मानव सेवा नै धर्म हाे

आजको यो कलियुगमा अर्थात् भौतिक युगमा हामी अत्यन्तै व्यस्त छौं। आजको यो व्यस्त युगमा प्रत्येक मानिसले आफू को हो भन्ने अर्थात् आफ्नो परिचय समेत बिर्सिसके। सनातन धर्म अर्थात् पुरानो धर्म र धारणालाई आजको युगका मानिसले आधुनिक बन्दै आडम्बर, थोत्रो अर्थात् कामै नलाग्ने पुरानो विचारधारा पाखण्डी मनस्थिति भनिरहेका छन्।

प्रायः सबैजसो मानिसको विचार यही नै भइरहेको देखिन्छ। यस्तो परिस्थितिलाई ध्यानमा राखेर एकैछिन विचार गरी हेर्ने हो भने वैदिक युगमा मुख्य पात्र श्रीकृष्णले गीतामा दिएको ज्ञानको अध्ययन गरेर हेर्ने हो भने, आजको समयमा झन् धेरै प्रभावकारी साबित हुन आएको देखिन्छ। गीताको ज्ञानमा कर्म योगलाई नै बढी प्राथमिकता दिएको देखिन्छ।

कर्मण्यवाधिकारस्ते माः फलेषु कदाचन भनी कृष्णले दिएको ज्ञान अनुसार कर्म गर्नु तर फलको आशा नगर्नु भनिएको छ। यसलाई धेरैले ‘कतै यस्तो पनि ज्ञान हुन्छ ? कामचाहिँ गर्नु तर त्यसको फाइदाको आशा भने नगर्नु !’ भनी तर्कवितर्क पनि गरेको देखिन्छ। तर, श्रीकृष्णले प्रस्ट रूपमा के पनि भनेका छन् भने तिमीले आफ्नो कर्तव्य पूरा गर्दै जानू, त्यसबाट तिमीलाई कति फाइदा हुन्छ भन्नेतर्फ सोच्ने नगर्नू, किनभने तिमीले कस्तो कर्म र कर्तव्य निर्वाह गरेका छौ, सोही अनुरूप फल पाउनेछौ। अर्थात् तिमीले राम्रो कर्म गरेका छौ भने राम्रै फल पाउनेछौ।

हो, आजका सम्पूर्ण मानिसहरू कर्ममै व्यस्त भइरहेका छन्। यतिसम्म व्यस्त कि आफैँलाई बिर्सेर, अझ भनुँ आफ्नो अस्तित्वलाई समेत बिर्सेर जायज कर्म होस् वा नाजायज कर्म होस्, जस्तोसुकै कर्म गरेर भए पनि धन सम्पत्ति कमाउने र भौतिक सुख सुविधामा मात्र लागिरहेको देखिन्छ। आजका मानिसमा कर्तव्य र अकर्तव्यको बोध समेत हराइसक्यो। अरूलाई नभएको झुटा कुरा गरेर ठगी गरेर होस्, वा परिआए अरूको हत्या समेत किन नहोस् आफ्नो स्वार्थ पूरा गर्नेतर्फ मात्र उन्मुख भइरहेको देखिन्छ।

विश्वमा विद्यमान धार्मिक समुदायमध्ये सर्वप्रथम हिन्दु धर्मलाई नै केलाएर हेर्ने हो भने सिद्धान्त र व्यवहारमा कति फरक छ ? जातीय रूपमा छुन हुने, छुन नहुने अर्थात् छुवाछुत, उँचनीच, धनी गरिब र जातिपातीको भावनाले व्यवहारमा कति नराम्रो प्रभाव पारिरहेको छ हाम्रो समाजमा। गौदान गरेमा जस्तोसुकै कुकर्म गरे पनि चोखिने र पवित्र हुने ? त्यस्तै, कैयौं मानिसलाई कष्टमा पारेर कमाई गरेर अर्थात् जस्तोसुकै कुकर्म गरे पनि चर्चको पादरीले होलीवाटर पवित्र जल छर्केर प्रार्थना गरी दिनेबित्तिकै प्रभु येशुले क्षमा गर्छन् भन्ने क्रिश्चियनको धारणा छ।

त्यस्तै जस्तोसुकै कुकर्म गरे पनि कमाएको धन सम्पत्तिले पञ्चदान गरेमा शुद्ध हुने बौद्धमार्गीको धारणा छ। के यही हो त धर्मले हामीलाई सिकाइरहेको ज्ञान ? कदापि होइन। बरु हामीले धर्मको नाममा आफ्नो स्वार्थ पूरा गर्न अनेकौं कुकर्महरू गर्दै आइरहेको प्रमाण हो यो।

हामीले कर्म भने कुकर्मको गर्ने अनि फलको आशा भने सुकर्मको गर्ने ? यो कस्तो विडम्बना ! यही विडम्बनालाई आज हामी सबैले बोकिरहेका छौं। आजको यो कलियुगमा हामीले पालना गर्नुपर्ने मुख्यमुख्य कर्तव्यमध्ये सर्वप्रथम यही कर्म नै हो अर्थात् सत्कर्म। जीवनमा सबैभन्दा ठूलो धर्म भनेको नै सत्कर्म हो। कर्मभन्दा ठूलो कुरा यो संसारमा केही पनि छैन। त्यसैले हामी कर्ममा लागिरहनुपर्छ।

आ–आफ्ना कर्ममा लाग्ने क्रममा सत्कर्म गरेर धन आर्जन गर्ने र सत्मार्गमा लागिरहनुपर्दछ। सत्मार्गमा लागेर सबैको भलाइ गर्ने, कसैको पनि नराम्रो नचिताउने, कसैलाई पनि दुःख नदिने, नभएको झुटा कुरा नगर्ने, छलकपट नगर्नेजस्ता आदर्श व्यवहार र कर्ममा समन्वय राखी सकारात्मक कुरा सोच्ने, सकारात्मक धारणा राखेर काम गर्ने, कसैको पनि चित्त नदुखाउनु नै आजको समयमा झन् महत्त्वपूर्ण भएको छ। यसको अभावमा आज विश्वका मानिस दुःखी भइरहेका छन्।

मानसिक तनावमा आजका मानिस बाँचिरहेका छन्। यही ज्ञान नै हाम्रो सनातन ज्ञान हो। यही ज्ञान नै श्रीकृष्णले गीतामा दिएको ज्ञान हो अर्थात् सत्कर्म गर्नु नै मनुष्यको मुख्य कर्तव्य हो। यसलाई उपेक्षा गर्नु हुँदैन। आज विश्वमा ६० प्रतिशत मानिस कुनै न कुनै किसिमले मानसिक तनावमा परेका छन्।अमेरिकामा मात्र एकतिहाई जनसंख्या रोगी भइरहेका छन्, मानसिक तनावमा बाँचिरहेका छन्। विश्वमा यसरी रोगी भइरहेकाहरू स्वस्थ भएमा मात्र सबै सुखी हुनेछन्, अनि सिर्जनशीलतालाई बढाउन सकिनेछ। सिर्जनशीलताको अभावमा मानसिकताको विकास गर्न सकिँदैन। आजको यान्त्रिक जीवनमा मानिसलाई पशुवत शक्तिले नियन्त्रण गरिरहेको छ। त्यसैले आजका मानिस मानसिक रूपले रोगी भइरहेका हुन्।

हामीमा नभई नहुने अर्को महत्त्वपूर्ण कुरा हो, परोपकारको भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ। उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो। भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारमा भएका सबै धर्मले यही भन्छ। तर व्यवहारमा कतिसम्म प्रयोग भइरहेको छ ? त्यसको लेखाजोखा गर्नुपर्ने नै हुन्छ।

यथार्थमा भन्ने हो भने एकातिर धनीहरूको प्रभाव बढ्दै गइरहेको यो संसारमा अर्कोतर्फ गरिबहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ। यो धनी र गरिबको बीचमा बढ्दै गइरहेको खाल्डोलाई हटाउन सबैले संयुक्त रूपमा प्रयास गर्नुपर्छ। अनि मात्र विश्वमा शान्ति कायम गर्ने काममा सफलता मिल्नेछ। मुखले मात्र शान्ति भनेर कराउँदैमा शान्ति कहिल्यै आउँदैन।

सबैभन्दा पहिला संसारमा बढ्दै गइरहेको गरिबीलाई हटाउन सुनियोजित रूपमा विभिन्न योजना परियोजना ल्याएर अघि बढ्न सक्नुपर्दछ। आज यो नै सबैको मुख्य कर्तव्य हुन आएको छ। किनभने संसारमा सबैभन्दा ठूलो रोग नै गरिबी हो अर्थात् भोको पेट हो। विश्वमा आपराधिक काम बढ्दै गइरहनुको मुख्य कारण पनि गरिबी नै हो।

भोकाएको मानिसले जसरी भए पनि आफ्नो पेट भर्न खोज्छ, अनि अपराध कर्म पनि गर्छ। त्यसैले विश्व शान्ति अभियानमा सबैभन्दा पहिला विश्वमा देखिएको भोक, रोग र शोकलाई हटाउन सक्नुपर्दछ। अनि मात्र विश्वमा शान्ति फैलाउन सकिनेछ। शान्ति, शान्ति भनी कराइरहनाले मात्र कहिल्यै शान्ति हुनेछैन।

प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया