धनुषा , ७ साउन । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित एक उद्योगमा ग्याँस लिक भएर आगलागी हुँदा तीन जना मजदुर गम्भीर घाइते भएका छन् । स्थानिय राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रा.लि. (ब्रिकेट उत्पादन हुने उद्योग) भित्र मजदुर बस्ने कोठामा आज बिहान सात बजेतिर खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा परी घाईते हुनेमा बारा प्रसौनी गाउँपालिका वडा नं ४ खुट्वा प्रसौनी बस्ने अन्दाजी २३ बर्षिय सोमराती अंसारी , सोहि ठाउँका २२ बर्षिय अब्दुल अंसारी र २५ बर्षिय धर्मराज महत्तो रहेका छन् ।
उनीहरुको शरीरको विभिन्न भागहरु जलेका छन् । आगलागीमा परी घाईते भएका तीनै जनाको प्रादेशिक अस्पताल, जनकपुरमा सामान्य उपचार पछि थप उपचारका लागी बर्न अस्पताल किर्तिपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । घटना भएको सुचना आए लगतै इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली पुगेर आगो नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।





