‘हात्तिपाईले विरुद्धको औषधी खान्न हुन्न भन्ने भ्रम हटाऔं’

दिया बस्नेत, तुलसीपुर १३ फागुन ।

राष्टिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०७५ अन्र्तगत दाङमा नवौ चरणको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने भएको छ । यहि १५ गतेदेखि सुरु हुने अभियानको तुलसीपुरमा सम्पुर्ण तयारी पुरा भएको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखाले आज तुलसीपुरमा सरोकारवालाहरु संग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले यस्तो जानकारी दिएका हुन् ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख डाक्टर गोर्कण दाहालले हात्तीपाईले रोग विरुद्धको औषधी खानहुन्न भन्ने भ्रम नपर्न सवैमा आग्रह गरेका छन् । दाङमा अझै पनि १२ प्रतिशत विरामी भएको भन्दै यसलाई रोकथाम गर्न नसके भयावह स्थिती आउने उनको भनाई छ । साथै उक्त अभियानलाई सफल पार्नका लागी सहयोग गर्न सवैमा उनले आग्रह समेत गरेका छन् । विगतका वर्ष भन्दा यस वर्ष भने प्रभावकारी बनाउनका लागी स्वंयम जनप्रतिनिधिहरुको सहभागितामा स्वास्थ्य कर्मीहरु परिचालन गरिने भएको छ ।

विगतमा महिला स्वास्थ्य स्वंयम सेविका, सरोकारवाला र स्वास्थ्य कर्मीको निगरानीमा औषधी खुवाईन्थ्यो भने यस पटक स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । जसका लागी तुलसीपुर नगरका प्रत्येक वडामा स्वास्थ्य कर्मी ५ का दरले ९५ जना परिचालन हुदैछन् । १५ गते पहिलो दिन राप्ती प्रादेशिक अस्पताल र प्रत्येक वडामा तोकिएका केन्द्रबाट सुरु हुनेछ ।

त्यस पछि दोस्रो दिन विद्यालय तथा तेस्रो र चौथो दिन प्रत्येक घरघरमा पुगेर खुवाईनेछ । हात्तिपाईले रोग निवारण कार्यक्रमका फोकल प्रर्सन बसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यालयका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । सन् १९९६ मा विश्व स्वास्थ्य संगठनबाट यो रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको भन्दै नेपालमा अहिले दाङ सहित १५ जिल्लामा औषधी खुवाईदैछ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १३ गते सोमवार
प्रतिक्रिया