२०८३ असार २६ गते शुक्रवार

दुई महिनामा एघार लाखको इन्धन बिक्री  

तुलसीपुर, १५ माघ । नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठ आइतबार इन्धन डिपो टरिगाउँको बाउजरलाई तेल हाल्नका लागि तयार पार्नुभयो । हप्तामा चार दिन उडान भर्दै आएको नेपाल बायु सेवा निगमको जहाज आएकोले इन्धन हाल्नका लागि श्रेष्ठले ब्राउजर तयार पारेर बिनानस्थल नजिक पुर्‍याउन लगाउनुभयो ।  टरिगाउँ बिमास्थलमा आएको नेपाल बायु सेवा निगमको जहाजले ईन्धन नहाल्ने पक्का भएपछि श्रेष्ठले क्याप्टेनसँग तेल हाल्नलाई आग्रह गर्नुभयो । क्याप्टेनले तेल नहाल्ने जवाफ फर्काए । प्राविधक नभएकोले तेल नहाल्ने जवाफ फर्काएपछि प्रमुख श्रेष्ठ निराश भएर बाउजरसंगै फर्किनुभयो ।  

 नेपाल बायु सेवा निगमको जहाजले इन्धन हाल्न छोडेको आइतबार ठिक १५ दिन पुग्यो । कहिले ईन्धन हाल्नलाई आफ्ना प्राबिधीक नभएको, कहिले इन्धन हाल्न नपर्ने त कहिले उडान नै क्यान्सिल गर्ने भएपछि कार्यालय प्रमुख श्रेष्ठ वाक्क दिक्क भइसक्नुभयो । इन्धन स्टक भएपछि कार्यालय प्रमुख आइतबार इन्धन डिपो पुग्नुभएको हो । आइतबार पनि निराश हुनुभयो ।    नेपाल बायु सेवा निगम दाङका स्टेसन प्रमुख महेन्द्र शर्माले प्राबिधीक नहुदा ईन्धन हाल्न समस्या रहेको बताउनुभयो । ईञ्जीनियर शाखाका प्राबिधीकहरुको रोहबरमा ईन्धन हाल्नुपर्ने कानूनी बाध्यता रहेको र दाङमा कर्मचारी नभएको प्रमुख शर्माले बताउनुभयो ।

 हाल नेपाल बायु सेवा निगमले ईन्धन हाल्नका लागि काठमाडौँबाट प्राबिधीक ल्याउनुपर्छ । यात्रु धेरै नहुने तौल धेरै नहुने भएपछि ईन्धन हाल्न नपर्ने दाङ स्टेशन प्रमुख शर्माको दाबी छ । अधिकतम १६ भन्दा बढी यात्रु भएको अबस्थामा दाङमा इन्धन हाल्नुपर्ने अबस्था आउने प्रमुख शर्माको भनाई छ ।    यता नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठले नेपाल बायु सेवा निमगले एउटा कर्मचारी नराख्दा समस्या भएको बताउनुभयो । आयल निगमले ईन्धन डिपोका लागि ७ जना कर्मचारी राखेको छ बायु सेवा निगमले एउटा लोकल प्राबिधीक राख्न नसक्नु दुखद् बिषय भएको बताउनुभयो ।

 दुई महिनामा एघार लाख व्यापार

ईन्धन डिपो कार्यालय तुलसीपुरले करिब दुई महिनाको अवधिमा ११ लाखको ब्यापार गरेको जनाएको छ । ईन्धन डिपो टरिगाउँले छ हजार ७७२ लिटर ईन्धन बिक्री गरेर ११ लाखको ब्यापार गरेको हो । मंसिर २५ गतेदेखि माघ १३ गतेसम्म ११ लाख ५१ हजार २४० रुपैया बराबरको ब्यापार गरेको हो ।  इन्धन डिपो कार्यालय टरिगाउँले माघ महिनामा ४३० लिटर ईन्धन बिक्री गरेको छ । माघ १३ गते सिता एयरले परिक्षण उडान गरेपछि ४३० लिटर बिक्री गरेको हो । बाँकी छ हजार ३४२ लिटर मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म नेपाल बायु सेवा निगमलाई इन्धन बिक्री गरेको हो ।

 इन्धन डिपो टरिगाउँका अनुसार नेपाल बायु सेवा निगमले छ हजार ३४२ लिटर र सिता एयरलाई ४३० लिटर गरेर छ हजार ७७२ लिटर तेल खपत गरेका छन् । पहिलो चरणमा ४० हजार इन्धन स्टक गरेको टरिगाउँसंग अझै ३३ हजार २२८ लिटर इन्धन स्टक छ ।  इन्धन डिपो निर्माण भएर हस्तान्तरण भएपछि नेपाल आयल निगमले मंसिर २५ गतेदेखि सेवा सुरु गरेको थियो । नेपाल बायु सेवा निगमले नियमित रुपमा हवाई ईन्धन नहाल्दा टरिगाउँ इन्धन डिपोले सोचे जस्तो ब्यापार गर्न सकेको छैन ।

 टरिगाउँ इन्धन डिपोले छ हजार ७७२ लिटर इन्धन बिक्री गरेर ११ लाख ५१ हजार २४० रुपैयाँको ब्यापार गरेको छ । इन्धन डिपो टरिगाउँले सिता एयरलाई ४३० लिटर बिक्री गरेर ७३ हजार एक सय रुपैयाँको ब्यापार गरेको छ । त्यसैगरी छ हजार ३४२ लिटर बिक्री गरेर नेपाल बायु सेवा निगमसँग दश लाख ७८ हजार १४० रुपैयाँको ब्यापार गरेको छ । यसरी इन्धन खपत हुन छोडेपछि इन्धन डिपो टरिगाउँले ब्यापार गर्न सकेको छैन । टरिगाउँ बिमास्थलमा नियमित हवाई सेवा सञ्चालन नहुनु, हवाई सेवा प्रदायक संस्थाले आफ्ना प्राविधिक नराख्दा सोचे जस्तो ब्यापार गर्न नसकेको हो ।

 इन्धन बिग्रीने डर

नेपाल आयल निगम तुलसीपुरले समयमै इन्धन खपत नहुदाँ बिग्रीने हो की भन्ने चिन्ताले सताउन थालेको छ । इन्धन स्टक गरेर राखेको छ महिनासम्म ईन्धन हाल्न मिल्छ त्यसपछि जाँच गरेर मात्रै इन्धन हाल्नुपर्छ । स्टक रहेको ३३ हजार लिटर इन्धन अबको तीन महिनामा बिक्री गर्नुपर्छ अन्यथा पुनः जाँच गरेर मात्रै बिक्री गर्नुपर्छ ।

 नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठले करिब तीन महिनामा सात हजार लिटर इन्धन बिक्री भएको हिसाबले सबै बिक्री गर्न मुस्किल हुने बताउनुभयो । इन्धन परिक्षण गर्नका लागि भारतको लखनउ तथा सिलुगुडी पुग्नुपर्छ ।

 हवाई सेवा नियमित नहुदाँ समस्या

सुरुका समयमा इन्धन डिपोको समस्या झेल्दै आएका हवाई प्रदायक संस्थाले टरिगाउँ बिमास्थलमा आफ्नो ध्यानाकर्षण गराएका छैनन् । पछिल्लो समयमा सिता एयर परिक्षण उडान गर्नु बाहेक इन्धन डिपो भएपछि खासै प्रगति भएको देखिदैन । नेपाल बायु सेवा निगम बाहेक नीजि हवाई प्रदायक संस्थाले दाङलाई प्राथमिकता दिएका छैनन् । हवाई सेवा संस्थाले उडान नभर्दा इन्धन डिपो टरिगाउँले ब्यापार गर्न सकेको छैन । यसका लागि दाङबासीले नियमित हवाई उडान गराउन सकेमा इन्धन डिपोको पनि ब्यापार बढ्ने देखिन्छ ।      

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया