२०८२ फाल्गुन १ गते शुक्रवार

टेलिकमद्वारा जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ

काठमाणडौ, २२ पुस । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूका लागि अनलाइन केवाईसी अपडेट प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। ग्राहकले क्युआर कोडमार्फत लिंक प्राप्त गरी आफ्ना विवरण अनलाइनमार्फत अद्यावधिक गर्न सक्ने व्यवस्था परीक्षणका रूपमा सुरु गरिएको हो।

हाल दूरसञ्चार कार्यालय, सुन्धारा, काठमाडौँबाट यसको परीक्षण शुभारम्भ गरिएको नेपाल टेलिकमले जनाएको छ। परीक्षण कार्यक्रमको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख व्यावसायिक अधिकृत मातन्छेले अनलाइन केवाईसी अपडेट सेवाले नेपाल टेलिकमका सेवालाई थप ग्राहकमैत्री बनाउने अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तै, निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न हुन सक्ने भएकाले कम्पनीको उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस कार्यप्रणाली तथा डाटा अद्यावधिक कार्यमा यस सेवाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो। नयाँ प्रणालीअनुसार हाल नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा राखिएको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन्। प्राप्त विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।

पहिलो चरणको परीक्षणमा क्युआर कोडमार्फत विवरण भर्न सकिने व्यवस्था गरिएको छ भने भविष्यमा नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपमार्फत समेत ग्राहक विवरण अद्यावधिक गर्न सकिने व्यवस्था गरिनेछ। हाल सुन्धाराबाट परीक्षण सुरु गरिएको यो सेवा सफल भएपछि क्रमशः काठमाडौँ उपत्यकाका अन्य कार्यालय तथा उपत्यका बाहिरका कार्यालयहरूमा समेत विस्तार गरिने नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले  जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया