२०८३ असार २६ गते शुक्रवार

बिरामी छटपटाई रहेका बेला राप्ती प्रादेशिकबाट डाइलासीस मेसिन फीर्ता

तुलसीपुर, १२ माघ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डाइलासिस गर्नका लागि ८१ जना बिरामीले पालो पर्खिरहेका छन् । बिरामीले पालो कुरिरहँदा त्यही अस्पतालमा प्राप्त भएका पाँच वटा डाइलासिस मेसिन थन्किएका छन् ।     प्राप्त भएका सबै मेसिन जडान नहुदाँ डाइलासिस गर्ने बिरामीले पालो पाउन सकेका छैनन् । तत्कालका लागि अस्पतालले प्रशासनले नियमित २२ जना बाहेक अरुलाई डाइलासिस गर्न नसक्ने जनाएको छ । यसका लागि आवश्यक जनशक्ति समेत छैन ।

मेसिन जडान नहुदा थप बिरामीलाई डाइलासिस सेवा दिन नसकेको अस्पताल प्रशासनले जनाएको छ । एकातिर बिरामीले पालो कुर्ने अर्कातिर प्राप्त भएका डाइलासिस मेसिन जडान नहुने बिरामीले दुख पाउने अवस्था सिर्जना भएको छ । प्राप्त भएका मेसिनमध्ये तीन वटा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको व्यवस्थापन महाशाखा आदेशमा नेपालगञ्ज मेडिकल कलेजलाई उपलब्ध गराइएको छ । व्यवस्थापन महाशाखाले अस्पतालले मेसिन सञ्चालन नगरेको भन्दै नेपालगञ्ज मेडिकल कलेजलाई उपलब्ध गराउन पत्र लेखेपछि अस्पताल प्रशासनले मेसिन उपलब्ध गराएको हो । एकातिर बिरामीले डाइलासिस गर्नलाई पालो पाउन सकेका छैनन् ।

अर्कातिर मेसिन जडान नहुदाँ पाँच वटा थन्किएका छन् भने तीन वटा नेपालगञ्ज पुगेका छन् । अस्पतालसंग मसिन जडान गर्ने ३५ लाख रकम नहुदा मेसिन जडानमा समस्या उत्पन्न भएको छ । अस्पताल प्रशासन तथा अस्पताल विकास समितिको हारगुहार प्रदेश तथा स्थानीय सरकारले टेर पुच्छरै लगाएका छैनन् । अस्पताल आफैसँग मेसिन जडान गर्नलाई ३५ लाख रुपैयाँ छैन ।

राप्ती प्रादेशिक अस्पताललाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले गएको साउन महिनामा ८ वटा डाइलासिस मेसिन उपलब्ध गराउनुभएको थियो । राज्यमन्त्रीले प्रदान गरेका ८ वटा मेसिन चल्न सकेका छैनन् । समयमै मेसिन सञ्चालन गर्न नसक्दा तीन वटा मेसिन जिल्ला बाहिर पुगेका छन् । बाँकी रहेका पाँच वटा मेसिन पनि समयमै सञ्चालन हुन नसकेमा स्वास्थ्य सेवा विभागले अन्यत्र नपठाउला भन्न सकिन्न ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। ओम अर्यालले प्राप्त भएका मेसिन जडान गरेर सञ्चालन गर्नलाई निरन्तर प्रयास जारी रहेको बताउनुभयो । हामीले गरेको आग्रहलाई प्रदेश सरकारले नसुनेको डा। अर्यालले गुनासो गर्नुभयो । मेसिन जडान गर्नका लागि हामीले प्रदेश सरकारसँग ३५ लाख मागेका थियौँ– डा। अर्यालले भन्नुभयो, ‘प्रदेश सरकारले कुनै जवाफ नै दिएन ।’

जिल्लामा मिर्गौलाका बिरामी बढेको भन्दै तत्कालीन स्वास्थ्य राज्यमन्त्री केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई मेसिन उपलब्ध गराउनुभएको थियो । उपलब्ध भएका मेसिनमध्ये राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सबै मेसिन सञ्चालन गरेको सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य राज्यमन्त्री केसीले प्रतिष्ठानका लागि १० वटा मेसिन प्रदान गर्नुभएको थियो ।

राप्ती प्रादेशिक अस्पतालले भने रकम अभावको कारण देखाउँदै मेसिन सञ्चालन गर्न सकेन । जसले गर्दा तीन वटा मेसिन नेपालगञ्ज मेडिकल कलेजलाई दिनु परेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा। ओम अर्यालका अनुसार आर्थिक र जनशक्तिको अभावले मेसिन चलाउन नसकिएको हो । अस्पताल प्रशासनले थप प्राप्त भएका मेसिन चलाउनका लागि ५९ लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ । यद्यपि हाल सञ्चालन रहेको आरो प्लान्टले काम चलाउँदा कम्तीमा ३५ लाख खर्च लाग्छ । पानी सुद्धिकरण गर्ने आरो प्लान्ट जडान गरेको खण्डमा थप २५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । आर्थिक, जनशक्ति र कोठाको अभावका कारण मेसिन सञ्चालन हुन नसकेको डा। अर्यालको भनाई छ । हाल सञ्चालन भएका र पछिल्लो पटक प्राप्त भएका मेसिन सञ्चालनका लागि एक जना फिजिसियन डाक्टर, १० जना स्टाफ नर्श, २ जना कार्यालय सहयोगी आवश्यक पर्छ ।

अहिले चार वटा डाइलासिस मेसिन चलाउनका लागि चार जना स्टाफ कार्यरत छन् । हाल चार वटा मेसिन सञ्चालन गर्नलाई कार्यरत चार जना स्टाफले दुई सिफ्टमा दैनिक ८ जना बिरामीको डाइलासिस गरीरहेका छन् । कोही बिदामा बसेको अबस्थामा समस्या हुन्छ । बिरामी थप भएको अबस्थामा घोराही, लमही र कोहलपुर पठाउनुपर्ने अवस्था रहेको राप्ती प्रादेशिक अस्पताल डाइलासिस डिमाटमेन्टमा कार्यरत स्टाफ नर्श लिना भडेलले जानकारी दिनुभयो । अस्पताल विकास समितिले डाइलासिस मेसिन सेवा बढाउनलाई जनशक्ति ब्यबस्थापनका लागि स्थानीय सरकारसंग आग्रह गरेको छ । बिकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपानेले स्थानीय सरकारसँग जनशक्तिको व्यवस्थापन र प्रदेश सरकारसँग आर्थिक ब्यबस्थापनका लागि आग्रह गरेको बताउनुभयो ।

अस्पताल प्रशासन र विकास समितिले प्रयास जारी गरेको भए पनि प्रतिफल निस्कीन नसकेको अध्यक्ष न्यौपाने बताउनुभयो । मन्त्रीले मेसिन उपलब्ध गराएको भए पनि आर्थिक समस्याले समयमै सञ्चालन गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेको भनाई छ । दाङमा घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल र लमहीमा सामुदायिक डाइलासिस सेन्टर मार्फत् सेवा उपलब्ध हुदै आएको छ ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १६ वटा, राप्ती प्रादेशिक अस्पतालमा ४ र लमहीमा ११ वटा मेसिन गरी ३२ वटा मेसिन चालु अबस्थामा रहेका छन् । प्रतिष्ठानले आइसियु कक्षमा पनि डाइलासिस गर्ने ब्यबस्था गरेको छ । पाँच वटा मेसिन राप्ती प्रादेशिक अस्पतालमा थन्किएका छन् ।

 घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल र लमहीमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको सहयोगमा डाइलासिस सेन्टर सञ्चालन गरीरहेको सस्थापक अध्यक्ष अध्यक्ष रबि आचार्यले जानकारी दिनुभयो ।  राप्ती प्रादेशिक अस्पतालमा २२ जना बिरामीले नियमित डाइलासिस गरीरहेका छन् भने लमहीमा ६७ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक १८ जनाले सेवा प्राप्त गरीरहेका छन् । सरकारले प्रति बिरामी एक पटक डाइलासिस गरेको दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने गरेको छ । मिर्गौलाका समस्या भएका बिरामीले साप्ताहिक रुपमा दुई पटक डाइलासिस गर्नुपर्छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया