सल्यानमा ग्रामिण क्षेत्रको एम्बुलेन्स “स्टेचर”

बुद्धि पुन, सल्यान २६ भदौ । सल्यानको जिमालीमा रहेको जिमाली स्वास्थ्य चौकीले साबिक नौँ वटै वडामा स्टेचर बितरण गरेको छ । साबिक जिमाली गाबिसका नौँ वटा वडाहरुमा स्टेचर बितरण गरिएको हो । जिमाली गाबिसका कुनै पनि वडामा स्टेचर नभएको र बिरामीहरुलाई डोकोमा बोकेर स्वास्थ्य चौकी सम्म ल्याउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै जिमाली स्वास्थ्य चौकीले नै पहिलो पटक स्टेचर खरिद गरेर बितरण गरेको हो ।

रेडियो राप्ती सल्यानले स्वास्थ्य चौकी जिमालीमा गरेको रेडियो बहस कार्यक्रममा सो स्टेचर बितरण गरिएको हो । कुनै पनि वडाहरुमा स्टेचर नभएको र बिरामीहरुलाई डोकोमा बोकर स्वास्थ्य चौकी सम्म लैजानु पर्ने समस्यालाई ध्यानमा राखेर स्वास्थ्य चौकी स्रोतले नै स्टेचर खरिद गरेर बितरण गरेको सोही रेडियो बहस कार्यक्रममा स्वास्थ्य चौकी जिमालीका ईन्चार्ज लोक बहादुर बस्नेतले बताउनु भयो ।

“पहिले यस जिमालीका कुनै पनि वडाहरुमा स्टेचर थिएन, बिरामीहरुलाई सास्ती हुने गरेको थियो,” उहाँले भन्नु भयो, “हामीले पहिलो पटक स्टेचर खरिद गरेर बितरण गरेका छौँ, अबका दिनहरुमा बिरामीहरुले सास्ती पाउनु पर्दैन् ।” उहाँले स्टेचर बितरण पश्चात स्वास्थ्य चौकीमा आउने बिरामीहरुको संख्यामा पनि बृद्धि हुने बताउनु भयो । “स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाहरुको संख्या कम थियो, अब स्टेचर बितरण पश्चात सहजै रुपमा गर्भबती महिलाहरुलाई स्टेचरमा बोकेर पनि स्वास्थ्य चौकी सम्ममा ल्याउन सकिने भयो,” उहाँले भन्नु भयो ।

ईन्चार्ज बस्नेतले स्टेचर सँगै गाउँघर क्लिनिकमा औषधि राख्नको लागी ३ वटा बाकस, ईएन्टी सेट १ थान, ड्रेसिङ सेट ३ थान, ग्याँस सिलिण्डर, ग्याँस चुलो लगाएतका बिभिन्न सामाग्रीहरु पनि खरिद गरिएको बताउनु भयो ।

साबिक जिमाली गाबिस वडा न.ं ४ कि महिला स्वास्थ्य स्वयमसेबिका अनिता बिकले स्टेचर पाए पछि बिरामीहरुलाई स्वास्थ्य चौकी सम्म लैजान सजिलो हुने बताउनु भयो । “पहिले यस वडामा स्टेचर थिएन्, बिरामीहरुलाई डोकोमा बोकर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता थियो,” उहाँले भन्नु भयो, “अहिले स्टेचर पाए पछि सहजता भएको छ ।”

स्थानिय गिता जैसीले ग्रामिण क्षेत्रको एम्बुलेन्स भनेर चिनिने स्टेचर आफ्नै वडामा भए पछि सजिलो हुने बताउनु भयो । “यस भेग सडक सञ्जालमा जोडिएको छ, तर बर्षातका कारण सडक खाल्डाखुल्डी तथा पहिरो गएको छ, यहाँ एम्बुलेन्स ल्याउन सकिदैँन्,” उहाँले भन्नु भयो, “अहिले बिरामी बोक्ने एम्बुलेन्सको ठाँउमा स्टेचर प्रयोग गरेका छौँ ।” उहाँले स्टेचर गाँउमा हुदाँ बिरामीलाई छिटो छरितो स्वास्थ्य चौकी सम्म लैजान सजिलो हुने बताउनु भयो ।

प्रकाशित मिति : २०७४ भाद्र २६ गते सोमवार
प्रतिक्रिया