तुलसीपुरका किसानहरुलाई कृषि आधुनिक सामग्री वितरण

तुलसीपुर, १३ चैत । तुलसीपुरका कृषकहरुलाई कृषि उपकरणहरु वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखा तुलसीपुरको बार्षिक स्वीकृती कार्यक्रम अनुसार तुलसीपुरका व्यवसायिक कृषकहरुलाई पचास प्रतिशत सहुलियतमा विद्युतिय कृषि सामग्रीहरु वितरण गरिएको छ ।

कार्यालयले एक कार्यक्रमको आयोजना गरी तुलसीपुर क्षेत्रका १८ जना किसानलाई पचास प्रतिशत सहुलियतमा कृषि सामग्री वितरण गरिएको हो । शाखा प्रमुख सुवाश आचार्यको अध्यक्षता तथा कार्यवाहक नगरप्रमुख माया शर्मा आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । किसानहरुको निवेदनको आधारमा छनोट गरी चार जना किसानलाई दाना कुट्ने मेसीन (ग्राण्डर)प्रति किसानका दरले , दश जनालाई घाँस काट्ने मेसिन (च्याफकटर) प्रति किसानका दरले र मासु तथा दुध चिस्यानका लागी डिफ्रिज चार जना किसानलाई वितरण गरिएको हो ।

शाखा प्रमुख आचार्यका अनुसार च्याफकटरको मुल्य ३५ हजार ४५० रुपैया मध्ये पचास प्रतिशत अनुदानमा किसानको १७,७२५ लगानी रहेको छ । यस्तैगरी ग्राण्डर मेसिनको खरिद मुल्य ३९ हजार रुपैया रहेकोमा किसानले पचास प्रतिशत लगानी गर्दा १९ हजार ५ सय रुपैया तिर्नु परेको छ । यस्तै डिफ्रिजको खरिद मुल्य तिन थरीको रहेको छ । जसमा ३५ हजार ३०, ४० हजार २ र ४५ हजार रुपैया मध्ये यसमा किसानको पचास प्रतिशत लगानी रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया