हे नेकपाका महामानव ! सकिने कि मिल्ने ?

हे सत्तारूढ दल नेकपाका महामानव हो ! कोरोनाको भयानक संकटले जनता त्राहिमाम् छन् । विनाशकारी भूकम्पका कारण जनताको मनमा लागेका घाउका खाटाहरू पूर्ण रूपमा सन्चो भइसकेको छैन । अहिले फेरि बाढीपहिरोको विनाशलीला सुरु भइसकेको छ । जनता भोकभोकै मर्नुपर्ने स्थिति आउन थालिसकेको छ । तर पनि तिमीहरू भने सत्तालाई सिनोमा रूपान्तरण गरी भुस्याहा कुकुर जसरी लुछाचुड गर्नमा नै व्यस्त छौ । कोरोना कहर सुरु भएसँगै जनताको घरदैलोमा कतिपटक पुग्यौ महामानव हो ? जनताको चहराइरहेको घाउमा कतिपटक मलमपानी लगाउन पुग्यौ ? तिमीहरूसँग जवाफ छैन । तिमीहरू त खालि सत्तालाई नै एकलव्य दृष्टि बनाएर लुटको संसार स्थापना गर्न हिँडिरहेका छौ । काठमाडौंका कंक्रिट महलमा बसेर काला षड्यन्त्र बुन्दै आफ्नैलाई निमोठ्ने, उचाल्ने, थेचार्ने, पछार्ने र ध्वस्त पार्ने घृणित कुकर्म गरिरहँदा चेत गुमाइसकेका छौ ।

Advertisement

त्यसैले, तिमीहरूले थाहा पाउन छोडिसक्यौ कि तिम्रो दल नेकपा जनताको मनबाट फाट्न थालिसकेको छ । सम्भवतः यो घृणित खेललाई तत्काल बन्द गरी जनताको घरदैलोमा पुग्न सकेनौ भने नेकपा भन्ने दल इतिहासको पानामा सीमित हुने निश्चित छ । स्थायी कमिटी र सचिवालयका महानमानवले प्रस्ट बुझ्नुपर्छ, यतिखेर सिंगो देश रोइरहेको छ, जनता रोइरहेका छन् । विभिन्न बहानामा देशको स्वाभिमान र स्वतन्त्रतामाथि धावा बोल्ने प्रयास भइरहेको छ । विस्तारवादी शक्तिले फँडा उठाउने प्रयास गरिरहेका छन् । यी कुनै कुराको मतलब छैन । तर, नेकपाका महान् नेता खालि म प्रधानमन्त्री, म राष्ट्रपति, म मन्त्री बन्छु र देखाइदिन्छु् भन्ने कुकृत्यमा लागेर नै कलुषित सपना बुनिरहेका छन् ।

Advertisement

तर, विचरालाई के थाहा यस्तै रबैया देखाइरहे भने अब हुने निर्वाचनमा रछ्यानमा फालिन्छु र त्यो कुर्सी सदाका लागि विच्छेद हुन्छ भन्ने ? जनताको मन फाट्यो भने के हुन्छ ? कम्युनिस्ट पार्टीका नेतालाई बुझाइरहन नपर्ला । स्थायी कमिटी तथा केन्द्रीय कमिटीका माननीय सदस्य र सांसदहरू † यहाँको धन्दा सिंहदरबारका चुल्होचौकामा मात्रै किन बित्ने गर्छ ? सम्भवतः अधिकांशले कम्युनिस्ट पार्टीको आदर्श र नैतिकता गुमाइसकेकाले पनि अहिलेको समस्या आएको हो । भाइफुटे गवार लुटे भन्ने विषय यहाँलाई सम्झाइरहन नपर्ला । यहाँहरू यतिखेर बालुवाटार, खुमलटार, कोटेश्वर, भैंसेपाटी, डल्लुका आलिसान महलमा बसेर झगडा गर्ने बेला होइन । कोरोना कहरले आक्रान्त भएका जनताका समस्या समाधान गर्न गाउँबस्ती र घरदैलोमा विशेष कार्यक्रम लिएर जाने बेला हो ।

कोरोना कहरमा सरकार र दल एकै ठाउँमा रहेर संकटमाथि विजय हासिल गर्ने कार्ययोजना बनाउनुपर्नेमा आफ्नै दलको अवसान गराउने मृत्यु योजना कोर्नमा व्यस्त छन्

Advertisement

जनता जनार्दनले एकएक हिसाब किताब गरेर राखिरहेका छन् । जो जनतालाई संकट पर्दा सत्ताको फोहोरी खेलमा लागिरहेका छन्, चाहे त्यो सरकारमा रहेका हुन् वा चाहे सरकारमा जान खुट्टा उचालेर बसेका हुन् । ती सबैलाई जनताले आगामी चुनावमा कडा सजाय दिने छन् ।

आफ्नै दुई तिहाइनजिकको सरकारलाई असफल बनाउन दुवै पक्ष उद्दत हुनु भनेको नेकपालाई रसातलमा पु¥याउनु नै हो । अहिले पार्टीभित्रै सरकारलाई ढालेर राजनीतिक अस्थिरताको बीज रोप्न चालिएका कदम आत्मघाती साबित हुने निश्चित छ । सरकार ढाल्न विभिन्न खाले राष्ट्रिय अन्तर्राष्ट्रिय ग्राइन्ड डिजाइन भइरहेको अवस्थामा नेकपाका केही महामानव त्यही डिजाइनमा फसिरहेका छन् । दिनदिनै षड्यन्त्रमा रम्नु महामानवको दिनचर्या बनिरहेको छ । जननेता मदन भण्डारी राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्नुहुन्यो । जननेताले राजनीति जनताको सेवा गर्ने नीति भएकाले जनताको सेवा गर्दा कहिल्यै पनि थकाइ लागेको अनुभूति गर्न हुँदैन भन्ने नै उहाँको निष्कर्ष थियो तर अहिलेका नेकपाका महामानवको राजनीतिको परिभाषा फेरिएको छ ।

जनता जतासुकै जाउन के मतलब, मेरो सत्ता, मेरो संसार, मेरो स्वार्थ नै सब थोक हो भन्ने चिन्तनबाट उनीहरू गुज्रिरहेका छन् । महान् नेताहरू मलाई प्रधानमन्त्रीले थुन्ने प्रपञ्च रचेका छन् भनेर तर्सिनुहुन्छ । विधिको शासनमा के कसैले कसैलाई त्यतिकै थुन्न सक्छ ? विगतमा आफूले कुनै गल्ती गरेको छैन भने त्यस्तो भय किन राख्नुप-यो ?

अहिलेको सत्ताकोे घृणित र फोहारी खेलका कारण नेकपाका धेरै नेताले जनताको अभिमत गुमाइसकेका छन् । जनता पीडामा परेका बेला र जनताले राम्ररी खान पनि नपाएको बेला तिनै जनताको आवाज बुलन्द गर्नेगरी स्थायी कमिटी र सचिवालयको बैठकमा कतिपटक आवाज उठ्यो ? यो विषयलाई लिएर सत्ताबाहिर बसेका महामानवले कतिपटक सिंहदरबार र बालुवाटारलाई दबाब दिए ? उनीहरूमध्ये धेरैको एकसूत्रीय माग छ – म सत्तामा जानैपर्छ र मैले पनि लुटेर मेरो घरपरिवार र आफन्तलाई आलिसान महलमा राख्न पाउनुपर्छ । मेरा निकट रहेका माफिया, बिचौलिया र अपराधीको संसारलाई स्वर्णिम बनाउन पाउनुपर्छ । माक्र्सवाद र लेनिनवादी चिन्तन बाहिर देखाउने दाँत मात्रै भइरहेको छ ।

अहिलेका नेकपाका नेताहरूको लडाइँले जनताको स्वाभिमानमाथि राँको लगाएको छ । कोरोना कहरमा सरकार र दल एकै ठाउँमा रहेर कोरोनामाथि विजय हासिल गर्ने कार्ययोजना बनाउनुपर्नेमा आफ्नै दलको अवसान गराउने मृत्यु योजना कोर्नमा व्यस्त छन् । अब यो दल आफंै विघटनको सँघारमा पुग्दै छ । जनताबाट तिरष्कृत बनिरहेको छ । कोरोना कहर तथा यस अवधिमा नेकपा नामक दलले अपनाएको सत्ताको फोहोरी खेल र कुकृत्यले नेकपा करिबकरिब कोमामा पुगिसकेको छ । त्यसैले, यो दल तत्काल सच्चिएन भने यो आफंै अवसान भएर जानेछ । अहिलेको नेकपाभन्दा हिजोको एमाले तथा माओवादी केन्द्र नै कैयांै गुणा जनताप्रति समर्पित थिए । ती दलका नेता जनताको घरदैलोमा नियमित पुग्थे र जनताका तमामखाले समस्यासँग एकाकार हुन्थे । अहिले महामानवको झगडाले दुई दलको मिलन कृत्रिम मात्रै थियो भन्ने पुष्टि भइरहेको छ । त्यसैले, महामानव जनताका अगाडि नग्न दौडमा छन् ।

यतिखेर केपी ओली नेतृत्वको सरकार खतमै भयो, यसले केही पनि गर्न सकेन, मुलुक बर्बाद पा¥यो भनेर आफ्नै दलबाट जसरी कोकोहोलो मच्चाइएको छ, यो पूर्णतः एकांगी छ । यो पूर्णत चेत गुमाएको अवस्थामा गरिएको विश्लेषण हो । पक्कै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको महत्वपूर्ण जिम्मेवारीमा रहेको यो सरकारसँग जनताका असीमित चाहना थिए । त्यो चाहनाअनुसार काम गर्न चुकेकै हो । प्रधानमन्त्रीले पनि केही दम्भ देखाएकै हुन् । उनले दम्भ त्यागेर सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । तर, पनि सरकार पूर्णतः असफल भइसकेको होइन । विगतमा पटकपटक सत्ता चलाइसकेकाले अहिले ओली सरकारबाट प्लेटोको आदर्श राज्यको परिकल्पना गर्नु पूर्णतः पूर्वाग्रही र अल्पज्ञानी विश्लेषणबाहेक अरु केही हुनै सक्दैन ।

विशेष गरी २०४६-४७ को आन्दोलनपछि बनेका र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुने क्रममा २०६२÷६३ पछि बनेका सरकारसँग तुलना गर्दा यो सरकारले ठूलो मात्रामा भ्रष्टाचार गरेको छ भनेर भन्नु फगत आरोप मात्रै हो । यसलाई अहिलेसम्म तथ्यको आधारमा अन्य सरकारभन्दा यो सरकार बढी भ्रष्ट भनेर कसैले पनि पुष्टि गर्न सक्ने आधार छैन । त्यसका लागि ती समयका सरकारले केकस्ता कार्य गरेका थिए गहन विश्लेषण गर्न जरुरी छ । वर्तमान सरकारका केही मन्त्रालय वा निकायबाट दुई चारवटा गल्ती भयो भन्दैमा सरकार पूर्ण रूपमा खराब भयो भनेर चित्रण गर्नु बेइमानी शिवाय अरू केही होइन । सरकारले भर्खरै मात्रै आईजीपी नियुक्ति गरेको छ । सम्भवतः इतिहासमा नै विवादरहित रूपमा आईजीपी नियुक्त गरिएको छ । अघिल्ला सरकारको पालामा आईजीपी नियुक्तिमा करोडांैको खेल हुने गरेको जगजाहेर नै छ । विगतमा आईजीपी नियुक्तिमा कतिसम्म चलखेल भएको थियो ? करोडौंको चलखेल हुने क्रममा प्रधान न्यायधीशमाथि नै महाअभियोग लगाउने कुकृत्य भएर न्यायालयमाथि नै आक्रमण भएको होइन र ?

हठवादीताले गम्भीर राजनीतिक दुर्घटना निम्ताउन सक्ने भएकाले सबै महामानवले ठन्डा दिमागले सोच्नैपर्छ

यसअघि कर्मचारी सरुवा बढुवामा ब्रिफकेसको राम्रै धन्दा चल्ने गरेको थियो । तर, अहिले त्यसरी सरुवामा रकमको मोलमोलाई हुने क्रममा धेरै हदसम्म कमी आइसकेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीले सचिव छान्ने, सचिवले महानिर्देशक छान्ने र महानिर्देशकले कार्यालय प्रमुख र स्टोरकिपर तथा लेखापाल छान्ने प्रवृत्तिलाई करिबकरिब अन्त्य गरिदिएकाले पनि अहिले भ्रष्टाचारको जालो मन्त्रालय विभाग हुँदै कार्यालयसम्म पुग्ने परिपाटीमा धेरै कमी आएको छ । यसअघि हुने संस्थागत भ्रष्टाचारमा कमी आएर अहिले खुद्रे भ्रष्टाचारमा सीमित हुन पुगेको छ । माफ गर्नुहोला लेखकले संवाददादाताको रूपमा १३ वर्षसम्म सिंहदरबारकै काखमा बसेर दिनहुँ रिपोर्टिङ गर्दा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको सेटिङमा हुने अनियमितताका रूपलाई नजिकबाट नियाल्ने मौका पाएको हो ।

त्यतिबेला डरलाग्दो सेटिङ थियो । सिंहदरबार ब्रिफकेसधारीको अखडा बन्ने गरेको थियो । यसअघिका धेरै सरकार र तिनका नेतृत्वले धेरै खराब काम गर्थे र थोरै मात्रै असल काम गर्थे । खराब कर्म गर्नेले सबै पक्षको व्यवस्थापन गर्थे त्यसैले माफिया बिचौलिया सरकारको समर्थनमा हुन्थे । सबै माफिया सन्तुष्ट हुने भएकाले मिडिया भएको ठाउँमा पुग्दैनथे । अहिले केही माफिया सन्तुष्ट भएका होलान् तर धेरै माफिया असन्तुष्ट भएकाले उनीहरू मिडियाको शरणमा पुग्ने क्रम बढ्दो छ । यस्तो अवस्थामा मिडिया माफियाको इसारामा चल्नबाट बच्नुपर्छ । तर, विडम्बना यतिबेला मिडियामाथि नै प्रश्नचिह्न सिर्जना भइरहेको छ ।

ओली नेतृत्वको सरकार अहिले चौतर्फी घेराबन्दीमा पर्नुपरेको एउटा प्रमुख कारण हो– बिचौलिया, तस्कर र माफियाको म्याक्रो र माइक्रो रूपमा व्यवस्थापन गर्न नसक्नु । यसअघि सिंहदबारको पूरै संयन्त्र माफिया, बिचौलिया र तस्करको इसारामा नाच्ने गरेका थिए । त्यसैले शासकलाई त्यति धेरै समस्या आउँदैनथ्यो । झन्डै ६० को संख्यामा मन्त्री हुन्थे, मन्त्रीकै रुचिमा सचिव ल्याइन्थ्यो । मन्त्रीले कम्तीमा सात जनासम्म सल्लाहकार टिम राख्थे । जसका कारण मन्त्रीका सहयोगी मात्रै झन्डै ४ सयको संख्यामा हुन्थे । प्रधानमन्त्रीको ५०-६० जनासम्म सल्लाहकार तथा सहयोगी हुन्थे । प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकार तथा सहयोगीले क्षेत्रगत रूपमा म्यानपावर माफिया, यातायात माफिया, पर्यटन माफिया, जग्गा माफिया, उद्योग माफिया, वन माफिया, क्रसर माफिया, स्वास्थ्य माफिया, शिक्षा माफिया तथा सबै खाले माफिया र दलालको कुशल व्यवस्थापन गर्थे । त्यसबापत प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार तथा सहयोगीलाई राम्रै कमाइ हुन्थ्यो भने माफिया त मालामाल नै हुने गरेका थिए ।

यो कार्यमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा अन्य कार्यालयका कार्यालय प्रमुखले सहजै सहयोग पु¥याउँथे किनकि सबै ठाउँमा सेटिङमा नै कर्मचारी राखिन्थे । यद्यपि, अहिले यो पद्धति पूरै हटेको छ भनेर त भन्न सकिँदैन तर धेरै हदसम्म नियन्त्रण भएको छ भन्न सकिन्छ । प्रधानमन्त्रीले वाइडबडी प्रकरण र ओम्नी प्रकरणमा निष्पक्ष छानबिन गराउनुपथ्र्यो । त्यो गराउन नसक्नु उनको गल्ती हो । त्यसैगरी पटकपटक विवादित हुने गरी यति समूहलाई संरक्षण गर्नु र विभिन्न जिम्मेवारी दिनु पनि उनको गल्ती हो । तर, अन्य विषयमा जसरी सबैतिर भ्रष्टाचार भयो भनेर गोयबल्स शैलीमा कुप्रचार गरिएको छ । त्यो वर्षौदेखि विभिन्न स्वार्थ समूहलाई प्रभावमा पारेर लुटको खेती गर्दै आइरहेका माफियाको लुटको खेती बन्द भएपछि सरकारविरुद्ध फैलाइएको अनर्गल प्रचार शिवाय अरू केही होइन ।

ती माफिया विभिन्न रूपमा सलबलाउँदै मिडियामार्फत नै सरकार पूर्णतः असफल भएको सन्देश लिन सफल भइरहेका छन् । उनीहरू अराजकताको सहारामा साम, दाम, दण्ड र भेदको नीतिमार्फत राज्यको महŒवपूर्ण अंगलाई ‘फेलियर’ बनाउने योजना बुनिरहेको देखिन्छ । अराजकतावादी जो हिजो राज्य र सरकारको जुठोपुरोबाट आफ्नो वैभव जमाउन पुगेका थिए । अहिले उनीहरूको खेतीपाती पूर्ण रूपमा बन्द भएकाले उनीहरू अत्तालिएका छन् । निद हराम भएको छ । राष्ट्रवादलाई समेत नक्कली राष्ट्रवादको संज्ञा दिएर मुलुकको स्वाभिमानमाथि बलत्कारको प्रयास गरिरहेका छन् । अब राजनीतिक अस्थिरताको बीज रोप्न खोज्ने सबै हर्कत बन्द गरिनुपर्छ । प्रधानमन्त्रीले पनि कौटिल्य र मेकियाबेलीको धूर्त शासकको सिद्धान्त पूर्ण रूपमा परित्याग गरी उदार दिल बनाएर सबैलाई समेट्नुपर्छ । यदि प्रधानमन्त्रीले समेट्न खोज्दाखोज्दै पनि अन्य महामानवले हठ त्याग्दैनन् र प्रधानमन्त्रीको राजीनामा मागिरहन्छन् भने त्यसले गम्भीर राजनीतिक दुर्घटना निम्ताउन सक्ने भएकाले सबै महामानवले ठन्डा दिमागले सोच्नैपर्छ । अति भइसकेको छ, अतिले खति निम्त्याउँछ । सकिने कि मिलेर अघि बढ्ने ? चेतना भया !!

राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *