भैसाही नाकामा मौवाको बोटबाटै टेलिफोन सेवा

दाङ, १९ मंसिर / मौवाको बोटमा काठको टेबल झुन्डिइएको छ । टेबल माथि स्काई सेटको टेलिफोन राखिएको छ । उक्त टेलिफोनको नम्बर हो, ९७४८५४२६१९, जुन सेटलाई घाम पानिबाट जोगाउन माथिबाट छाता झुण्डाइएको छ । यो दृश्य सजिलोसंग देख्न सकिन्छ, दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी पूर्णबहादुर रोकाको घरमा । घरको छेवैमा मौवाको रुख छ उक्त रुखमा झुण्डाइएको टेबल माथि स्काई सेटको टेलिफोन राखिएको हो । भारतसंग जोडिएको दाङको नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा स्थानिय नाकाबासीहरुले गुनासो पोख्ने गरेका छन् । नाकामा सञ्चार सेवा नहुँदा सिमा क्षेत्रका अधिकांश सिमा चौकी र वि.ओ.पिहरुका प्रहरीले सेटमार्फत सूचनाा आदाप्रदान गर्न समस्या परेको बताउने गरेका हुन् ।

नाकामा सञ्चारको सुविधा नहुदा बाध्यताले स्काई सेट प्रयोग गर्नु परेको स्थानीय भैसाही नाका निवासी पूर्णबहादुर रोकाले बताउनुभयो । मौवाको बोटमा दशवर्ष देखि स्काई सेट जडान गरि गाउँका स्थानीयलाई निशुल्क टेलिफोन सेवा दिदै आएको उहाँको भनाइ छ । सञ्चारको सुविधान नहुँदा घरमा प्रयोग गर्नको लागि जडान गरिएको उक्त फोन गाउँका करिब दुईसय पचास घरधुरी संख्याले प्रयोग गर्दै आउनु भएको छ, पूर्णबहादुर रोकाले भन्नुभयो,–। ‘नाकामा सञ्चारको सुविधा नभएपछि घरमा स्काईको टेलिफोन सेवा जडान गरेको हुँ । अहिले समग्र गाउँका स्थानीयले उक्त टेलिफोन सेवा निशुल्क प्रयोग गर्दै आउनु भएको छ । यो पनि कहिले टावर टिप्छ कहिले टिप्दैन ।’

‘मौवाको बोटमा स्काई सेट झुण्डाइएको दशवर्ष पुराभयो । अहिलेसम्म तिनवटा स्काईको सेट फेरबदल गरेको छु । यहि फोनबाट भैसाहीँका स्थानीयले निशुल्क टेलिफोन सेवा लिइरहेका छन् । निशुल्क टेलिफोन सेवा लिन पाउँदा स्थानीयले खुसि व्यक्त गर्छन् । गाउँमा सञ्चारको सुविधा नहुदा स्काई फोन सेवा प्रयोग गर्नु परेको हो ।’ ‘यो नम्बरमा स्वदेश तथा विदेशबाट फोन आउछ । विद्यालय, स्वास्थ्य चौकि, गाउँपालिकाको, वडाको सबै काम यहि फोनबाट गरिन्छ । दैनिकी कामको आवश्यकता अनुसार पन्ध्र देखि बीस जनाले निशुल्क टेलिफोन सेवा लिइरहेको छन् ।

गाउँमा सहकार्य गर्दा स्थानीयहरूले खुसि व्यक्त गर्छन्, रोकाले भन्नुभयो । ‘स्थानीयको फोन आएपछि गाउँमा गुहार्न जान्छु । कसैले फोनमा बोलाइदिनु एकछिनमा फेरि फोन गर्छु भन्नुहुन्छ । घरमै फोन आएको छ भनेर छिमेकीलाइ बोलाउन हत्तपत्त फोन गर्न आउनु हुन्छ ।’ यता भारतसंग जोडिएको अधिकांश नाका क्षेत्रमा अझै सञ्चारको सेवा पुग्न सकेको छैन । सञ्चारको सेवा उपलब्ध नहुँदा नाकाबासीले सास्ती खेप्नु परेको हो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया