अबरुद्ध टेलिफोन सेवा १५ घन्टापछि सुचारु

तुलसीपुर । अबरुद्ध भएको नेपाल टेलिकमका सबै सेवाहरु करिब १५ घन्टापछि सुचारु भएको छ । घोराही–लमही सडक खण्डको चौपट्टाको जंगलमा जलेको एडिएसएस अप्टिकल फाईबर मर्मतपछि सेवा सुचारु भएको नेपाल टेलिकम तुलसीपुरका इन्जिनियर सुरेश भण्डारीले जानकारी दिए ।

११ हजार भोल्टेजको हाइटेन्सन लाइनको विद्युत पोलमा रहेको अप्टिकल फाइबर जलेका कारण शनिबार राति १० बजेदेखि अबरुद्ध भएको सेवा आइतबार दिउसो साढे तीन बजेदेखि सुचारु भएको भण्डारीले जानकारी दिए ।मर्मत कार्यमा ७ जना प्राविधिकको टोली खटेको थियो ।

अप्टिकल फाइबर जलेका कारण दाङ सहित सल्यान, रुकुम र जाजरकोटका करिब ५ लाख ग्राहकहरु सेवाबाट बन्चित भएको र करिब ६ करोड राजश्व गुमेको टेलिकमले जनाएको छ । अप्टिकल फाइबर जल्दा टेलिकमबाट प्रवाह भएका लिफोन, मोबाईल, नेट, इन्टरनेट लगाएतका सबै सेवा ठप्प भएका थिए ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया