सर्लाहीका किसानका पीडा : पोहोर फौजी किराले सतायो यसपाली सलहले

राकेश गुप्ता

सर्लाही । गत वर्ष फौजी किराले बाली नष्ट गरेको पीडा बिर्सन नपाउँदै सलह किराले अर्को चुनौती थपिदिएको छ सर्लाहीका किसानहरुलाई । सर्लाहीमा सलह किरा देखा परेपछी यतिबेला किसानहरु चिन्तित बनेको छ ।

लालबन्दी नगरपालिका वडा नं. १ मा रहेको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा शनिबार बिहान सलह किराको विशाल झुण्ड फेला परेपछि बाली नाली नष्ट हुने डरले किसानहरु चिन्तित बनेका हुन् ।

तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालयमा लगाइएको बालीमा सलह किराको झुण्ड देखिएको छ । सलह किरा बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गरेकोले आफुहरुले लगाएको धान बालीमा नष्ट गरिदिने चिन्ता लागेको चन्द्रनगर वडा नं. २ का किसान बिक्रम दासले बताए ।

‘गत वर्ष फौजी किराको प्रकोप झेल्नु प-यो । यसपाली सलह किराले बाली सखाप गरिदिने हो की चिन्ता बढेको छ ।’ उनले भने ।

अहिले यो हजारौको संख्यामा मात्र देखिएकोले किसानहरु आत्तिइहाल्न नपर्ने अवस्था रहेको प्रमुख यादबले बताए

नवलपुरमा रहेको तेलबालीमा बदाम ,घैँचा, धानको बेर्ना लगायतमा सलह किराले छोपि सकेको छ । साँझ ८ बजेसम्म किरा देखिएको थिएन, बिहान ६.१५ मा किरा देखिएको थियो । त्यहाँ हजारौंको संख्यामा किराको झुन्ड रहेको तेलबाली अनुसन्धान कार्यक्रम कार्यालयका प्रमुख डा. विशेश्वर प्रसाद यादवले जानकारी दिए । ‘बिहान किरा भगाउन ड्रम पनि बजायौ र किरा नियन्त्रण गर्न कलोरापाईरपस,साइफरमिथरीन मिसाएर ५ एमएल पर लिटर पानीमा हालेर स्प्रे ग-यौं ।’ उनले भने ‘यसो गर्दा किरा मर्ने रहेछ ।’

अहिले यो हजारौको संख्यामा मात्र देखिएकोले किसानहरु आत्तिइहाल्न नपर्ने अवस्था रहेको प्रमुख यादबले बताए । किरा नियन्त्रणमा अहिले स्थानीय सहित कार्यालयका प्राविधिकहरु खटेका छन् । बालीहरुमा क्षती पु-याउन थालेपछी किरा मार्न औषधी छर्किने कार्य सुरु हुने कार्यक्रम प्रमुख यादबले जानकारी दिए ।

सलह किरा सबैभन्दा पहिला अफ्रिकी मुलुकमा देखा परेको थियो । त्यस पछि फैलिन सुरू भएको सलह किरा मध्यपूर्वबाट पाकिस्तान हुँदै भारतमा आइपुगेको थियो । ठूलो समूह र लामो दूरीमा उड्ने सलहले हरियो बोटबिरूवा पूरै नष्ट पार्ने गर्दछ । भारतमा यसले कृषिबालीमा निकै ठूलो क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया