२०८३ कार्तिक ११ गते बुधवार

उद्यम श्रृजनामा गाउँपालिकाको जोड, उद्यमीलाई प्रविधि हस्तान्तरण

सल्यान, २१ असार । व्यवसायमा सहयोग पुर्याउने उद्देश्य सहित सल्यानमा लघु उद्यमीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले तरकारी खेति तथा बाख्रा पालन गरिरहेका लघु उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको हो ।गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सोमबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले ब्यवशायीक तरकारी खेति गरिरहेका २५ जना लघु उद्यमीहरुलाई खेतिका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गर्नुभयो ।

थोपा सिंचाई प्रविधि, स्प्रे टंकी, पञ्जा, मास्क, एप्रोन तथा बुट हस्तान्तरण गरिएको हो । प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएको सामग्रीलाई आफैले किनेको सोँचेर उपयोग गर्न आग्रह गर्नुभयो । पालिकालाई समृद्धि तर्फ लैजान कृषि क्षेत्रको विकासमा सेनले जोड दिनुभयो । गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालीम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताउनुभयो । यसबाट गाउँपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौँतारिँदै हिँड्नु नपर्ने उहाले बताउनुभयो ।

यस्तै कपुरकोट गाउँपालिकामा बाख्रापालन ब्यवशाय गरिरहेका ४२ जना उद्यमीलाई खोर निर्माणका लागि जस्ता पाता पनि प्रदान गरिएको छ । प्रति उद्यमी १ बण्डलका दरले ४२ जनालाई जस्ता पाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । गाउँपालिकामा दर्ता भएका लघु उद्यमीहरुलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरु वितरण गरिएको उहाले बताउनुभयो ।संयोजक शाहीका अनुसार कपुरकोटका ६ वटै वडाहरुमा सिप विकास तालिम पनि सञ्चालन गरिएको छ । साबुन बनाउने तालिम, पशुपालन तालिम, च्याउ खेती तालिम तथा च्याउको विउ वितरण, कटाई सिलाई तालिम संगै मेसिन वितरण जस्ता कार्यक्रमहरु चालु आर्थिक वर्षमा सम्पन्न गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।