बन्धित विषय हो । जनता नै राज्यको आधार हुन् भने, राज्यले पनि नागरिकलाई हरेक दृष्टिकोणबाट सहज सेवा दिनै पर्छ । यस्तो सानो तर महत्वपूर्ण कदमले हजारौं नागरिकलाई राहत दिनेछ र “जनताको सरकार” भन्ने अनुभूति दिलाउनेछ ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार
प्रतिक्रिया