बिर्सदै जान्छन कि भनेका मेरा बासंगका यादहरु झन बढि सम्झिने गरेको छु । म वच्चा छँदा मेरा बा जवान हुनुहन्थ्यो । त्यो बेला सोध्ने गर्थे बा म तपाई जत्रै ठुलो कहिले हुन्छु ? तर म अहिले उति बेलाका बा जस्तै जवान हुँदा मेरा बा सदाका लागी बिदा लिईसक्नु भएको छ । सम्झन्छु म उतिबेला मोटरगाडी नहुँदा मामाघर जाने बेलामा म हिड्न नसकि बाले काँधमा राखि मामाघर लग्ने गरेको । अनि मामाघर हजुरबुबाले मलाई
जिस्काई बाबु कसरी आईस त भनि सोध्दा बाजे म त बाको काँधमा चढी हिड्दै आए भनि फुर्ति लगाउदा ! मेरा बा मन खोलि हाँस्नु भएको थियो । कुनै दिन स्कुल नगई साथिहरू संग घुम्न गएर बेलुका घर फर्केपछि बा मसंग रिसाई दुई चार लाठि मलाई पिटेर गाली गर्दा म रुन्थे घर तिर नगई रोएरै बटोमै रुकि बस्थे । अनि बाले आफ्नो हातमा भएको लाठि फालि मेरो सामु आई मेरो टाउको माथि हात राखि सुम्सुम्याई धेरै लखर लखरघुम्नु, डुल्नु हुंदैन धेरै पढि ज्ञानी हुनुपर्छ भनि सम्झाउनु हुन्थ्यो ।
निम्न स्थरको नोकरी गर्नुहुने मेरा बा सधै दुई र पाँच रुपैयाँको नोट दिई स्कुल जा भन्ने मेरा बा आफ्नो मासिक तलब आउँदाको दिन बीस रुपैंयाको नोट दिनुहुन्थ्यो । अनि म स्कुल गई उति बेलामा चलेको ल्याक्टो चकलेट, नम्किन र मिठाई किनेर सबै साथिहरुलाई खुवाउथे अनि आफु पनि खान्थे ।
बाको थोरै तलबले बहिनी र मलाई स्कुल पढ्न पठाउनु भएको थियो । अरु साथि भन्दा पनि बढी पढ्न भन्नु हुन्थ्यो । आजभोली आमाले भन्ने गर्नुहुन्छ, मप्रति बा बढी चिन्तित हुनुहुन्थ्यो रे ! आमा संग मेरो भविष्यको बारेमा कुरा गर्नुहुन्थ्यो रे ! मलाई सम्झना छ बा मोजामा थोत्रा कपडा कोचेर बल बनाईदिएको । अनि बा, म र अन्य साथिहरु संग अश्वारा स्कुलको चौरमा संगै खेलेको । साथि भन्दा पनि कम हुदैन्थ्यो बासंग कतै घुम्न वा खेल्न जाँदा । सपना जस्तो लाग्छ बासंग बिताएका ति दिनहरु, बा फेरी फर्कि आउनु होला र संगै खेलौंला झै लाग्छ ।
एक दिन अचानक बा बिरामी पर्दा म सानै थिए । स्थानिय तुलसिपुरका कुनै अस्पतालमा चेकजाँच हुन नसक्दा आमाको साथमा काठमाण्डौ उपचार गर्न पठाई घरमा एक्लै बहिनीलाई खाना नास्ता बनाई आफु पनि खाई स्कुल जाने आउने गर्थे । त्यतिबेला धेरै गार्हो पर्यो दुई महिना, बहिनीलाई सम्झाउनै गार्हो हुन्थ्यो सानै थिई बा(आमालई मात्र खोज्थी, अनि कहिले आउनुहुन्छ भनेर रुने गर्थी ।
यो लेखिरहँदा मलाई मन थाम्न गार्हो भएको छ । दुई महिनाको बाको उपचार पश्चात आमा संग घर फर्किने थाहा पाउदा बहिनी र म स्कुल नै गएका थिएनौ । हामी निकै खुशी थियौ तर त्यो खुशी धेरै दिन टिकेन, बा पुनः तिन चार महिनापछि बिरामी पर्नु भयो ! निकै गार्हो महसुस गरेको जस्तो गर्नु भाको थियो बा ले ! तपाईंलाई गाह्रो भो बा भनि सोध्दा (हाम्रो अगाडी सकि नसकि मुस्कुराउनु हुन्थ्यो अनि मलाई केहीपनी भाको छैन भनेर फुर्ति दिनुहुन्थ्यो ।
काठमाण्डौमा पनि उपचार सम्भव हुन नसक्दा आमाले फेरी बालाई उपचारको लागी भारतको लखनउ लिएर जानुभयो । बाका अन्तिम दिनहरुमा केही दिन म उहाँको साथमा थिएन । चाँडै उपाचार गरी निको भएर आउँछु भनि हामिलाई आश्वासन दिएर जानुभएका बा हामीसंग कहिल्यै नबोल्ने गरी प्लाष्टिकमा बेरिएर फर्किनु भयो । बच्चा छदाँ सधै मलाई काँधमा राखि यता उता लैजाने ल्याउने गर्ने मेरा बालाई काँधमा हाल्ने दिन त मेरो पनि आयो तर फेरि कहिल्यै घरमा नल्याउने गरि काँधमा बोकेर लगि छोडेर आए ।
अहिले हाम्रो साथमा आमा हुँदा पनि म यो दुनियामा एक्लो छु कि भनि महसुस गरेको छु बा ! कसैले बाबु छोरा भनि बोलाएको सुन्दा मेरै बा ले बोलाउनु भयो कि जस्तो लाग्छ । यता उता हेर्छु अनि सम्झन्छु मेरा बा हामिहरुलाई छोडेर गएको नि बर्षौ पो भैसकेछ । अनि आफ्नो मनलाई भारी बनाई आफै सम्झाउँछु ।
तर विडम्बना बा तपाई हामि भन्दा धैरै टाढा जानुभएकोले अब चाहेर पनि कहिल्यै बोलाउन सक्दैन । चाहेर पनि फेरी संगै घुम्न र खेल्न सक्दैन ।
मेरा बा कुनै नाम चलेका वा चर्चित व्यक्ति हुनुहुन्थेन । एक सामान्य नागरिक हुनुहुन्थ्यो । एउटा छोराको लागी बा सबैथोक हुन्छ । बा बिनाको संसार साह्रै अँध्यारो र मुस्किल हुन्छ । म ठुलो हुने र बालाई खुशि दिने दिने मेरो सपना अधुरो नै रह्यो ।






