तुलसीपुर,४ भदौ । थारु समुदायका महिलाहरुको विषेश चार्ड श्री कृष्ण जन्माष्टमी समापन भएको छ । नेपालका विभिन्न स्थानमा बसोवास गर्ने थारु समुदायका महिलाहरुले शुक्रबार दिनभर निराहार ब्रत बसी आज समापन गरेका हुन । ब्रत बसेका ती महिलाले पुजापाठ गरेका सामाग्री नदी,तलाउ,खोला लगाएतका स्थानमा सेलाएर विभिन्न प्रकारका मिष्ठानका परिकार खाएर ब्रत समापन गरेका छन । दिदी बहीनीहरुले आफ्ना जाजुभाइलाई परम्परा अनुसार विभिन्न मिष्ठानका परिकार दिएर दाजु बहीनीको साईनो अझै प्रगाढ बनोस भनि कामना समेत गरेका थिए ।
कृष्ण जन्माष्टमी पर्वमा दिनभर व्रत बसी साँझ कृष्णसँग सम्बन्धित गीत गाएर उनिहरु रमाइलो गरेका थिए । थारु समुदायले गाउँको महतवाको घरमा कृष्ण र पाण्डवसँग सम्बन्धित चित्र बनाउने गर्दछन् । जुन चित्र नेपाली चित्रकलाको दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । कृष्ण जन्माष्टमीका दिन नुहाएर कृष्ण, पाण्डवसहित प्रकृतिमा रहेका विभिन्न जीवको चित्र महतवाको घरको भित्तामा बनाउँछन् । साँझ गाँउका सबै त्यही घरमा जम्मा भइ चित्रमा पूजा गर्ने चलन छ । यो चित्रले थारुहरुको सम्बन्ध कृष्ण र पाण्डवसँग रहेको देखाउने गरेको थारु अगुवाहरु बताएका छन ।