मेसु मोसो प्रकरणले सम्झाएको बिगतः

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद सिंहको कार्यकक्षमै पुगेर विद्यार्थी नेता सर्जन परियारले कालोमोसो दले छन् । यो घटना हुनुहुन्थेन वा यो घटना हुने बाताबरण शृजना हुनु राम्रो होइन । म ब्यक्तिगत रुपमा डाक्टर बिनोद लाई चिन्दिन मात्रै होइन देखेको सम्म छैन । तथापि यौटा मेडिकल सुपरिटेन्डेन्ट भनौ अथवा सिंगो जनस्वास्थ्यको जिम्मेवार अभिभावक प्रति पुत्रतुल्य विद्यार्थी बाट यो दुर्ब्यबहार ले म दुखि मात्रै होइन । सोंच्न बाध्य छु । आखिर हाम्रो युवा पुस्ता किन यस्तो भयो । के संस्कार सिकाएनौ हामीले वा भनौ हामीलाई के अग्रजले किन यस्तो निर्दयी बनाए । म फेरि बिगतमा जान चाहें । मेरो क्याम्पस जीवन भनौ वा शुरुवाती राजनीतिक जीवन तर्फको सम्झना सान्दर्भिक देखियो । एसएलसी सम्म पढ्दा दैनिक चार घण्टा हिडेर एसएलसी पास गरेको हुं मैले । दाङ जिल्लाका बासिन्दालाई थाहा छ मेरो घर हेमन्तपुर बाट तुलसीपुरको महेन्द्र हाईस्कूल पैदल पुग्न कति समय लाग्छ । त्यसैले एसएलसी सम्म राजनीति र यस सम्बद्ध घटनाक्रम बारे जानकारी नै थिएन ।

एसएलसी पास गरेर काठमाडौ पढ्न गइयो । काठमाडौ मेरो लागि बिरानो थियो । त्यस्तोमा मेरा अभिभावक हुनुभो हामी भन्दा सिनियर दाई पर्सेनीका अर्जुन बिश्वकर्मा ( हाल निर्देशकः राष्ट्रिय खेलकुद परिषद) । हामी यौटै क्याम्पस पढ्ने मात्रै होइन डेरा पनि संगै बस्ने भइम । क्याम्पस पुगे पछि विद्यार्थी संगठनमा लाग्न बाध्यता जस्तै थियो । एक दिन मैले पढ्ने ताहाचल क्याम्पस (हाल काठमाडौ क्याम्पस) का स्ववियू सभापति राजेन्द्र भुजु भेट हुनुभो । दाइले परिचय गराउनु भो । मेरो भाइ शिव थापा आइकम फस्ट इएर । भुजुले हात मिलाउनु मात्रै भएन वहाँको म प्रतिको व्यबहारले म त्यसै दिन देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (एकताको पाँचौ) को कार्यकर्ता भै सकेको थाहै पाइएन । म सभापतिको पछुवा नै भएं । गाउँ बाट गएको सोझो केटो काठमाडौमा स्ववियू सभापतिले देख्ने बित्तिकै चिन्ने हात मिलाउने अनि सन्चो बिसन्चो पढाइ अप्ठ्यारो सप्ठ्यारो सोधपुछ गर्ने भए पछि के चाहियो । म वहाँको आदेशपालक नै भएं ।

क्याम्पसमा हुने अखिलका कार्यक्रम अनि अन्यत्र सहभागी हुनुपर्ने कार्यक्रममा दरो उपस्थिति जनाइयो । विद्यार्थी नेताका रौं ठाडा पार्ने भाषण अनि जनवादी गीतहरु मेरा लागि संसार चिन्ने माध्यम बने । आमा दिदीबहिनी हो र फोक्ल्याण्डको टापु बाट जस्ता गीतले अत्यन्तै उत्तेजित बनाउथे । यद्यपि यी गीतहरु मैले ओर्जिनल होइन डुप्लिकेट गायक बाट सुनेको हुँ । जेवी टुहुरेहरुलाई त पचास साल तिर चिनेको हुँ । चार छ महिना यस्ता दर्जन बढि कार्यक्रममा सहभागी र तालि पड्काउने अनि केहि पंचायत बिरोधि पर्चा बांड्ने र पप्म्लेट टाँस्ने काम गरेपछि एक हदको राजनीतिक परिक्षा उत्तीर्ण गरिएछ । एक दिन राजेन्द्र भुजुले कानमा खुसुक्क सुनाउनु भो मखनमा कार्यक्रम छ । तपाईं बिनोद ओली र डम्बर नेपाली सहभागी हुनुपर्छ । लोकेशन बताउनु भो । बिहानको क्याम्पस सकेर खाना खाइवरी हामी अर्जुन दाइलाई थाहै नदिएर निस्किम । अत्यन्तै गोपनियता कायम गर्नुपर्ने थियो । तोकिएको स्थानसम्म पुग्न बिच बिचमा अखिलका हामीलाई चिन्ने साथीहरू बसेका थिए ।

हात मिलाए पछि कानमा सुटुक्क भन्थे फलानो ठाउँमा जानुस । केहि चरण पार गरे पछि निर्धारित कोठामा पसियो । कोठा भन्नु के थियो चिसो गनाउने छिडी बल्बले नि काम नगरेर अध्याँरो । कोठामा करिव तिस जना मेरै उमेरका विद्यार्थी अनि अगाडि पट्टी हामीलाई पढाउने लेक्चर उमेरका दुइ जना अपरिचित अनि मैले चिन्ने दुईजना विद्यार्थी नेता हुनुहुन्थ्यो । निर्धारित समयमै कार्यक्रम शुरुभो । पहिला पहिला हुने कार्यक्रम खुल्ला हुन्थे वक्ताको परिचय दिईन्थ्यो त्यस दिन छड्के झोला बोकेका मास्टर जस्ताको परिचय दिइएन । अहिले पनि सम्झना छैन ति दुइ जना को होलान् । प्रदीप नेपाल, इश्वर पोख्रेल, माधव पौडेल मध्ये कोहि हुनुपर्छ । त्यो प्रशिक्षण रहेछ । बोल्ने क्रममा वक्ताले धेरै कुरा सिकाउनुभो । पंचायत ब्यबस्था, राजा तत्कालीन प्रम लोकेन्द्र बहादुर चन्द, भुमिगत गिरोह, प्रहरी सेनाको बारेमा सिकाउनुभो ।

छिन्ताङ, पिस्कर, झापाबिद्रोह मैले त्यसै दिन सुनेको हुँं । विद्यार्थी राजनीति र विद्यार्थीको भुमिका बारेमा पनि थुप्रो जानकारी पाइयो । प्रहरी प्रशासनसंग कसरी लड्ने, बच्ने, गोपनियता कसरी कायम गर्ने भन्ने बिषयमा जानकारी पाइयो । त्यसैबेला भनिएको शब्द म सम्झिन्छु । आवश्यक परे हातहतियार बन्दूक चलाउनु पर्छ । दुश्मनको टाउको छिनाल्न पनि पछि पर्नु हुन्न । न्याय र समानताको जेल नेल मात्रै होइन हाँसीहाँसी शहिद बन्न तयार हुनुपर्छ । देश र जनताको लागि परिवार त्याग्न तयार हुनुपर्छ । झोलामा हतियार बोकेर हिड्नुपर्छ । कसरी छिन्ताङ र पिस्करमा निहत्था जनता प्रहरीको ज्यादती बिरुद्ध बन्दूक र गोलिको पर्वाह नगरि लडे भनेर बर्णन गरियो । करिब तिन घण्टामा हाम्रो रगत उमाल्ने कार्यक्रम सकियो । पक्का बिद्रोही बनियो । कसैसंग नझुक्ने र अन्याय अत्याचार विरुद्ध जस्तो सुकै बलिदान दिन पनि पछि नपर्ने कसम खाइयो । यो बयालिस साल फागुन तिरको घटना थियो । मैले यो प्रसंग किन जोड्न चाहेको हुं भने निश्चित राजनीतिक ब्यबस्था परिबर्तन गर्न वा ब्यक्ति परिवर्तन गर्न युवाहरुलाई कसरी उत्तेजित पारिन्थ्यो । मेरै दाङको डुरुवा हापुर नचिनेको मलाई छिन्ताङ पिस्कर कण्ठ भो इले थामी मारिएको पिडा भो ।

यस्ता कार्यक्रम र प्रशिक्षणहरु विद्रोहका लागि पर्याप्त थिए । अहिले पनि कुनै बिरोधको कार्यक्रममा सहभागी हुँदा रत्नपार्कको रेलिङ भाँचेको लात्तिले हानेर क्याम्पस चिफको ढोका फोडेर भित्र पसेको अमुक ब्यक्तिलाइ कालोमोसो दलेर जुत्ता माला लगाएर आफु खालि खुट्टा डेरामा आएको सम्झना हुन्छ । हामीले गर्ने यस्ता क्रियाकलाप त्यस्तै प्रशिक्षणका उपज थिए । दर्जनौ विद्यार्थी संगठन थिए । सबैलाई आफ्नो संगठनले यस्तै प्रशिक्षण दिन्थ्यो होला । हामी पंचायत बिरोधि एक आपसमा लड्न पछि पर्दैनथ्यौं । अघि मैले भनि सकें हामीले ब्यबस्था परिवर्तन गर्न युवाहरूलाई अराजक बन्न सिकायौं हौसायौं । तर आफु र आफ्नो व्यबहार परिवर्तन गर्न सकेनौं । पञ्चायतका संचालकको जस्तो छवि हाम्रो आँखामा आउने गरि बताइएको थियो । ठिक त्यस्तै छवि गिरिजा,केपी, माधव नेपाल, प्रचण्ड, बाबुरामहरुको देखियो । मन्त्रीहरु, कर्मचारीहरु, प्रहरी, सेना, डाक्टर लगायत आफुलाई ठुला भनाउँदाको व्यबहार पञ्चायतकालिन मात्रै होईन राणाकालिन जस्तै छ ।

कत्ति परिवर्तन भएको छैन । यहाँ ब्यबस्था परिवर्तन संविधान परिवर्तन कानून परिवर्तन भएका छन । तर बर्ग र व्यबहार परिवर्तन भएका छैनन् एक थरि सामन्त गए अर्काथरी सामन्त आए । जनअपेक्षा पुरा गर्ने होइन आफ्नै र परिवारको भलो मात्रै सोच्ने शासक आए । मैले अलिकति फरक व्यबहार पाएका नेता कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारी मात्रै हुन । ठुला पार्टीका नेता र प्रम मध्य कमजोर र आधारभूत बर्गबाट आएका केपी र प्रचण्ड मात्रै हुन । मेरो पार्टी माले हुँदै एमाले सम्मका प्रमुखहरु सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल सामन्त परिवारकै हुन । मसालका नेता मोहन बिक्रम सिंह, कांग्रेस नेता देउवा, माओवादी नेता बिप्लव, मधेसी नेता महन्थ ठाकुर, उपेन्द्र यादब, राजेन्द्र महतों, नयाँ पार्टीका नेता रविन्द्र मिश्र मात्रै होइन अहिले सत्ता संचालक असी प्रतिशत नेता सम्पन्न परिवारका हुन ।

आफु सम्पन्न हुंदाहुदै अर्को सम्पन्नले सत्ता संचालन गरेको देख्न नसकेर बिद्रोहमा लागेका हुन । यिनले युवाहरूलाई गलत सूचना दिएर बिद्रोही बनाए । झापामा धर्मप्रसाद ढकालको टाउको गिड्ने देखि मुक्ति मास्टर लाई छ्याक छ्याक पार्ने युवाहरु त्यसबेला कुनै ठुला नेता थिएनन् । थिए त निरिह अझ भनौ तराईमा टांगा चलाउने घोडा जस्तो एकोहोरो बनाइएका विद्यार्थी युवाहरू मात्रै । मलाई लाग्दैन जनयुद्धभर प्रचण्डले कतै गोलि चलाए होलान् वा कतै लुटपाट गरे होलान् । नत बिपीले जहाज अपहरण गरे होलान् । बरु हामीलाई मखन गल्लीमा उक्साउने नेताले जस्तै कतै अंध्यारो गल्लीमा बसेर युवाहरूलाई उक्साएर बिद्रोह गर्न प्रेरित गरे होलान् । यिनले महान कार्य गर्न चुकेकै हुन । ब्यबस्था परिवर्तन पर्ने यौटा कारण दिएर बिद्रोह गर्न सिकाए पछि आफुले त्यो व्यबहार परिवर्तन गर्नु पर्दैन ।

चन्द्र शम्शेरहरुलाई कमाराले बोकेर भित्र बाहिर गराए जस्तै व्यबहार अहिलेका नेताले गर्ने । राणा र पंचले जहानिया शासन चलाएका थिए अरुलाई अवसर दिएनन् भनेर बिद्रोह गर्न सिकाउने आफुले परिवार र भाई भतिजा मात्रै हेर्ने । अनि जन्मदैनन् सर्जन परियारहरु ।अब राप्ती प्रादेशिक अस्पताल र त्यहाँको सेवा बारे कुरा गरौं । मामुली हेल्थपोस्ट, अहेव र औषधिको गुण र नाम जान्नेले राम्रो स्वास्थ्यसेवा दिएको ठाउँ हो तुलसीपुर । गिरिजा प्रसाद कोइराला प्रम भएपछि ठुलो शिक्षण अस्पताल बनाउने भनेर झुठो शिलान्यास गरेर जनताको मनोभावनासंग खेलवाड गरिएको ठाउँ हो । तर अब शासकको भर पर्दैनौ अस्पताल आफै बनाउछौ भनेर यहाँका अगुवाहरु दान उठाउन लाग्दा प्रत्येक जनताले मुठ्ठीदान गरेको ठाउँ हो । यो अस्पताल बनाउन हजारौं सर्जन परियारका अभिभावकले गांस कटाएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशामा । यद्यपि जनताले उठाएको पैसा अस्पताल चलाउन पर्याप्त थिएन तर हाम्रो भेकका सबैको मनमा छ यो अस्पताल हाम्रो निजि पैसा खर्च गरेर बनाएको हो । सम्पूर्ण स्वास्थ्यसेवा यसै अस्पताल बाट पाउनु पर्छ । ठुलो त्याग गरेर बनाएको अस्पताल बाट त्यो चाहना राख्नु स्वभाविक मात्रै होइन उचित पनि हो ।

तर अस्पताल कस्तो छ । चिकित्सकको व्यबहार कस्तो छ । त्यो हुकुम टिकाराम घनश्याम पाण्डे तुलसी पुन वा किर्ति खड्कालाई थाहा छैन । डाक्टरको गुलामी गरेर भए नि गुणस्तरीय सेवा लिन सक्नुहुन्छ । तर मलाई सोध्नुस । बुहारी सुत्केरी बनाउन गएको बेला नर्सहरुले बोलेको यहाँ उल्लेख गर्न नसकिने शव्द, अरुबेला डाक्टरहरुद्वारा बिरामीहरु प्रति गरिएको दुव्यवहारको प्रत्येक्ष साँक्षी छु । कतिपय भिडियो अडियो बनाएर राखेको छु । अस्पताल बाट पीडाले रुदै गरेको बिरामीलाई कांधमा बोकेर क्लिनिकमा उपचार गराएको छु । म आफुलाई शालिन मात्रै होइन अलिकति जान्ने बुझ्ने मात्रै होइन चाहेजति ठाउँमा कुरा पु¥याउन सक्ने मान्छु । तर म त्यो अस्पताल दर्जनौं पटक रोएर निस्केको छु ।

कति पटक रिसले कांपेर जुरुक्क उठेको छु । नेपालगंज रिफर गरेको बिरामी लाई नेपालगंज पुगेर पट्टी बांधेर मात्रै फर्केको छु । यहाँ सुत्केरी बनाईयो भने बचाउन गाह्रो हुन्छ भन्ने सुत्केरी अमिलिया नपुग्दै बाटोमा आफै बच्चा जन्माएर फर्काएको एकाध अनुभव पनि छ । नेपालगंज रिफर भएको खुट्टा भांचिएको गरिवलाई जसपुरका बैद्यले ठमठम हिड्ने बनाएको दर्जनौं उदाहरण नाम सहित दिन सक्छु । त्यो अनुभव सर्जनहरुले सुनेका वा गरेका होलान् । अरुले नजानेको बिद्या मैले जानेको मात्रै जानेको छु भनेर आफुलाई भगवान ठान्ने अरुले भगवान सरह पुज्नुपर्छ भन्ने मानसिकता पालेर बस्ने त्यो पनि गणतन्त्रमा ।

चिकित्सकीय पेशा सेवा र समर्पणको पेशा हो । त्यसैले चिकित्सकमा भगवानको रुप खोजिन्छ । अनि जब चिकित्सकको व्यबहार तदनुरुप पाउन सकिन्न अनि अनि जन्मिन्छन सर्जन परियारहरु । सर्जन परियारहरुलाई आफ्नो स्वार्थ पुरा गर्न विद्रोह गर्न सिकाइयो । यो ब्यबस्थाका बिकृति हटाउनको लागि शान्तिपूर्ण बिद्रोह मात्रै होईन आवस्यक परे हतियार चलाउन उक्साइयो । कालोमोसो मात्रै होइन टाउको छ्याकछ्याक पार्न उक्साइयो । त्यस्तै गरेर ब्यबस्था परिवर्तन गरेर आफ्नो हातमा शासन आए पछि रामराज्य बनाउनु पर्दैन । अनि के हाम्रो काम डाक्टर रिसाउछन कि भनेर हतारमा बिज्ञप्ति निकाल्ने हो । यदि अझै पनि हामीले सुधार गर्न सकेनौं भने एक वा दर्जन होइन हजारौं सर्जन परियार जन्मेको देख्छौ ।

सर्जन परियार को हुन ?
बिजौरीका चर्चित माने दमाईका नाति हुन् । इमानदार, आज्ञाकारी, मिलनसार, उच्च शिक्षित र राजनीतिक संस्कार भएका हुन । आफु सरहका साथीहरूले दलाली र बदमासी गरेर करोडौं कमाएको टुलुटुलु बसेर हेरेका सर्जन कि आमा सिलाई पेशा गर्नुहुन्छ भने स्वाभिमानी सर्जनले सानो ढेब्ली दोकान गरेर स्वाभिमान पूर्वक राजनीति मार्फत सामाजिक काम गर्दै आएका छन् । सित्तिमित्ति नरिसाउने उनले हिजो जुन व्यबहार गरे त्यो मैले बुझे अनुसार उनको ब्यक्तित्व र स्वभाव सुहाउँदो थिएन । मलाई लाग्छ त्यो लामो समयको पिडा पछि योजनाबद्द हिसाबले गरिएको कर्म हो । तर जतिसुकै पिडा भएपनि अब सर्जनहरुले त्यस्तो गर्नु हुँदैन । सर्जन भन्दा जुनियर पुस्तालाई असल बनाउन त्यतिको राजनीतिकर्मीले संयम अपनाउनु पर्छ । पुलिसले खोजेको छ रे जानुस । आफ्नो कुरा राख्नुस । आवस्यक परे सजाय पनि भोग्नुस । समस्या बाट नभाग्नुस । आवस्यक परे सर्जनहरु जनताको लागि जस्तोसुकै कठिनाइ र अपमान भोग्न तयार छन् भन्ने प्रमाणित भएको छ । कानून पालना गर्नु नागरिक कर्तव्य हो । कानून पालना गर्दैमा सानो भइन्न ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार
प्रतिक्रिया