काठमाडौं । नेपाल टेलिकमको वार्षिक आम्दानी ३.७ प्रतिशतले ब–ढे पनि खुद मुनाफा भने २ अर्ब २९ करोडले घटेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण टेलिकममा पनि प्रत्यक्ष असर परेको टेलिकमले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा घट्न गएकाले ब्याज आम्दानीमा कमी आएको टेलिकमले जनाएको छ । गत आवको कुल सेवाबापतको आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालू आवको सोही अवधिमा कुल सेवाबापतको १ अर्ब २८ करोड ३७ लाख ६९ हजार (३.७० प्रतिशत ) ले वृद्धि भई ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रुपैंयाँ आम्दानी पुगेको हो । गत आवको चौथो त्रैमासिक अवधिमा कुल सेवाबापतको आम्दानी ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रहेको थियो भने चालू आवको सोही अवधिमा कुल सेवाबापतको आयमा ६६ करोड ९० लाख ६० हजार रुपैयाँ (८.६० प्रतिशत)ले वृद्धि भई ८ अर्ब ४५ करोड २३ लाख ८० हजार रुपैयाँ रहेको छ ।
चालू आवको तेस्रो त्रैमासिक अवधिसम्ममा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ रहेकोमा चौथो त्रैमासिक अवधिमा १ अर्ब ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आवको चौथो त्रैमासिक अवधिसम्मको खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा खुद मुनाफा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।
गत वर्षको तुलनामा चालू आवमा २ अर्ब २९ करोड मुनाफामा कमी आएको छ । कोभिड महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याक उपलब्ध गरिएकाले अघिल्लो वर्षको तुलनामा डाटा प्रयोग बढे पनि आम्दानी नबढेको कारण नाफा घटेको टेलिकमले जनाएको छ ।
कोभिड–१९ को महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अत्यधिक गिरावट आएको टेलिकमले जनाएको छ । समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोर जी, एफटीटीएचजस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको छ ।





