२०८३ साउन ७ गते बिहिवार

नेपाल कम्युनिष्ट पाटीका महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसमा तुलसीपुरमा रक्तदान

तुलसीपुर,७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा आज विहिवार दाङको तुलसीपुरमा रक्तदान तथा माल्यार्पण कार्यक्रम सम्पन्न गरिएको छ। नेकपा -एमाले) दाङ क्षेत्र नंम्वर ३ क्षेत्रीय समन्वय कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा वक्ताहरूले नेपालको लोकतन्त्रको सुदृढीकरण, जनताको अधिकारको संरक्षण तथा जनजीविकालाई सुनिश्चित, व्यवस्थित र सहज बनाउन पुष्पलालले अघि सारेका कम्युनिस्ट विचार र नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक र आवश्यक रहेको बताउनुभयो ।

क्षेत्रिय संयोजक मेघराज भुसालको अध्यक्षता तथा नेकपा -एमाले) केन्द्रीय सल्लाहकार परिषद्का सदस्य राममणि नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे र कोमल वली, प्रदेश कमिटी सदस्यहरू हुकुमबहादुर बस्नेत, विनोद शर्मा, सीमा न्यौपाने, मिलन चौधरी लगायत अन्य प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी सहित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सोही अवसरमा तुलसीपुरस्थित पुष्पलाल पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको थियो। माल्यार्पणपछि नेताहरूले पुष्पलालले नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्न, लोकतान्त्रिक आन्दोलनलाई वैचारिक दिशा दिन तथा गणतन्त्र स्थापनाको आधार निर्माण गर्न पुर्‍याएको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँका विचार र आदर्श आज पनि उत्तिकै प्रेरणादायी रहेको बताएका थिए। कार्यक्रमको सञ्चालन क्षेत्रीय समन्वय कमिटीका सचिव टेकबहादुर ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया