२०८३ असोज ९ गते शुक्रवार

टूङ्गियो रेडियो प्रकृतिमा १६ वर्षदेखिको यात्रा !

१६ वर्षअघि रेडियो प्रकृतिको जग बसाल्नेदेखि प्रसारण बचाइराख्नसम्मको यात्रामा मैले अनेकौँ संघर्ष, अभाव, भोक र जिम्मेवारीसँगै रेडियोलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाए । मैले भदौ १ गतेदेखि १६ वर्षे यात्रामा बिट मारेको छु । जागिर छाड्दै गर्दा  मनमा गुनासाभन्दा रेडियो प्रकृतिप्रतिको माया, कृतज्ञता र सम्झना बढी छ ।

कुनै बेला यस्तो समय थियो, जब रेडियो बजिरहेको देख्दा मनमा एउटा अनौठो प्रश्न उठ्थ्यो—यति सानो रेडियोमा मान्छेहरू कसरी अटाउँछन् होला ? उनीहरू कसरी भित्र पस्छन ? कसरी निस्किन्छन ? त्यहीँ बसेर कसरी गाउँछन ? कसरी मादल बजाउँछन ? कसरी बाँसुरी बजाउँछन ? अनि कसरी नाच्छन ? बाल्यकालमा रेडियो मेरो लागि एउटा सानो बाकसभित्रको ठूलो संसार थियो । त्यो समय रेडियो, टेप, वाकमेनजस्ता साधन निकै महत्वपूर्ण र लोकप्रिय थिए । रेडियोमा आफ्नो नाम बज्दा संसार नै जितेजस्तो लाग्थ्यो । टेपमा गीत रेकर्ड गरेर बजाउन पाउनुको खुशी शब्दमा बयान गर्न सकिँदैनथ्यो । कसैको हातमा रेडियो, घडी, टेप वा वाकमेन देखियो भने समाजले उसलाई अलि सम्पन्न, अलि खान्दानी मानिसका रूपमा हेर्थ्यो । धेरैका घरमा चारवटासम्म ब्याट्री लाग्ने रेडियो हुन्थे । आज त्यो समय सम्झँदा लाग्छ—त्यो समय धेरै टाढा गएको पनि रहेनछ । करिब १५–२० वर्षअघिको कुरा मात्रै हो । दाङमा मध्यपश्चिममै पहिलोपटक २०५८ सालमा घोराहीमा रेडियो स्वर्गद्वारी स्थापना भयो । त्यसपछि २०६३ सालमा तुलसीपुर एफएम स्थापना भयो । विस्तारै दाङमा विभिन्न आस्था, विचार र उद्देश्य बोकेका समूहहरू रेडियो स्थापनामा सक्रिय हुन थाले ।

त्यही क्रममा तुलसीपुरमा विभिन्न आस्था र विचार बोकेका व्यक्तिहरू मिलेर रेडियो तुलसीपुर स्थापना गरे । तर फरक–फरक विचार र समूहबीचको यात्रा धेरै लामो समय अघि बढ्न सकेन । त्यसपछि रेडियो प्रकृति एफएम सञ्चालनका लागि एउटा नयाँ टोली सक्रिय भयो । त्यसको नेतृत्व तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर तथा रेडियोका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालमार्फत दाङको तुलसीपुरमा रेडियो प्रकृति एफएम सञ्चालनका लागि सूचना तथा प्रसारण विभागबाट इजाजत प्राप्त भयो । तर रेडियो चलाउन लाइसेन्स मात्रै भएर पुग्दैनथियो रेडियोका लागि घर चाहिन्थ्यो । खोज्दै जाँदा तुलसीपुरको सल्यान रोडमा स्वर्गीय शेरबहादुर खड्काले आफ्ना दुई छोराका लागि एकैपटक दुईवटा घर बनाइरहनुभएको थियो । त्यही घर रेडियोका लागि उपयुक्त ठहरियो ।

घनश्याम पाण्डे र व्यवसायी खगेन्द्र पोख्रेलले घरभाडाका विषयमा स्वर्गीय खड्कासँग कुराकानी अघि बढाउनुभयो । घरभाडाको कुरा टुंगियो । अझ घर पूर्ण रूपमा तयार भइसकेको थिएन । त्यही अधुरो घरबाट रेडियो प्रकृतिको जग बसाल्ने काम सुरु भयो । त्यतिबेला रेडियोको रेखदेख पूर्वस्टेशन म्यानेजर श्याम डाँगीले गर्नुहुन्थ्यो ।

त्यही समय म—ओपेन्द्र बस्नेत—रेडियो मध्यपश्चिम र नयाँ युगबोध दैनिकमा काम गरिरहेको थिएँ । ती दुई मिडियाँमा करिब चार वर्ष बिताइसकेको थिएँ । आफ्नै काममा व्यस्त रहेकै बेला रेडियो प्रकृतिको संरचना निर्माणमा पनि सघाउन थालेँ । रेडियोलाई चट्याङबाट जोगाउन अर्थिङका लागि गाउँ–गाउँमा पुगेर कोइला खोजियो । घोराहीसम्म पुगेर अनएयर स्टुडियो र प्राविधिक कक्षबीच राखिने पारदर्शी सिसासमेत ल्याइयो । सानातिना कामको त कुरै नगरौँ । त्यो बेला कामको हिसाब राख्ने फुर्सद थिएन ।

रेडियो आफ्नो हो भन्ने लाग्थ्यो । त्यसैले काम पनि आफ्नै घर बनाएको जस्तो लाग्थ्यो । अन्ततः २०६७ साल भदौको दोस्रो सातादेखि रेडियो प्रकृति एफएमले परीक्षण प्रसारण सुरु ग¥यो । त्यसपछि मेरो जीवनमा रेडियो प्रकृति केवल काम गर्ने ठाउँ रहेन । बिस्तारै यो मेरो जीवनकै एउटा हिस्सा बन्यो । विशेषगरी पूर्वस्टेशन म्यानेजर श्याम डाँगी, पूर्व समाचार सम्पादक जेएन सागर र म रेडियोमै धेरै समय बिताउँथ्यौँ । दुई फ्लाइटको घर भाडामा लिएका कारण बस्न खासै समस्या थिएन ।

एक दिन घनश्याम पाण्डेले भन्नुभयो— ‘ओपेन्द्रजी, तत्काललाई समाचार सहसम्पादक भएर काम गर्नुस । रेडियोको रेखदेख पनि गर्नुपर्छ है।’ मैले खुशी हुँदै ‘हुन्छ’ भनेँ । घर पुगेर परिवारलाई सुनाएँ—‘आजदेखि म रेडियो प्रकृति एफएमको समाचार सहसम्पादक भएँ ।’ त्यो दिनदेखि रेडियोप्रतिको मेरो लगाव झनै गहिरो हुँदै गयो । बिहान चार बजे उठेर खाना पकाउने । पाँच बजे खाना बोकेर तुलसीपुरतर्फ लाग्ने । पश्चिम अश्वाराबाट करिब पाँच किलोमिटरको दूरी पार गरेर रेडियो पुग्ने ।

त्यो खाना मैले होइन, मेरी श्रीमतीले बिहानै उठेर पकाइदिन्थीन् । खानाको डब्बा बोकेर रेडियो पुग्नुको पनि आफ्नै कारण थियो । बिहान घोराहीबाट तुलसीपुर आउने पत्रिका वितरकहरूले बजारमा बाँड्न नपाउँदै पत्रिका लिएर रेडियो पुग्नुपर्थ्यो । नयाँ युगबोध, गोरक्ष, गणतन्त्र र राप्ती पोष्टलगायत पत्रिका संकलन हुन्थे । ती पत्रिकाका समाचार ‘आजको परिवेश’मार्फत स्रोतामाझ पुर्‍याइन्थ्यो ।

जोश थियो । जाँगर थियो । केही गरौँ भन्ने हुटहुटी थियो । त्यसैले जीवनको उर्जावान समय रेडियो प्रकृतिका लागि बिताइयो । कहिलेकाहीँ रातभर खाना नखाई रेडियोमै भोकै पनि बसियो । कर्मचारीले खाना खाएको पैसा महिनौँसम्म रेडियो व्यवस्थापकले तिर्न नसक्दा होटल संचालकले ‘आज खाना छैन’ भनेर फर्काउँदा कयौँरातहरु भोकै वितेका छन् ।

२४ घण्टामा करिब १८ घण्टा रेडियोमै समय विताइन्थ्यो । रहर थियो कि बाध्यता—सायद दुवै थियो । दुई फ्लाइटको नयाँ घर । नयाँ वायरिङ । झिलिमिली बिजुली बत्ती । कतिपय बत्ती आवश्यकता नभए पनि बलिरहन्थे । साँझ बालेका बत्ती बिहानसम्म बलिरहेका हुन्थे । अरूलाई खासै ध्यान नहुन सक्छ । तर मलाई रेडियोको बिलको चिन्ता हुन्थ्यो । ट्वाइलेट, बाथरुम र खाली कोठामा बलेका बत्ती आफैँ निभाउँथेँ । किनकि रेडियोप्रति माया थियो ।

रेडियोमा काम गर्ने रहर थियो । रेडियोलाई टिकाउने चाहना पनि थियो । त्यतिबेला रेडियोको ठूलो क्रेज थियो । धेरै स्रोताका लागि रेडियो साथी थियो । विज्ञापन पनि राम्रै आउँथ्यो तर आर्थिक समस्या भने सुरुदेखि नै रेडियोको छायाँ बनेर पछ्याइरह्यो । दशैँ मनाउन खर्च चाहिएको बेला तत्कालीन स्टेशन म्यानेजर श्याम डाँगीको घरमा दिनभर बसेर साँझ रित्तै फर्किएको क्षण पनि छ । त्यतिबेला प्राविधिक प्रमुख जनक केसी र म उहाँको घरमा गएका थियौँ । मेरो सुरुवाती तलब ६ हजार रुपैयाँ थियो । त्यो तलब पनि नियमित थिएन ।

रेडियोमा काम गर्दागर्दै मेरा पूजनीय पिता बुद्धिमान बस्नेतको निधन भयो । त्यतिबेला करिब ६ महिनाको तलब बाँकी थियो । बुवाको किरियामा बसेको बेला रेडियोबाट स्टेशन म्यानेजर श्याम डाँगीसहितको टोली मानो मिसाउन घर आयो । दुःखमा रेडियोको टोली घर आइपुग्दा मनमा दुईवटा भावना जन्मिए ।

एउटा—रेडियोले दुःखमा पनि सम्झियो भन्ने खुशी । अर्को—सायद यस्तो दुःखको बेलामा महिनौ देखि रोकिएको तलब पाइएला भन्ने आशा । म्यानेजरसँग कुरा राखेँ । ‘हुन्छ, व्यवस्था गरौँला ।’ तर त्यो सहयोग पनि पाउन सकिएन । त्यो क्षण आज पनि सम्झँदा मन भारी हुन्छ । पाँच भाइमध्ये तीन जना दाजुहरू अलग बस्नुहुन्थ्यो । आमा २०६२ सालमै बितिसक्नुभएको थियो । बुवा मसँगै बस्नुहुन्थ्यो । भाइ सानै थियो ।

म रेडियोमा खाइनखाई काम गर्थेँ । घरमा श्रीमती, एक छोरा र एक छोरी थिए । छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन मन लागेन । किनकी पैसा नभएपनि आखिर पत्रकार भन्ने घमण्ड । बोर्डिङ स्कुलमा पढाउनुपर्छ भन्ने लाग्यो । त्यसको शुल्क बुवाले दुःख गरेर जुटाउनुहुन्थ्यो । बुवाले कहिलेकाहीँ सोध्नुहुन्थ्यो— ‘कान्छा, तैँले कमाएको पैसा कालो छ कि सेतो ? कहिले देख्न पाइन्छ ?’ म हाँस्दै भन्थेँ—‘बा, एक दिन देख्नुहुन्छ ।’ बुवा पनि मुसुक्क मुस्कुराउनुहुन्थ्यो । तर त्यो दिन कहिल्यै आएन ।

सबैभन्दा ठूलो पछुतो यही हो—बुवा जीवित रहँदा जागिर खाएर पनि उहाँलाई एकजोर राम्रो कपडा हाल्न सकिनँ । बजारमा आउजाउ गर्ने बुवाले नै ९७ हजार दुई सय रुपैयाँ हालेर मलाई स्प्लेन्डर मोटरसाइकल किनिदिनुभएको थियो । तर मैले बुवाका लागि के गर्न सकेँ ? यो प्रश्न आज पनि मनभित्र कतै चुपचाप बसिरहेको छ ।

समय परिवर्तनसंगै समाचार सम्पादक भइयो । रेडियोको स्टेशन म्यानेजर भिमार्जुन हुनुभयो । त्यतिबेला घोराहीको मध्यपश्चिम एफएम छोडेर रेडियो प्रकृति एफएमा काम गर्न  जेएन सागर र वसन्त विवश आचार्य आउनुभभयो  । जेएन समाचार सम्पादक र वसन्त कार्यक्रम संयोजक । उहाँहरुको तलब त्यतिबेला १० हजार रुपैयाँ थियो । त्यो भनेको त्यो समयमा अति धेरै तलव हो । विभिन्न कारणबस रेडियो संचालक समितिले आचार्यलाई एक्कासी विदाई गर्‍यो ।

त्यसपछि संगैआएका जेएन एक्लो महसुस गर्नुभयो । उहाँपनि धेरै समय बस्नुभएन । किनकी रेडियो त्यतिबेलासम्म व्यवस्थीत रुपले चल्न सकेकै थिएन । आर्थिक रुपले थङथिलो थियो । उहाँले पनि छोडनुभयो । त्यसपछि बसेको रेडियो संचालक समितिको बैठकले मलाई समाचार सम्पादक र संगित बस्याललाई कार्यक्रम संयोजकमा नियुक्त गर्‍यो । संगित बस्याल पहिलादेखि नै चलाख, छट्टु र महत्वकांक्षी पनि । रेडियो संचालक समितिको बैठक बसीरहेका बेला उहाँ ढोकामा गएर यसो चियोचर्चो गर्ने क्रममा ओपेन्द्रलाई समाचार सम्पादक र संगितलाई कार्यक्रम संयोजक बनाउने भन्ने कुरा सुन्नुभए छ ।

त्यसपछि उहाँलाई छटपटी लाग्न थाल्यो । किन की उहाँको रहर कार्यक्रममम भन्दा पनि समाचार तर्फ रहेछ । म समाचार शाखामा बसेर समाचार लेख्दै थिए । संगितले ढोकाबाट ओपेन्द्र भन्दै हातले इशारा गरेर बोलाउनुभयो । ‘ओपेन्द्र म रेडियोमा काम गर्दैन । मेरो इच्छा समाचारमा थियो । मलाई कार्यक्रम संयोजक बनाएका छन् । तँ लाई सम्पादक बनाएका छन् ।’ संगितले भन्नुभयो । हामीबीच एकआपसमा कुरा गर्दा एकले अर्कोलाई त भनेर सम्बोधन गर्ने गर्थ्याै ।

संगित रेडियो हाम्रो पहुँचमा केही समय काम गरेर घरमा बस्नु भएको थियो । तत्कालिन स्टेशन म्यानेजर श्याम डाँगी र मैले नै सल्लाह गरेर संगितलाई रेडियोमा ल्याएका थियौं । संगित टाँठोबाटो मान्छे । छोड्न दिनु त भएन । अनि म सरासर संचालक समितिको बैठक बसीरहेको कोठामा गएर भने – ‘भिमार्जुन सर मलाई सम्पादक चाहिएन । मलाई मासिक रुपमा पैसा दिए पुग्छ ।

संगितलाई नै सम्पादक बनाउनुस ।’ तर भिमार्जुनले त्यसो हुँदैन बरु छोडे केही छैन भन्नुभयो । म निराश भएर फर्किए । संगितलाई हुँदैन भन्छन भने । संगितले केही समय मन दुःखाए पनि रेडियो छोडने कुरा त भएन । समय क्रमसंगै भिमार्जनले पनि रेडियो छोड्नुभयो । तत्कालिन समयमा उहाँ राप्ती बबई क्याम्पसमा कार्यरत हुनुहुन्थ्यो । किनकी त्यतिबेला रेडियो आर्थिक संकटमै थियो । ब्याट्रीले काम गर्न छोडिसकेका थिए ।

त्यतिबेला ८ घन्टा देखि १२ घन्टा हुँदै १८ घन्टासम्म लाडसेडिङ थियो । जेनेटरमा तेल हालेर पनि चलाउन सकिने अवस्था भएन । लाइन आउने जाने गरिरहन्थयो । समाचार पढ्दा पढ्दै लाइन जान्थ्यो । दिनभर मेहनत गरेर समाचार बनायो साँझ ६ बजेको मूल खबरमा पढ्न नपाउँदा साह्रै दुःख लाग्ने गथ्र्यो । भिमार्जुनले राजीनाम दिएसंगै पदम केसी म्यानेजरका रुपमा आउनुभयो ।

उहाँ पनि लामो समयसम्म बस्नुभएन । फेरि म्यानेजरको आवश्यकता पर्यो । अनि मलाई म्यानेजरको अफर आयो । मैले भने म गर्न सक्दैन संगितलाई बनाउनुस । संगित रेडियोको स्टेशन म्यानेजर हुनुभयो । त्यसपछि केही समय रेडियोमा चमक आयो । रेडियोमा बीबीसीको कार्यक्रम पर्यो । केही समयले त्यसले धान्यो । तर त्यसले निरन्तर पाउन सकेन ।

संगितको पालामा रेडियोलाई व्यवस्थापन गर्ने सवालमा धेरै कामहरु पनि भए । तर आर्थिक संकटले त्यसबेलामा पनि छोडेन । समय क्रमसंगै संगित राजनीतिमा जाने तयारी भयो । २० वर्षपछि पहिलो पटक स्थानीय तहको निर्वाचन हुदै थियो । २०७४ मा । घनश्याम पाण्डे मेयरमा उठ्ने तयारी भयो । उहाँ रेडियोको अध्यक्ष हुनुहुन्थ्यो ।

संगितले तुलसीपुर ९ को वडा अध्यक्षमा टिकट पाउनुभयो । त्यसपछि उहाँ पत्रकारिता जीवबाट विश्राम लिएर राजनीतिमा जानुभयो । उहाँ जाँदा करिब ९ लाख ऋण थियो । किनकी रेडियोमा १६ वटा ब्याटी आवश्यक पर्ने । तलब त्यतिकै बाँकी थियो । त्यसको सबै अभिभारामा मेरो काँधमा पर्यो । जुन व्यक्ति सधैँ व्यवस्थापनबाट टाढा रहन चाहन्थ्यो, उसको अगाडि अब ‘गर कि मर’को अवस्था थियो । २०७४ सालदेखि म्यानेजरको जिम्मेवारी लिएर रेडियोलाई अघि बढाउने प्रयास सुरु भयो । रेडियो केही गतिमा चलिरहेको थियो ।

तर समय फेरियो । फेसबुक आयो । युट्युब आयो । टिकटक आयो । भिडियोको जमाना आयो । मानिसको हातमा रेडियोभन्दा मोबाइल बलियो बन्दै गयो । गीत युट्युबमा आउन थाले । समाचार सामाजिक सञ्जालमा आउन थाले । मनोरञ्जन टिकटकमा पुग्यो । रेडियो सुन्ने स्रोताको संख्या घट्दै गयो । स्रोताहरू घटेपछि विज्ञापनदाता पनि घट्न थाले । विज्ञापन घटेपछि आम्दानी घट्यो । आम्दानी घटेपछि आर्थिक संकट झनै गहिरियो । त्यसमाथि पुराना उपकरणहरू एकपछि अर्को बिग्रन थाले । विद्युतको उच्च भोल्टेजका कारण ट्रान्समिटर, कम्प्युटर, मिक्सर, टेलिफोन हाइब्रिडलगायतका उपकरणमा पटकपटक क्षति पुग्यो ।

एकपटक विद्युत सर्ट भएर आगलागीसमेत भयो । ब्याट्री फेर्न मात्रै लाखौँ रुपैयाँ लाग्थ्यो । ट्रान्समिटर र मिक्सर मर्मतका लागि काठमाडौं पठाउनुपर्थ्यो । एकपटक मर्मत गर्दा नै ठूलो रकम खर्च हुन्थ्यो । २०७४ देखि २०८३ सालसम्म दुईपटक ब्याट्री फेर्नुपर्‍यो । एकपटक सञ्चालक समितिका पदाधिकारीहरूले रकम उठाएर सहयोग गर्नुभयो। बाँकी रेडियोले आफैँ कमाएर तिर्‍यो । दोस्रोपटक पनि ब्याट्री गयो । रेडियोले आफैँ व्यवस्थापन गर्‍यो । अनलाइन यूपीएस बिग्रियो । नयाँ किन्नुप¥यो । मिक्सर बिग्रियो । मर्मत गर्नुपर्‍यो । तीन वर्षमै मर्मत तथा नयाँ उपकरण जडानमा करिब ११ लाख रुपैयाँ खर्च भयो ।

रेडियोको ट्रान्समिटरले त टरिगाउँदेखि भैरहवासम्म गरेर पटकपटक हवाई यात्रा ग¥यो । एकपटक ३३ सयदेखि ४२ सय रुपैयाँसम्म प्लेनभाडा मात्रै खर्च हुन्थ्यो । यता स्रोताको संख्या घटिरहेको थियो । उता उपकरणहरू बिग्रिरहेका थिए । आम्दानी घटिरहेको थियो । खर्च बढिरहेको थियो । कोभिड महामारीले झनै समस्या थप्यो । व्यवसायीहरू संकटमा परे । विज्ञापनको पैसा समयमा आएन ।

नयाँ विज्ञापन ल्याउन झनै कठिन भयो । समयले रेडियोलाई भिडियोमा जान भनिरहेको थियो । तर त्यसका लागि १०–११ लाख रुपैयाँसम्म लगानी आवश्यक थियो । रेडियो आफैँले त्यति ठूलो रकम जुटाउन सक्ने अवस्थामा थिएन । रेडियो सञ्चालन र कर्मचारीको तलबमै आम्दानी पुग्न मुस्किल थियो । यहीबीच रेडियोले आफूलाई समयअनुसार बदल्न सकेन । सञ्चालक समितिको पर्याप्त ध्यान पुग्न सकेन । समस्या थाहा नभए योजना बन्न सकेन । योजना नबनेपछि परिवर्तन गर्न सकिएन । सानो बजार । धेरै एफएम । फरक–फरक आस्था र पहिचान । व्यवसायिक विज्ञापनको बजार पनि सीमित ।

यस्तो अवस्थामा आर्थिक संकट गहिरिँदै गयो । प्रसारण समय घटाउने विषयमा पनि पटकपटक छलफल भयो । समितिलाई समस्या सुनाइयो । तर अपेक्षाअनुसार समाधान हुन सकेन । स्थानीय सरकारबाट पनि सञ्चारमाध्यमको प्रवद्र्धनमा अपेक्षित सहयोग हुन सकेन । समयअनुसार आफूलाई बदल्न नसक्दा संसारबाट डाइनोसोर लोप भएजस्तै, समयसँगै रेडियोले पनि आफूलाई बदल्न अत्यन्तै आवश्यक थियो ।

तर गहनाको रुपमा रहेको रेडियोलाई व्यवस्थित गर्ने सवालमा समितिको खासै चासो भएन । किन कि रेडियोले कमाएर दिन सकेन । कमाएर दिन नसकेपछि चासो हुने कुरा पनि भएन । संचार माध्यम भनेका कमाएर नाफा बाँड्ने साधन पनि होइनन् । एआईको युगमा परम्परागत रुपमा संचालनमा रहेको रेडियोयलाई परिवर्तन गर्न नसकेपछि पदमा बसीरहन नैतिकताले दिएन । जसका कारण स्वइच्छाले स्टेशनम्यानेजर पदबाट राजीनामा दिएर रेडियो यात्रा टुङ्गयाउने निकर्षमा पुगे ।

रेडियो प्रकृतिको जग बसाल्ने कामदेखि आजसम्म आइपुग्दा मेरो यात्रा १६ वर्ष पुगेछ । १६ वर्ष । यो कुनै सामान्य समय होइन । आजको मितिमा रेडियो प्रकृतिमा सबैभन्दा पुरानो कर्मचारी म नै हुँ । यी १६ वर्षमा मैले रेडियोलाई धेरै दिएको छु । तर रेडियोले पनि मलाई धेरै दिएको छ । सम्बन्ध दिएको छ । पहिचान दिएको छ । पत्रकारितामा अघि बढ्ने बाटो दिएको छ ।

आज म पत्रकार महासंघ दाङको उपाध्यक्षको जिम्मेवारीमा छु । जीवनमा धेरै मानिससँग सम्बन्ध जोडिएको छ । त्यसैले रेडियोप्रति मेरो गुनासो मात्रै छैन । माया पनि छ । आभार पनि छ । कृतज्ञता पनि छ । रेडियो निर्वाचनका बेला नेकपा एमालेको प्रचार प्रसारमा धेरैपटक प्रयोग भयो । धेरैका आवाज यहाँबाट सुनिए । धेरैको राजनीतिक यात्रामा रेडियो एउटा माध्यम बन्यो । तर रेडियोलाई आवश्यक परेको बेला त्यही रूपमा सम्झने र सम्हाल्ने अवस्था भने सधैँ आएन ।

मैले रेडियो बन्द भएको सन्देश दिन चाहिनँ । ट्रान्समिटर बिग्रिँदा टरिगाउँ विमानस्थलबाट दुईपटक र भैरहवाबाट एकपटक ट्रान्समिटर प्लेनमा राखेर काठमाडौं पठाएँ । दुई दिनमै मर्मत गरेर रेडियो चलाएँ । किन ? रेडियो बन्द छैन भन्ने सन्देश दिन । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ थिएन । रेडियो बाँचोस् भन्ने मात्रै थियो । आज जाने बेला एउटा पीडा भने मनमा छ । १६ वर्ष रेडियोमा बिताएँ । जाँदा पाँच रुपैयाँ थपेर दिने अवस्था त परै जाओस्, मेरो ५२ हजार रुपैयाँको श्रम र पसिना अझै त्यहीँ रोकिएको छ ।

सञ्चालक समितिले आग्रह गर्नुभयो—‘पाउनुपर्ने तलबमध्ये यति रकम छोडिदिनुस् ।’ यो व्यापार थिएन । कुनै सामान किनबेच थिएन । तर संस्थाले सहयोग मागेपछि अभिभावकलाई ‘नाइँ’ भन्न सकिनँ । मैले हुन्छ भनेँ । जीवन हो । सबै कुरा भोग्नुपर्छ । रेडियोलाई मैले मात्रै दिएको होइन । रेडियोले पनि मलाई धेरै दिएको छ । त्यसैले आज छुट्टिँदा मनमा गुनासाभन्दा सम्झना धेरै छन् ।

संस्थापक अध्यक्ष घनश्याम पाण्डेसहित रेडियो प्रकृतिलाई जन्म दिनेदेखि आजसम्म साथ दिने सबै सञ्चालक समिति, पदाधिकारी र सहकर्मीप्रति मेरो सम्मान छ । तपाईंहरूले मबाट अपेक्षा गरेअनुसार काम गर्न नसकेको भए त्यसका लागि म दुःखी छु । १६ वर्षको यात्रामा मलाई विभिन्न रूपमा सहयोग गर्ने सहकर्मी साथीहरू, रेडियो सुनेर साथ दिने स्रोताहरू, विज्ञापनदाता, शुभचिन्तक र रेडियोप्रति माया गर्ने सबैप्रति म हृदयदेखि आभारी छु । तपाईंहरूले दिएको माया र सद्भावको जति प्रशंसा गरे पनि कम हुन्छ ।

र अन्त्यमा— प्रकृति, तिमीसँग १६ वर्ष बिताएँ । तिम्रो मायाले नै आज म यहाँसम्म आइपुगेको हुँ । तिमीसँग हाँसेँ । तिमीसँग रोएँ । तिमीसँग भोकै रात बिताएँ । तिमीसँगै सपना देखेँ। तिम्रो आवाजलाई आफ्नै आवाज सम्झिएँ । तिम्रो दुःखलाई आफ्नै दुःख सम्झिएँ । तिम्रो प्रसारण रोकिँदा मेरो मुटु रोकिएजस्तो हुन्थ्यो । आज जीवनका विभिन्न कठिनाइ र बाध्यताका कारण भदौ १ गतेदेखि तिमीसँगको १६ वर्षे यात्रा बिट मारेको छु । अब म तिम्रो कार्यालयमा नहुन सक्छु । तिम्रो माइक्रोफोन अगाडि नहुन सक्छु । समाचारको कागज लिएर बिहानै दौडिँदै नआउन सक्छु । तर तिम्रो त्यो आवाज… तिम्रो लोगो… तिम्रो स्टुडियो… तिमीसँग बिताएका ती रात… भोकै बिताएका ती दिन… र तिमीसँग जोडिएका हजारौँ सम्झना… मेरो मानसपटलमा सधैँ ताजा रहनेछन् ।

यदि १६ वर्षको यात्रामा मैले कतै गल्ती गरेको छु भने माफ गर है । तिमीले मलाई धेरै कुरा सिकायौ । धेरै मानिससँग जोड्यौ । जीवनका कठिन दिनहरूमा पनि उभिन सिकायौ । त्यसैले आज छुट्टिँदा एउटा कुरा मात्रै भन्न मन लाग्छ— प्रकृति, तिमी मेरो जागिर मात्रै थिइनौ । तिमी मेरो जीवनको एउटा अध्याय थियौ । त्यो अध्याय आज सकिएको छ । तर सम्झना कहिल्यै सकिने छैन । प्रकृति… मिस यू ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।