कोरोना महामारीका कारण गाईजात्रा औपचारिकतामा मात्रै सीमित

काठमाण्डौ,३० साउन । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘कोरोना महामारीको जोखिम कायमै रहेकाले नगरपालिकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न आफ्ना नागरिकमा अनुरोध गरिएको बताउनु भएको छ । कोभिडलाई हेलचेक्य्राइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ भन्दै भीडभाड जम्मा हुने जात्रा, पर्वले सङ्क्रमण फैलिने खतरा रहने भएकाले जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो । नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया