‘भैरव’ सिक्वेलको काम चाडै सुरु हुने: नायक उप्रेती

शिव पुन, तुलसीपुर ७ फाल्गुन ।
करिब २ दशक अगाडि फिल्म पिंजडामा सात तला माथिबाट हाम फालेर एकाएक चर्चामा आएका नायक निखिल उप्रेतीले नेपाली सिनेमा क्षेत्रका लागि दर्जन बढी सुपरहिट फिल्महरु दिइसकेका छन् । पिंजडाको चर्चा र सफलता संगै एक्सन स्टारको छवि बनाएका नायक निखिलले नेपाली सिनेमा क्षेत्रमा १ दशक बढी एकछत्र राज नै गरे। त्यही बीचमा उनले नायिका संचिता लुइँटेलसंग विवाह गरे र केहि समय नेपाली फिल्मबाट टाढा नै बसे तर करिब ५ वर्षको विश्रामपछि फिल्म भैरवबाट उनीले धमाकेदार कमब्याक गरे। कमब्याक धमाकेदार भएपनि त्यसपछि उनले काम गरेका फिल्मले भने सोचेजस्तो व्यापार गर्न सकेनन् ।

हाल भैरवको सिक्वेलको तयारी गरिरहेका एक्सन स्टार निखिल उप्रेतीले पुराना कलाकारको भोगाइ र नयाँ कलाकारको सिकाइ बीचमा फ्युजन भयो बने उत्कृष्ट फिल्म बन्ने दाबी गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा निखिलले पुराना कलाकारसंग नेपाली सिनेमा सम्बन्धि दशकौंको अनुभव र भोगाइ छ अनि नयाँ कलाकारहरुले पनि नेपाली फिल्मको बारेमा धेरै सिकेर र पढेर यो क्षेत्रमा आउनु भएको छ त्यसैले यी दुई पक्षको मिलन भयो भने पक्कैपनी राम्रो फिल्म बन्छ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा निखिलले भैरवको सिक्वेलको काम अन्तिम चरणमा भएकाले छिट्टै फिल्मको औपचारिक घोषणा हुने र लगत्तै फ्लोरमा जाने बताए । यस्तैमा भैरवमा संचिता लुइँटेल हुने सम्भावना कति छ भन्ने पत्रकारको जिज्ञासामा निखिलले भने भैरवको सिक्वेलले संचिताको डिमान्ड गर्ने सम्भावना प्रवल रहेको बताए ।
अर्को एक प्रसङ्गमा निखिलले फिल्म कमिट्मेन्ट सिक्टी आवर छायांकन प्राविधिक कारणले केहि समय रोकिएको भएपनि केही महिनापछि फेरि फिल्मको बाकी छायांकन गरिने बताए।

निर्माताको लाखौं रुपैयाँ खर्च भैसकेकाले केही समय लागे पनि फिल्म बन्नेमा कुनै शङ्का नभएको निखिलले बताए। चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचीव सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार
प्रतिक्रिया