नेकपाको दाङको अध्यक्षमा खड्का, घोषणा आज हुने

दाङ, ८ वैशाख । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो ।

७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ । यता,नेपाल कम्युनिस्ट पार्टी दाङको अध्यक्षमा टिकाराम खड्का चयन भएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले पूर्ब एमाले तर्फ तत्कालिन अध्यक्षलाई अध्यक्ष वा सचिवको जिम्मेवारी दिने गरि एकता टुंगिएको हो । जस अनुसार दाङमा तत्कालिन एमाले अध्यक्ष टिकाराम खड्का नै दुई पार्टी मिलेर बनेको नेकपाको अध्यक्ष चयन भएको नेकपाका एक उच्च तहका नेताले बताए । नेकपा दाङको सचिबमा भने यस अघिनै तत्कालिन माओवादी केन्द्रका सुवास पुन चयन भईसकेका छन् । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया