तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको सिरानमा रहेको वडा नम्बर ३ को प्रतापकोटका डाडाँहरु टिमुरका बोटले हराभरा भएका छन् । डाँडोमा घुम्न आउँने पर्यटकहरुलाई लस्करै उभिएका बोटहरुले स्वागत गरिरहेझै देखिन्छ । टिमुरका बोटले डाँडोलाई सुन्दर मात्रै बनाएको छैन स्थानीयका लागि आम्दानीको बलियो स्रोत पनि बनेको छ । हावापानी सुहाउँदो र आम्दानी पनि हुने भएपछि निजी जग्गामा स्थानीय किसानहरुले टिमुरका बोटहरु लगाएका हुन् । पारिवारीक तथा निजी वन संघ दाङ्गको सहयोगमा प्रति परिवार ४० वटाका दरले विरुवा वितरण गरिएको अध्यक्ष पदम केसीले जानकारी दिए । टिमुरको विरुवा हुर्काउका लागि दुख नहुने र नियमित आम्दानी पनि हुने भएको हुँदा पाँखाभरी यस्ता बोटहरु लगाइएको स्थानीय पूर्ण नेपालीले बताए । उनले वार्षिक ५० हजार आम्दानी हुने गरेको सुनाए । ‘केही पनि दुख हुँदैन खेर गएको पाखोमा लगाएको वर्षमा ५० हजार आम्दानी दिएको छ’ नेपालीले बताए । उनले टिमुरको बजार माग धेरै रहेको भन्दै अन्य विरुवा भन्दा टिमुरबाट धेरै आम्दानी हुने कुरामा जोड दिए । पारिवारिक तथा निजी वनले विभिन्न समुहहरु बनाएर टिमुरको विरुवा वितरण गरेको हो । एउटा समुहमा १५ देखि २० जना सदस्य रहने व्यवस्था गरिएको छ । समुहगतरुपमा विरुवा लगाएपनि उत्पादन भने किसानहरुले एक्लाएक्लै गर्ने गरेको संघकी सदस्य छवि खरालले बताईन् । उनका अनुसार बहुवर्षिय विरुवाहरु लगाउन थालेपछि छिटै विरुवा हुर्कन थालेका छन् । ‘एक वर्षका विरुवा रोप्दा हुर्काउन समस्या भएपनि बहुवर्षिय विरुवाहरु हुर्काउन किसानलाई निकै सजिलो भएको छ ’ खरालले बताईन् । सामान्यतया विरुवा रोपेको ३ वर्षमा उत्पादन सुरु हुने गरेको छ । खरालले किलोको १ हजारसम्मका विक्री हुने गरेको बताईन् । दुख कम आम्दानी बढि प्रतापकोटको गेहेन्द्र थापाले टिमुरको विरुवा लगाएको ५ वर्ष पनि पुगेको छैन । तर उनको आम्दानी वार्षिक ५० हजारबाट बढ्दै गएको छ । उत्पादनका दृष्टिले हरेक वर्ष समान उत्पादन हुने उनले बताए । ‘एउटा विरुवाले १ सय वर्षसम्म पनि सुरुको जत्तिकै उत्पादन दिने गर्दो रहेछ ’ थापाले भने । उनले त्यसै खेर गएको करिब ५ कट्ठा पाखोबारीमा टिमुरका बोट लगाएका छन् । ‘भिरालो जग्गामा के लगाउने भनेर सोचिरहेको थिए, संस्थाबाट विरुवा पाएपछि अहिले टिमुरका बोटहरु हुर्किएका छन्’ थापाको भोगाई हो । थापापानीका चसराम बुढाले पनि टिमुरका विरुवा रोपेको ७ वर्षजति भएको छ । विरुवा रोप्दा उनले यसरी आम्दानी होला भन्ने सोचकै थिएनन् । पारिवारीक निजी वनको सहयोगमा विरुवा पाएपछि पाखो बारीमा लगाइहालौ भन्ने सोच उनलाई आएको थियो । ‘अरु विरुवा भन्दा यसबाट राम्रो आम्दानी हुँदो रहेछ , दुख पनि नहुने विक्रीका लागि धेरै चिन्ता पनि लिनु नपर्ने भएपछि अरु बाँकी जग्गामा पनि टिमुर नै लगाउने सोच बनाएको छुँ’ उनले भने । अहिले तुलसीपुर उपमहानगरपालिकाको पहाडी वडाहरुमा १,३,४ र १९ मा टिमुरका विरुवाहरु लगाउने चलन बढेर गएको छ । जसको अगुवाई संघले गरेको हो । ‘ वडा नम्बर ३ लाई टिमुर उत्पादनको जोनका रुपमा विकास गर्नका लागि हामीले किसानहरुलाई उत्प्रेरित गरिररहेका छौ’ महासंघका केन्द्रीय उपाध्यक्ष मेघराज भुषालले भने । उनका अनुसार महासंघले विरुवाका अतिरिक्त प्राविधिक सहयोग समेत निरन्तर रुपमा दिइरहेको बताए । ‘अहिले सबैले टिमुरका विरुवा नै लगाइरहेका छन्’ प्रतापकोटका लिलामणी बुढाले भने । उनले अग्लो र चिसो ठाउँमा यसखालका विरुवा सप्रने भएको हुँदा किसानले फाइदा लिइरहेको पनि वताए । बहुउपयोगी टिमुर टिमुरको गेडा मात्रै होईन बोक्रा, दाना र फूल दात दुःखेकोमा, टाउको दुःखेकोमा, छालाको रोगमा, अपच, लुतो र नाक बन्द हँुदा औषधीको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदमा यसलाई ताकत दिने, अजीर्ण र हैजाको औषधीको रुपमा लिईन्छ । कुनै कुनै ठाँउमा बोक्रा सहितको हाँगा, दाना, पात र कंाँढा कीटनाषक औषधि र माछा मार्ने विषको रूपमा प्रयोग हुदै आएको छ । यसको दाना झिंगा धपाउन पनि प्रयोग गरेको पाइएको छ । टिमुरको बोक्रा र दाना सञ्चित अनाज र पीठोमा लाग्ने खिया रंगको खपटे नियन्त्रणको लागि प्रयोग गरिन्छ । विशेषतः पहाडी क्षेत्रको जुगा लाग्ने ठाउँमा वर्षायाममा जुगाबाट बच्न टिमुरका दाना थिचेर बनाएको अर्क÷लेप लगाउने चलन छ । नेपालमा टिमुरलाई तरकारी, अचारमा मसलाको रुपमा प्रयोग गरिन्छ । गाँउघरमा यसको बोक्रा र डाँठ मुख सफा गर्न, दाँतको समस्यामा र दाँत माझ्नको लागि प्रयोग गरिन्छ ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।