काठमाण्डौ,१ कात्तिक । जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु–याएको छ । चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पु–याएको हो । खेतमा उत्पादन भएको धानले पुरै परिवारका लागि वर्षभर खान पुग्ने धान हात्तीले खाएको स्थानिय किसान राजकुमार चौधरीले बताउनुभयो ।
हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको बताउनुभयो । छ देखि नौको सङ्ख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पु–याएको छ । यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षति पु–याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।