२०८३ बैशाख ११ गते शुक्रवार

गहिराईमा पुगेर घटनाको अनुसन्धान गर

गएको बैशाख १८ गते शनिवार साँझ तुलसीपुर ६ स्याउली बजार नजिकै रोकी राखेको गाडी भित्र ६ देखी ९ बर्ष उमेर समुहका तिन जना बालक मृत भेटिए । उक्त घटनाले आम नागरिकलाई दुखी बनाएको छ । एकै ठाउँ अबोध बालकहरु मृत अवस्थामा फेला पर्दा जो सुकै झसङग बनायो । हुनत तुलसीपुर क्षेत्रमा यस अघि विभिन्न अपराधिक घटना हुने गरेका छन् । तर पनि यसरी तिन वालक एकै स्थानमा मृत भेटिएको घटना रहस्यमय बनेको छ । यद्यपी घटनाको अहिले अनुसन्धान जारी छ । भारतिय नम्वर प्लेड भएको गाडी चार महिना देखी पार्किङ गरी राखेको गाडी भित्र ती बालकहरु मृत भेटिए पछि अहिले अनेक थरीका कुराहरु चलिरहेका छन् ।

पिडित पक्षहरुले बालकहरुको योजनाबद्ध तरिकाले हत्या नै गरीएको हो भनि दावी गरेका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषि पत्ता नलाग्दा सम्म शव नबुझने भन्दै पाँच दिन वितिसक्दा पनि शव बुझन मानेका छैनन । हत्या नै भन्ने हो भने मृतक बालकहरुको शरीरमा कुनै चोट घाउँ समेत भएको पोष्टम मार्टम रिपोटमा देखीएको छैन ।
अब भिसेराको रिपोट आउन बाँकी रहेको छ । बैशाख १६ गते घरबाटै हराएका उनीहरु घर देखी झन्डै डेढ÷दुई किलोमिटर दक्षिण स्याउली बजार नजिकै मृत भेटिए ।

उनीहरुको कसरी मृत्यु भयो भन्ने कुरा रहस्यमय छ । सर्वप्रथम गाडी किन त्यहा लामो समय सम्म राखेको भन्ने धेरैको प्रश्न छ । त्यसमा पनि भारतिय नम्वर प्लेडको गाडी हुदा संका बढि छ । सवै लकगरी राखेको गाडी भित्र उनीहरु कसरी पसे, कसरी गाडीको लाईट एकाएक बल्यो, गाडीको चाँवी किन मिलेन, शव यति चाडै किन सड्यो, ती बालक अर्धनग्न कसरी भए,सिट माथी र सिट मुनि कसरी भए ,गाडीको कुनै तोडफोड भएन, उनीहरुको शब निकाल्नलाई डेढ ÷दुई घण्टा समय लाग्यो, पोष्ट मार्टम तुलसीपुरका चिकित्सकले नगरी बाहिरबाट किन बोलाईयो ,घटना स्थलमा सन्चारकर्मीहरुलाई फोटो खिच्न किन दिईएन लगाएका थुप्रै कारणले गर्दा घटना शंकास्पद र रहस्यमय बनेको छ ।

त्यसकारण घटनाको सत्यतथ्य छानविन गर्न गहिराईमा पुगेर अनुसन्धन गर्न जरुरी छ । घटनाको बारेमा अनेक थरीका प्रश्न उब्जिएको हुदा यसलाई मेटाउनका लागी कसैको दवाव र प्रभावमा नपरी बास्तविक धरातलमा पुगेर अध्ययन अनुसन्धान गरी सत्यतथ्य कुरालाई बाहिर सार्वजनिक गर्न जरुरी छ । ताकि पिडितलाई न्यायको महसुस होस् र दोषीलाई कडा कारवाही गर्न सकेमा आगामी दिनमा हुने यस्ता अपराधिक गतिविधिमा केहि कमी आउन सक्दछ ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया