देशभर खाना पकाउने एलपी ग्यासको अभाव सुरु भएको महिनौँ बितिसक्यो । मध्यपूर्वमा बढेको तनाव (अमेरिका–इरान द्वन्द्व)का कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा देखिएको समस्याको असर नेपालमा पनि देखा प¥यो । गत माघ–फागुनदेखि ग्यासको अभाव विस्तारै देखिन थालेको थियो । आपूर्ति झन् असहज बन्दै गएपछि सरकारले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर वितरण प्रणाली लागू ग¥यो । त्यसले केही समय तत्कालीन संकट व्यवस्थापनमा सहयोग गरेता पनि पुर्ण रुपमा सहज आपुर्ति हुन सकेन ।
केही समयपछि आपूर्ति सामान्य बन्दै गएको र उपभोक्ता तथा व्यवसायीको दबाब बढेपछि नेपाल आयल निगमले पुनःपूरा सिलिन्डर वितरण सुरु ग¥यो । तर त्यसपछि पनि बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन सकेन । बरु धेरै स्थानमा चरम अभाव देखियो । लामो समयसम्म ग्यास आपूर्ति सहज हुन नसक्नु सम्बन्धित निकायको कमजोरी हो । नयाँ सरकार गठन भएको पाँच महिना वित्यो । सरकार परिवर्तन सँगै नागरिकले अत्यावश्यक वस्तुको आपूर्तिमा सुधार हुने अपेक्षा गरेका थिए ।
तर नयाँ सरकार आउनु अघि देखिएको समस्या अझै समाधान हुन सकेको छैन । सरकारले उल्टै अभाव नभएको दाबी गरेता पनि आम उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन । ग्यासका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने, खाली सिलिन्डर बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने र कहिले पालो आउँछ भन्ने अन्योल जस्ता समस्या कायमै छ । यता ग्यास विक्रेताहरू पनि माग अनुसार आपूर्ति नहुँदा उपभोक्तालाई सेवा दिन नसकेको बताउँछन् । पर्याप्त ग्यास नपाउँदा व्यवसायी उपभोक्ताको असन्तुष्टि र दबाब खेप्न बाध्य छन् भने उपभोक्ताले दैनिक जीवनमै सास्ती भोगिरहेका छन् ।
यसले बजारमा अनावश्यक तनाव र सम्बन्धित निकाय प्रति अविश्वासको वातावरण सिर्जना गरेको छ । खाना पकाउने ग्यास नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक उपभोग्य बस्तु हो । राज्यले दैनिक जनजीवनसँग जोडिएको विषयलाई संवेदनशीलका रूपमा लिन आवश्यक छ । साथै सहज आपुर्ति प्रभावकारी वितरण प्रणाली, कृत्रिम अभाव र कालोबजारीमाथि कडा निगरानी तथा आवश्यक परे वैकल्पिक व्यवस्था समेतको खोजी गर्न आबश्यक छ । नागरिकले सरकारसँग आश्वासन भन्दा परिणाम खोजिरहेका छन् । महिनौँदेखि चरम अभाव हुँदा नागरिकले पाएको सास्तीलाई संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गर्दै ग्यास आपूर्ति तत्काल सहज बनाउनु आजको प्रमुख आवश्यकता हो । यस प्रति तिनै तहका सरकार जिम्मेवार र गम्भिर हुनुपर्दछ ।





