२०८३ असार ११ गते बिहिवार

दाङको दशकौँ पुरानो सपना पूरा हुने संकेत

तुलसीपुर (दाङ), ११ असार । दाङको तुलसीपुरस्थित ऐतिहासिक टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि संघीय सरकारले आर्थिक वर्ष २०८३÷८४ मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार विमानस्थलको १५ सय मिटर धावनमार्ग विस्तार तथा पूर्वाधार सुधारका लागि उक्त रकम छुट्याइएको हो ।

टरिगाउँ विमानस्थलका लागि एकैपटक यति ठूलो बजेट विनियोजन भएको यो पहिलोपटक हो । वर्षौँदेखि बजेट भाषणमा विमानस्थल विस्तारको चर्चा हुने गरे पनि पर्याप्त रकम अभावका कारण योजना कार्यान्वयनमा जान सकेको थिएन । यसपटक भने बजेट सुनिश्चित भएसँगै दाङबासीमा नयाँ आशा जागेको छ । हाल टरिगाउँ विमानस्थलको धावनमार्ग करिब ७५० मिटर मात्र रहेकाले ठूला जहाज सञ्चालन सम्भव छैन। अहिले १९ सिटे ट्विनअटर विमानले सीमित उडान गर्दै आएको भए पनि नियमित सेवा सञ्चालन हुन सकेको छैन । धावनमार्ग विस्तार गरी करिब १,५०० मिटर पु¥याउन सकिए ७२ सिट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

यात्रुका लागि सहजता, क्षेत्रीय विकासमा टेवा
टरिगाउँ विमानस्थलमा नियमित र ठूला विमान सञ्चालन हुन सकेमा दाङसहित मध्यपश्चिम क्षेत्रका यात्रुलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । हाल हवाई यात्रा गर्नुपर्ने अधिकांश यात्रु नेपालगञ्ज वा भैरहवा पुग्न बाध्य छन् । विमानस्थल विस्तारपछि समय, खर्च र यात्राको झन्झट कम हुने स्थानीयको अपेक्षा छ । २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल देशका पुराना विमानस्थलमध्ये एक हो । कुनै समय नेपालगञ्ज–टरिगाउँ–चौरजहारी हुँदै काठमाडौंसम्म उडान सञ्चालन हुने गरेको इतिहास बोकेको यो विमानस्थल पछिल्ला वर्षहरूमा भने अपेक्षित विकासबाट वञ्चित रहँदै आएको थियो ।

आशंकाबीच आएको बजेटले बढायो उत्साह
गएको जेठ १८ गते दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले अर्थमन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको दाबी गर्नुभएको थियो । रातो किताब सार्वजनिक हुनुअघि आएको उक्त जानकारीप्रति धेरैले शंका व्यक्त गरेका थिए । दाङ क्षेत्र नम्बर २ का सांसद विपिनकुमार आचार्यले समेत बजेटको आधिकारिक विवरण नआउँदासम्म हतारमा निष्कर्ष निकाल्न नहुने प्रतिक्रिया दिनुभएको थियो ।

विगतमा पनि विभिन्न सरकार र नेताहरूले विमानस्थल विस्तारको आश्वासन दिएर बजेट सुनिश्चित गर्न नसकेको अनुभवका कारण स्थानीय नागरिक विश्वस्त हुन सकेका थिएनन् । तर मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रममार्फत २५ करोड रुपैयाँ विनियोजन भएको पुष्टि भएपछि दाङबासीको दशकौँ पुरानो अपेक्षाले मूर्त रूप लिने संकेत देखिएको छ ।

यसैबीच बजेट विनियोजनपछि सांसद सुवेदीले टरिगाउँ विमानस्थल अब नयाँ चरणमा प्रवेश गरेको बताएका बताउनु भएको छ । ‘धावनमार्ग विस्तारसँगै तुलसीपुरबाट ठूला विमान सञ्चालन हुने बाटो खुल्नेछ, जसले दाङको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना गर्नेछ ।’ सुवेदीले भन्नुभयो ।

वर्षौँदेखि चर्चा मात्र सीमित रहेको टरिगाउँ विमानस्थल विस्तारको योजना यसपटक बजेटसहित अघि बढेपछि दाङबासीले अब वास्तविक कार्यान्वयनको प्रतीक्षा गरेका छन । यदि योजना समयमै सम्पन्न भयो भने टरिगाउँ विमानस्थलले केवल आकाशमा जहाज मात्र उडाउने छैन, दाङको विकास र समृद्धिका नयाँ सपनालाई समेत उडान दिनेछ ।

यस्तो थियो सांसद कमल सुवेदीलको स्टाटस

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया