२०८३ जेष्ठ २५ गते सोमवार

मेयर ज्यूलाई खुल्ला पत्र

आदरणीय घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी ज्यू क्रान्तिकारी लाल अविवादन साथै सफल कार्यकालको हार्दिक शुभकामना ।  विजय जुलुसको दोस्रो दिनबाटै जनताको घर दैलोको समस्या समाधान गर्दै हिडेको देख्दा घोराही उपमहनगरपालिकाले सच्चा, परिश्रमी र कर्मठनिष्ट उम्मेदवार पाएको महशुस भएको छ ।

मेयर ज्यू जनता जनार्दन हुन् । अघिलो योजना पूरा हुनुपर्छ भन्दै जनताले यसपालि छ दललाई पछार्दै कुशल व्यक्तिको छनौट गरेको हो । दलिय बलियो गठबन्धनलाई परास्त गर्दै यसपालि नेकपा एमालेको तर्फबाट तपाईंले भारी मत–अन्तरले विजय हुने चानचुने कुरा होईन । अवसरवादी र तानाशाहीलाई गतिलो थप्पड हो ।

पार्टीको हैसिएतले भन्दा पनि तपाईंको व्याक्तिगत पहिचान, लगनशीलता र कर्तव्यनिष्ठताले जनताले हजुरलाई चुनेको हो भन्ने बुजेको छु मैले । तपाईं प्रति जनताको धेरै आशा अनि भरोसा छ । मलाई पूरा बिश्वास छ तपाईं त्यो अग्नि परिक्षामा खरो उत्रनु हुनेछ । हिजोको ५ बर्षमा पूरा नभएका कार्ययोजनाले अबको ५ बर्षले पुर्णता पाउनेछ । याद रहोस् मेयर ज्यू हजुरले बोलेका र गरेका बाचा हामी सँग मोबाईलमा सुरक्षित छन् । तपाईं किसानको छोरा हुनुहुन्छ । एउटा गरिब परिवारबाट यो फिल्डमा आउनु भएको हो । गरिबी, भोक, प्यास र बिपन्नतालाई नजिकैबाट नियाल्नु भएको छ ।

भोकानाङ्गा र दिनदुःखीको पिडालाई नजिकबाट बुझ्नु भएको छ । सबैलाई एक साथ समेटेर लैजान सक्ने हजुरमा क्षमता छ । जसको चाहना जनताले राखेका छन् । हाम्रो चाहना नेताले हामीलाई पैसाको मुठो बाडुन् भन्ने कदापी होईन । हाम्रो शहर विकास र समृद्धिसँग जोडिएको, बाटो, शिक्षा स्वास्थ्य, बिजुली पानी हरेक घरले भोकचलन गर्न पाओस् । शान्ति सुरक्षाको महशुस गर्न पाईयोस । जातिय , धर्मिक, लैङ्गिक, सामाजिक मतभेद्को अन्त्य होस् । हर धर्मको सम्मान होस सब मिलिजुली बस्न पाइयोस् । हाम्रो नगरले विकासका पुर्वाधार चुम्नु सकोस् । जनताको चाहना यति हो भन्ने मैले बुझेकी छु ।

तपाईंले विकास उन्मुख भू–भागको सफल भर्मण गरिसक्नु भएको छ । देश विकास र राष्ट्र राष्ट्रियतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कार्य योजनाको स्पष्ट खाका कोर्न सक्नु हुन्छ । कसरी विकासको चरमचुलीमा पुग्न सकिन्छ भन्ने राम्रो ज्ञान हजुरमा छ । हजुर कुशल अनि सक्षम हुनुहुन्छ भन्ने बिश्वासका साथ जनताले हजुरलाइ जित हासिल गराएका छन् ।
मुटुभरी घरपरिवारको सम्झना मन भरी देशको माया बोकेर आँसुको धारले मुख पुछ्दै दिनहुुँ हजारौंको संख्यामा विदेसीने युवाको आशाको दियो हुनुहुन्छ हजुर । आफ्नै सन्तानबाट अपहेलित भएर घरबाट निकालिएका वृद्धबावु–आमाको भरोसाको खम्बा हुनुहुन्छ हजुर । अन्यायमा परेका चेलिबेटीको माइती हुनुहुन्छ हजुर । बेरोजगारीको पिडामा छ्टपटाइ रहेका युवाको बलियो आधार हुनुहुन्छ हजुर । बर्सौदेखि पिछडिएका रोग, भोकसंग पैठ्यजोरी खेलिरहेका दाङ घोराहीका जनताका मेयर हुनुहुन्छ हजुर ।
त्यसैले आफ्नो प्रतिवद्धतामा कत्ति पनि बिचलित नभएर काम र कर्तव्य पुरा गर्दै जानु । हरेक समयमा जनतासंग हातमा–हात मिलाएर अगाडि बढनु । अबको ५ बर्षमा नेपालकै नमुना शहर भनि घोराही उपमहानगरपालिकालाई चिनाउने काम गर्नु । विकसीत शहरको रुपमा देश विदेशमा चिनियोस् हाम्रो घोराही । राजनीतिलाई फोहोरी खेल भन्दै देश बिकासको हातेमालोबाट पन्छिन खोज्ने युबाहरुलाई मुलधारमा लिएर राजनीति भित्र सबै खराब र गलत र अबसरबादी आचरण भएको ब्याक्ति मात्रै होइनन् लौ है नरुलाल जस्ता होनहार र कर्तब्यनिष्ठ ब्यक्ति पनि छन् भनेर अलग छवि कायम गर्न सक्नु । अब आउने चुनाबमा भोट माग्न घर–घर जान नपरोस् ।

जनताको इच्छा हजुरलाई नै भोट हाल्न आतुर रहोस् । घोराही नेपालकै नमुना शहर बनोस् । अहिले मात्र होइन घोराहीबासीले आगामी सयाै बर्षसम्म नरुलाल नरुलाल नरुलाल भनुन् । हजुरहरु भने जस्तै रोजगारीको शहर बनोस् घोराही युवा व्यावसायिकको गन्तव्य बनोस् घोराही, सफा स्वच्छ र हराबराको पहिचान बनोस घोराही फुलैफुलको बगैचा भनेर नेपालमा मात्र होईन विश्व सामु अलग पहिचनसहित चिनियोस् हाम्रो घोराही राम्रो घोराही भन्दै सफल कार्यकालको हार्दिक शुभकामना घोराही नगर प्रमुख ज्यू ।

        मुना रिजाल आचार्य
                                                                                                                                           घोराही १३  बडहरा, दाङ

प्रकाशित मिति : २०७९ जेष्ठ १४ गते शनिवार
प्रतिक्रिया