तुलसीपुर उपमहानगरको अनुरोध, घरमै तीज मनाउनुहोस्

तुलसीपुर, ५ भदौ ।

तुलसीपुर उपमहानगरपालिका कार्यालयले सार्वजनिक अपील जारी गरेर घरमै परिवारका साथमा तीज पर्व मनाउँन सम्पूर्ण नगरबासीलाई अनुरोध गरेको छ । नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले जारी गरेको संयुक्त अपीलमा कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरेर घरमै परिवारसँग मनाउन उल्लेख गरिएको छ ।

“कोरोना महामारीको संक्रमण फैलनबाट रोक्नका लागि सामुहिकरुपमा जमघट हुने, नाँचगान गर्ने लगायतका कार्य नगरिदिनुहुन अनुरोध छ ” अपीलमा भनिएको छ । कोरोना संक्रमणका दृष्टिले तुलसीपुरमा चिन्ताजनक अवस्था नभएको उल्लेख गर्दै यसलाई फैलिन नदिनु सबैको दायित्व भएको समेत जानकारी गराईएको छ ।

मठमन्दिरमा गएर भिडभाड गर्ने, टोल छिमेकमा सामुहिक नाँचगान गर्ने नगर्नु र नगराउँनुहुन समेत सबैका अनुरोध गरिएको छ । सामाजिक सद्भाव कायम गर्नका लागि मनाईने तीज पर्वले सम्पूर्ण नगरबासी दिदीबहिनीहरुमा उत्साहको सञ्चार गरोस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया